Comments Add Comment

काठमाडौंमा बाटो काट्न सिकाउन कलाकार खटिने

५ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन कलाकार र एयर होस्टेज पनि खटिने भएका छन् । स्कुल कलेका विद्यार्थी, युवा क्लब, यातायात व्यवसायी, ख्यातीप्राप्त कलाकार र एयर होस्टेसलाई परिचालन गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २३ वटा स्कुल कलेज, २ वटा युवा क्लब, १६ वटा यातायात कम्पनी, १० जना ख्यातीप्राप्त कलाकार, १२ जना एयर होस्टेजसमेत गरी ५ सय जना स्वयंसेवक परिचालन गर्ने महाशाखाको तयारी छ ।

ट्राफिक स्वयंसेवकले जेब्राक्रसिङमा पैदलयात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ र आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, पिक एण्ड ड्रप व्यवस्थापन, यात्रुलाई बस बिसौनीमा लाइनमा बसी गाडी चढ्न सहयोग गर्ने, लेन अनुशासन पालना गर्न लगाउने आदि काम गर्नेछन् ।

महाशाखाका अनुसार ट्राफिक स्वयंसेवकहरु दरबारमार्ग, केशरमहल, जमल, त्रिचन्द्र कलेज, भोटाहिटी, वीर अस्पताल, जुद्ध शालिक, न्युरोड, थापाथली, त्रिपुरेश्वर, कोटेश्वर बानेश्वर, नयाँ बसपार्क, माइतीघर, सिंहदबार, पुतलीसडक, कुपण्डोल, कालिमाटी, महाराजगञ्ज, गौशाला, ग्वार्को, कलंकी लगायतका क्षेत्रमा खटिनेछन् ।

दशैंअघि काठमाडौंको सडकमा हुने भीडभाडलाई मध्यनजर गरेर यो अभियान सञ्चालन गरेको ट्राफिक प्रहरी प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment