Comments Add Comment

मुन्धुमभित्रको मृत्यु जित्ने मन्त्र

लिम्बु दैनिक जीवनमा मुन्धुम

हामी लिम्बुजातिले घरमा पालेका सुँगुर वा कुखुरा खान परे फेदाङ्गा बोलाएर पूजा गरेपछि मात्र बली दिएर खान्छौं । उँधौली उँभौली छेकामा वर्षमा घटिमा एकपटक शिर उठाउने पूजा -माङ्गेन्ना) पनि गर्दछौं । घरमा कुनै छोरीबुहारी दुई जीउकी भएमा दुःख कष्टविना जायजन्म होस् भनेर कोखपूजा गर्दछौं ।

तीन वर्षमा एकपटक कुलदेवताको पूजा भव्यताका साथ गर्छौं । त्यसरी नै पुर्जाहरूसँगको सायुज्म मिलनका लागि तीन वर्षमा एक पटक तङ्सिङ मुन्धुमको वाचन र अनुष्ठान पनि भव्यताका साथ गर्दर्छौ । शुभ्यफाप्याका लागि घर भित्रका मङ्गलाकारी देवीदेवताहरू (थेबा साम्माङ, नाहाङ्गा तथा दुङ्दुङ्गे तथा युमा साम्माङ) को नियमित पूजा र अनुष्ठान तथा नराम्रा वनका अनिष्टकारी देवीदेवताहरूका कोपभाजनबाट मुक्त रहनका लागि तिनलाई मन्साउने पूजाहरू गरिरहन्छौं ।

एकै कुलवंशका लिम्बुपरिवार मिलेर वर्षमा एक पटक घरबाट शुरु गरेर खोलासम्म पुगी आपसी वैरभाव र द्वेषजन्य व्यवहार सदाका लागि हटाउन गालीसराप बगाउने पूजा सामाजिक सद्भावको उत्सवका रुपमा गर्दर्छौं । खेतीपातीमा आधारित जीवन यापन गर्न थालेका लिम्बू पुर्जाहरूले उहिलेदेखि गरिल्याएका ऋतुअनुसारका उँधोलीको अवसरमा चासोक (खेती उठाउने बेला, न्वाँगी पूजा) र उँभौलीका बेला यकवा (खेती लाउने बेला, धूलपूजा) पूजाहरू गरिल्याएका छौं ।

माथि वणिर्त याम अनुसारका तथा अन्य विविध पूजाअनुष्ठान गर्दाका बेला वाचन गरिने मौखिक पाठ, तिनका विषयवस्तु र अनुष्ठानका विधि अलग-अलग हुन्छन् । हाम्रा फेदाङ्गाले पूजा गर्दा कण्ठाग्र फलोकका वा गाएर ल्याएका विविध मुन्धुमको मौखिक पाठभित्र पाइने विविधता, भाषा, विम्ब, प्रतीक र तिनमा विद्यमान काव्यात्मक साहित्यबाट म वशीभूत भएको छु ।

मुन्धुम शब्द र अनेक अर्थहरू

दैनिक व्यवहारमा मुन्धुम शब्दलाई कथा, कुथुङ्ग्री, आख्यान, मिथक, पुराण, गाथा तथा शास्त्र बुझाउने अर्थमा प्रयोग गरिएको पाइन्छ । सामान्तः सांस्कृतिक मूल्य र मान्यता मात्र नभएर उच्च धार्मिक महत्व पनि हुनजाले मुन्धुम शब्दलाई विशेष गरेर श्रुतिपरम्रागत शास्त्रको अर्थमा लिइन्छ ।

मुन्धुम र मिथक

मुन्धुमलाई मिथक (कल्पनामा आधारित) पनि भनिन्छ । लोकवार्ताविद्हरूका अनुसार मिथक सुदूर अतीतमा घटेका घटनावलीको विवरण हो ।

समय, तिथिमिति आज हाम्रा स्मरणमा नरहे तापनि ती घटनाहरू यथार्थ थिए भन्ने मानिन्छ । यसरी मिथकलाई मिथ्या भनेर अविश्वास गरिए पनि हामीले हाम्रा ती सुदूर अतीतमा घटेका घटनावलीलाई तीभित्र निहित व्यञ्जना र लाक्षणिक अर्थहरूका आधारमा विश्वास गरिआएका छौं ।

मुन्धुमः श्रुतिपरम्परा कि श्रुतिशास्त्र

प्राचीन समयदेखि गुरुपरम्पराले पुस्तान्तरण भइआएकाले मुन्धुमलाई लोकवार्ताविदहरू श्रुतिपरम्परा भन्दछन् । मुखमुखै भनिंदै आएकाले मुन्धुमलाई चलनचल्तीको भाषामा थुत्थेरे (थुतुनो मात्र चलाएर पाठ गरिने) शास्त्र भन्ने लोकोक्ति प्रचलित छ । लिम्बु जातीय पूरोहितरू (फेदाङ्गा, साम्बा, येबा, येमाहरू)ले मुन्धुम मुखमुखै भनेर आजसम्म नै ल्याएका छन् । लिम्बु भाषामा मौखिकरुपमा भनिने थुत्थुरे मुन्धुमलाई थुङसाप मुन्धम (मौखिक शास्त्र) भनिन्छ ।

ब्रम्हाण्डको उत्पत्तिदेखि चराचर जगतको सृष्टिको विकासक्रममा मानछेको सृष्टिपछि मानक कुल, वंश र परिवारको विकाससँगै मानव बसाइसराइ वा स्थानपविरवर्तनका साथै मानवसमाजको उत्थान र पतनको विवरण विविध गाथा, किंवन्दीमा जीवित राखेर विगतका गौरव सम्झाउने श्रुतिपरम्पराका रुपमा जीवित मुन्धुमको पाठ प्राचीन र अलिखित इतिहास पनि हो ।

मुन्धुमको संरचना र काव्यात्मक तत्व

मुन्धुमको आफ्नै प्रकारको संरचना शैली छ । यसमा वणिर्त आख्यानको विकास क्रमबद्ध र विशुदरुपमा अर्थात् क्रमविकासको सिद्धान्तमा विकसित भएको भान हुन्छ ।

बैरागी काइँलालाई सम्मान गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित

सुदूर अतीतदेखि श्रुतिपरम्परामा जीवित मुन्धुम लयात्मक वा पद्यात्मक हुन्छ । मुन्धुमभित्र वणिर्त सृष्टिको कथा, मान्छेको उत्थान र पतनका आख्यान (मिथक), कल्याणकारी र अनिष्टकारी पारलौकिक शक्ति (देवीदेवता, भूतप्रेतादि)हरूको आख्यान गायन र वाचन गर्ने अलग-अलग परिपाटी, शैली, छन्द र लय हुन्छन् । गायन गरिने मुन्धुममा विषयवस्तु तथा प्रसङ्गअनुसार उठानदेखि बैठानसम्म भिन्न-भिन्न शैली र छन्दका प्रयोग हुन्छन् ।

अर्थलाई गम्भीरता दिनु र मिठास प्रदान गर्नु गायनवाचनको बीचबीचमा पदहरूको उच्चकोटीको काव्य साहित्य बनाएको छ । त्यतिमात्र नभएर प्रसङ्ग र विषय अनुसार कतै हास्यरसले पूर्ण अभिनयसहित गद्यात्मक शैली, कतै काव्यात्मक संवादको शैली, कतै सुन्दर अभिनयसहितको नृत्य, गायन र वाचनले युक्त मुन्धुमी साहित्य लोकनाटकीय तत्वले भरिपूर्ण हुन्छ ।

मुन्धुम र प्रकृतिसँगको घनिष्टता

लिम्बुूका पुर्खाको प्रकृति र वातावरणसँगको तादात्म्य र घनिष्टता मुन्धुमले देखाउँछ । मानवपुर्खाहरूको विभिन्न दिशामा बसाइँ सराइका क्रममा तिनले पार गरेका मार्गका चित्र, चर्चेका र भोगेका भूमिको भौगोलिक प्रकृति आदिको मनोरम विवरण मुन्धुममा गरिन्छ । मानव जातिले आर्जेको वनजङ्गल, पशुपन्थी, वनस्पति, फलफूल, कन्दमूलसम्बन्धी अद्भूत ज्ञानको विवरणले भरिएको हुन्छ, मुन्धुम ।

मानवको उत्तरजीव (सर्वाइवल) का लागि वनस्पति, जलचर, कीटपतंग, पशुपन्थी र वातावरण महत्वपूर्ण हुन्छन । तिनका मानवमैत्री र मानवविरोधी स्वभाव, विशेषता, सीप र गुणहरूकाबारे मानवजातिले आफ्नो सर्वाइवलका लागि आर्जेको अत्यन्त उपयोगी अनुभवजन्य ज्ञानको सारसंग्रह मुन्धुममा पाइन्छ ।

मानिसको दुखान्त र मुक्तिको युक्ति

मुन्धुमअनुसार सृष्टिको क्रमविकासको अन्तिम कडी मानिसको सृष्टि हो । तर मानिस नश्वरचोलाको हुनपुगेको दुःखद् घट्नापछि मानिसलाई धरती नामको विशेष स्थितिमा एक्लो छोडेर असन्तुष्ट सृष्टिकर्ता (ईश्वर) स्वयम् कालको चक्र (इनुनु इमिलुङ् इनुनु इलुङ्सुम्) मा अदृश्य हुन बाध्य भयो ।

त्यसपछि केही नजान्ने (थेमेन्निमा सा), केही नदेख्ने (थेमेन्धा सा) र नबुझ्ने (थेमेल्ले सा) असहाय भएको एक्लो मानिसका लागि सृष्टिकर्ता ईश्वर अज्ञात, जानेर नजानेर (मेन्निमाङ) र आँखाले देख्न नसकिने (मेन्धामाङ) सत्ता भयो । मानव हुनुको दुःखान्त यहीँबाट शुरु भयो ।

मानव जीवनको त्रासदी

यसरी आइलागेको त्रासदीको चपेटामा मानिसले अनेक आरोह-अवरोह बेहोर्नु परेको छ । अज्ञानता र प्राकृतिक विपदासँगसँगै मानवसमाज, जाति, कुलवंश र पारिवारिक सम्बन्धको उद्भाव र विकासक्रममा भएका समीकरणमा फेरबदलले सर्वाइलका लागि मान्छेले गरेको प्रयत्न र संघर्षको क्रममा पारिवारिक र सामाजिक अस्वस्थ प्रतिद्वन्द्विता, आँखीडाही, ईष्र्या, लोभलालच, व्यभिचार, रिस र क्रोधजस्ता भावनाले समाज, कुलवंश तथा परिवार असुरक्षित र अशान्त भयो ।

नकारात्मक गुणहरूको समुद्रमा आकण्ठ डुब्नपुग्यो मानवजीवन । तर अब यी सबै मानिसको आफ्नै कर्मका फल हुनाले यसका लागि उत्तरदायी मानिस नै हुने भयो ।

मानवको अस्तित्वमा आइलागेको त्रासद सङ्कटहरूबाट मानव अस्तित्व सुरक्षित राख्न मान्छे आफैले नै प्रयत्न गर्नुपर्ने भयो । सङ्कटहरूबाट उन्मुक्तिको उपायको खोजीमा मान्छेले पाएको मार्ग भनेको सकारात्मक मूल्य र मान्यतामा आधारित सदाचारको समष्टि ज्ञानको सङ्ग्रह मुन्धुमको निर्माण भयो ।

त्यतिमात्र नभएर ईश्वर तथा जीवन र जगत्सँग सम्बन्धित रहस्यबारेमा मान्छेको कौतुहलपूर्ण जिज्ञासाबाट जन्मेका कठिन तर प्रश्नहरूका उत्तरको खोजीमा आदिम कालदेखि लिम्बूजातिले मार्गदर्शन बनाएर ल्याएको आस्था र विश्वासहरूको प्रणाली र जीवनदर्शन नै मुन्धुम हो ।

मुन्धुममा चोत्लुङ (सिद्धिप्राप्ति) अथवा मोक्ष

मुन्धुमअनुसार ईश्वर स्वयंले पनि टार्न नसकेको जीवनको सत्य भनेको कालको चक्र -इनुनु इलुङ्सुम) अथवा मृत्यु हो । तर मृत्युलाई असल कर्मले पराजित गर्न सक्दछन् । मान्छेको जीवनमा आइलागेको यही दुःखान्त वा त्रासदी (ट्रेजेडी) जस्तो सङ्कटबाट मुक्त भएर मान्छे हुनुको गौरव र अर्थ बचाउन असल कर्मको दिशामा उसको प्रयत्नको आख्यान नै आजको मान्छेको यथार्थ हो ।

सत् छ सुन्दरै, सुन्दरै छ सत्

सृष्टिको प्रारम्भ गर्दाकै क्षणदेखि ईश्वरले सृष्टिको परिपूर्णता नै सुन्दरता हो भनेर भाव व्यक्ति गरेका छन् । केही नभएको महाशून्यबाट सृष्टिकार्य जारी गरिरहँदा ‘सृष्टि सुहाएन नि, सुहाएन नि । राम्रो देखिएन नि, राम्रो देखिएन नि’ भन्दै ईश्वर स्वयं विरह र वेदनाले व्याकुल भएको वर्णन लिम्बु मुन्धुममा मात्र पाइन्छ ।

मान्छेको सृष्टिपछि सृष्टिकार्यले पूर्णता पाएर सुन्दर देखिएको अनूभूतिले ईश्वर सन्तुष्ट भए । हुन पनि अपूर्णता सधैँ असुन्दर हुन्छ र परिपूर्णता सदा सुन्दर हुन्छ । त्यसैले सम्पूर्ण हुन सकेको सुष्टिस्थिति मात्र सुन्दर हुनाले सत्य पनि हुन्छ । अर्को शब्दमा सुन्दर नै पूर्ण हो र सत्य हो । हुन पनि कविहरू जोन किट्स, महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनुसार ‘सत् छ सुन्दरै, सुन्दरै छ सत्’ ।

मुन्धुम र अमूर्त सम्पदा

मानव उत्तरजीवनका लागि हाम्रा पुुर्खाहरूले अलौकिक, आधिदैवक शक्ति र प्राकृतिक प्रतिकूलतासँग गरेका संघर्ष, तिनका शूरवीरता र मानवोचित कर्तव्याकर्तव्यका गाथा, देवी-देवताका प्रकल्पना र धार्मिक आस्थाका मिथकहरू, इतिहासको जन्मभन्दा सुदूर अतीतमा घटित घटनाका श्रुतिपरम्परागत दस्तावेज, पुर्खाले आर्जेको ज्ञानले समृद्ध मुन्धुमको अमूर्त सम्पदाका रुपमा ठूलो महत्व छ ।

लिम्बूजातिको साझा जातीय अनुभवजन्य ज्ञानको पुञ्ज श्रुतिपरम्परागत मुन्धुम हो । मानिस (लिम्बू) जातिले समयक्रममा सभ्यता र संस्कृतिको क्षेत्रमा उपलब्ध गरेका उच्चतम उपलब्धिहरू श्रुतिपरम्परा वा मुन्धुमभित्रका लोककथा, लोकगीत, मिथक र तिनले व्यवस्थित र निर्देशित गरेको थिति, नीति र चालचलन जस्ता धार्मिक, आध्यात्मिक र नैतिक मूल्य मान्यता र जीवनदर्शन हाम्रा सांस्कृतिक सम्पदा हुन् ।

मानिसले अन्तरमनबाट कलह, झगडा, युद्ध र विनाश निम्त्याउने रिस र इबी, आँखी र डाही, लोभ र लालच अनि छलकपटजस्ता मानवताविरोधी गुणहरूको समूल विनास गर्नुपर्छ ।

हाम्रा विश्वास र आस्थाहरू मात्र असल भएर हुँदैन, व्यावहारिक जीवनमा तिनको पालना हुनुपर्छ । सम्पूर्ण स्थावर र जङ्गम, वनस्पति, पशुपन्छी र मानिसको सृष्टिपछि मात्र परिपूर्ण भएर सुन्दर हुनसकेको हो, यो पृथ्वी ।

यो जगत् मानिसको मात्र पेवा सम्पत्ति होइन । पृथ्वी सम्पूर्ण चराचरजगत् र प्रकृतिकै साझा सम्पत्ति हो । सबैको उत्तरजीवन भनेको नै मानिसको उत्तरजीवन हो । त्यसैले पृथ्वीको वातावरण र प्रकृतिको संरक्षण मानिसको उत्तरजीवनका लागि अनिवार्य शर्त हुन्छ ।

सुन्दर र परिपूर्ण संसारको निर्माणका लागि मानिसले जुनी पाएको हो भन्ने हाम्रा पूर्खाहरूको सामूहिक अनुभवजन्य ज्ञान नै हाम्रो जीवनदर्शन हो । मुन्धुमबाट हामीले पाएको यही ज्ञानलाई मानिस लगायत यो जगत्को भलाईका लागि उपयोग गरौं । यसरी हामी चोतलुङ -सिद्धिस्थल)को आरोहणमा सफलता पाएर पुर्खाहरूसँग सायुज्यमा पुग्दछौं ।

अन्त्यमा

एक व्यक्तिले देखेको बुझेको संसार र सामूहिक रुपमा बुझिउको संसारमा विराट् अन्तर हुन्छ । सुदूर अतीतदेखिका हाम्रा मानव पुर्खाका सामूहिक अनुभव र ज्ञानको सारसंग्रह मुन्धुम आजको एकजना स्रष्टाव्यक्तिको काव्य सृजना कर्मभन्दा महान् हुन्छ ।

साझा अनुभव र बुझाइले आर्जित सामूहिक ज्ञान नै मुन्धुम हुनाले लिम्बुसमुदायलाई यसले एकापसमा बालियोसँग आवद्ध राखेको छ । आधुनिक समयमा शिक्षा, विज्ञान, प्रविधि, बसाइसराइ, मिश्रति बसोबास, आधुनिकता र भूमण्डलीकरणको निरन्तर आक्रमणले अमूर्त सांस्कृतिक सम्पदाका रुपमा रहेको सामूहिक बुझाइ र ज्ञानको स्रोत मुन्धुम सङ्कटग्रस्त छ ।

युगानुयुगकोदेखि श्रुतिपरम्परामा जीवित अमूर्त सम्पदा मुन्धुम सबैका दृष्टिमा पुगोस् । संरक्षण र सम्बर्द्धनमा आंशिक टेवा पुगोस् भेनर यस दिशामा सानो प्रयाससम्म गरेको हुँ । यसो गर्दा लिम्बूजातिको मुन्धुमलाई लिम्बू भाषा लेखिने सिरिजङ्गा लिपि र देवनागरी लिपिमा लिम्बू भाषाभाषीका साथै नेपाली लेख्नेपढ्ने र बुझ्ने जुनै भाषाभाषी पाठकहरूमा पुगोस् भनेर अग्रजहरूले प्रारम्भ गरेका कामलाई मैले पनि निरन्तरता दिएको मात्र हुँ ।

(जगदम्बाश्री पुरस्कार ग्रहण गर्दै वैरागी काँइलाद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment