+
+
Shares
सरकारको एक वर्ष :

अर्थतन्त्र सुध्रेन भने रहला महागठबन्धनको अर्थ ?

आपसमा प्रतिस्पर्धा गर्दै आएका कांग्रेस र एमालेले पोहोर असारमा राजनीतिक स्थिरता र आर्थिक सुधारका बाचा गर्दै महागठबन्धन बनाएका थिए । त्यसले एक वर्ष बित्दासम्म अर्थतन्त्र सुधार्नेतर्फ आशावादी फड्को मार्न सकेको छैन ।

जनार्दन बराल अच्युत पुरी जनार्दन बराल, अच्युत पुरी
२०८२ असार ३१ गते १०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा कांग्रेस र एमालेले एक वर्षअघि महागठबन्धन बनाएर सरकार गठन गरेका थिए ।
  • सरकारले आर्थिक सुधारका लागि कानून संशोधन र आयोग गठन गरेको भए पनि आर्थिक सुधारमा पूर्ण सफलता पाएको छैन।
  • सरकारको पूँजीगत खर्च कम र प्राकृतिक विपत्तिपछि पुनर्निर्माण सुस्त भएको छ।

३१ असार, काठमाडौं । आपसमा लडिरहेका दल नै एकाएक मिलेर सरकार बनाउन थाले भने कस्तो हुन्छ ? संसदीय प्रजातान्त्रिक शासन व्यवस्थामा विपरीत राजनीतिक सिद्धान्त बोकेका संसद्का सबैभन्दा ठूला दलहरू मिलेर विशेष परिस्थितिमा सरकार बनाउनुलाई ग्रान्ड को–अलिसन अर्थात् महागठबन्धन भनिन्छ ।

नेपालमा अहिले यस्तै ग्रान्ड को–अलिसन अर्थात् महागठबन्धनले एक वर्ष पार गरेको छ ।

युद्ध वा आर्थिक मन्दी जस्ता राष्ट्रिय संकटका बेला राष्ट्रिय एकता र स्थिरता अत्यन्तै महत्वपूर्ण हुने हुनाले यस्तो सरकार बनाउने प्रचलन विश्वका कतिपय देशमा छ ।

राजनीतिक विमतिभन्दा राष्ट्रिय एकता वा स्थायित्व देशका लागि आवश्यक परेका बेला सरकार चलाउन एउटै पार्टीसँग बहुमत भए ग्रान्ड को–अलिसन बन्ने गर्छ । उदाहरणका लागि बेलायतमा पहिलो र दोस्रो विश्वयुद्धका बेला यस्तो सरकार बनेको थियो ।

त्यस्तै, कहिलेकाहीं मूल र मध्यमधारका दलहरूले चरम बाम वा दक्षिणपन्थी अतिवादी दलहरूलाई सरकारबाट बाहिर राख्न पनि ग्रान्ड को–अलिसन बनाउने गर्छन् । सन् १९४५ देखि १९६६ सम्म अष्ट्रियामा यस्तो भएको थियो । यस्तो अभ्यासलाई ‘कर्डन सेनिटायर’ भनिन्छ ।

संसद्मा कुनै पार्टीको बहुमत नभएको वा हङ्ग संसद् भएको अवस्थामा कुनै एक ठूलो दलले साना दलहरूसँग मिलेर सरकार बनाउन सकेन भने प्रमुख दलहरूले सरकार बनाउने प्रचलन अन्य धेरै देशमा छ ।

जर्मनीमा ग्रान्ड को–अलिसनको अभ्यास बाक्लै हुने गर्छ । उनीहरूले राजनीतिक स्थिरता र अतिवादी राजनीतिक दललाई सरकारमा आउन नदिने दुवै प्रयोजनका लागि यस्तो समीकरण बनाउने गर्छन् ।

नेपालमा २०७० को संविधानसभाको निर्वाचनपछि संविधान बनाउने उद्देश्यका साथ दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए । उनीहरूको उद्देश्य संविधान बनाउनु मात्रै थिएन, त्यसबेलासम्म उग्रता र नियमित राजनीतिक प्रक्रियामध्ये कुन बाटो रोज्ने भनी अलमलमा परिरहेको माओवादीलाई सरकारबाहिर राख्नु पनि थियो ।

त्यस्तै, २०४७ को पहिलो जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनपछि विशेष परिस्थितिमा सर्वदलीय प्रकृतिका सरकार बनेका थिए ।

तर, गत सालको ठ्याक्कै यही बेला संसद्का सबैभन्दा ठूला दलहरू कांग्रेस र एमाले मिलेर नेपालमा ग्रान्ड को–अलिसन बनाए ।

राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्रका समस्या समाधान जस्ता काम गर्ने भनेर त्यो को–अलिसनलाई पुष्टि गर्ने प्रयास उनीहरूले गरेका थिए । तर, माओवादी र रास्वपा जस्ता साना दललाई सरकार बाहिर राख्ने मनसाय अर्थात् ‘कर्डन सेनिटायर’ यी दुई दलले राखेको स्पष्ट नै छ ।

यो एक वर्षमा सरकार गठन र विघटनका परिदृश्य नदेखिएको र निकट भविष्यमा पनि त्यसको सम्भावना नदेखिएकाले राजनीतिक स्थिरतामा धेरै प्रश्न छैन । संविधान संशोधन र अर्थतन्त्रका समस्या समाधानको विषयलाई भने दुईदलीय गठबन्धनले आफ्नो प्राथमिकतामा राख्न छोडिसकेको प्रतीत हुन्छ ।

यो सरकार बन्दा अर्थतन्त्र दुई वर्षदेखि सुस्त बनिसकेको थियो । आन्तरिक माग कमजोर थियो । उद्योग व्यवसायको उत्पादन तथा बिक्रीमा निराशा थियो । आन्तरिक र बाह्य दुवै लगानी दुवैमा मन्दी थियो । सेयर र घरजग्गा कारोबारमा सुस्तता थियो । दशकौंदेखि आर्थिक सुधारको काम ठप्प बनेको थियो ।

त्यसभन्दा पनि थप सरकारको यो एक वर्षको अवधिमा मुलुक सम्पत्ति शुद्धीकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्कफोर्सको ग्रे लिस्टमा पर्‍यो । खासगरी सुशासन र वित्तीय अपराध सम्बन्धी कानून कार्यान्वयनमा देखिएका समस्याका कारण त्यस्तो भएको थियो, जसको सुधारमा यो सरकारको तदारुकता कमजोर देखियो ।

एफएटीएफको ग्रे लिस्टबाट बच्नका लागि कूटनीतिक सक्रियता उत्तिकै आवश्यक थियो । सन् २०१२ मा नेपाल कूटनीतिक सक्रियताकै कारण ब्ल्याक लिस्टबाट बचेको थियो । यसपटक करिब दुई तिहाइको सरकारले त्यसको भेउ पाएन कि पाएर पनि गर्न सकेन बुझ्न सकिएको छैन ।

कांग्रेस एमाले सरकार बन्ने तय भएपछि नै बढ्न शुरू गरेको सेयर बजारबाट केही लगानीकर्ताले अल्पकालीन लाभ पनि उठाए । तर, जब सरकार बन्यो तब त्यो उत्साह कायम रहेन ।

अर्कातिर, सहकारी क्षेत्रका लाखौं जनताको ३ अर्बभन्दा धेरै बचत रकम फिर्ता हुनसकेको छैन । त्यो समस्या समाधानमा पनि सरकारको पहल अपुरो रहेको देखिन्छ । सरकारले अध्यादेश मार्फत सहकारी ऐनमा संशोधन गरी सहकारी नियमन प्राधिकरण गठन र अन्य केही कडा प्रावधान गरेको छ । तर, बचत डुबिसकेका बचतकर्ताको रकम फिर्ता गराउने मामलामा भने कुनै काम गरेको छैन ।

विगतमा विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने र शेयर बजार बढ्नेबीच सकारात्मक सम्बन्ध रहँदै आएको थियो । तर, यस पटक त्यस्तो भएन । बैंकमा लगानीयोग्य रकम थुप्रिएर ब्याजदर सस्तो हुँदा पनि सेयर बजारमा उत्साहजनक वृद्धि भएन । यद्यपि, यो सरकार गठन हुनुपूर्प २१०० मा रहेको सेयरबजार अहिले २७२५ बिन्दुमा पुगेको छ ।

अघिल्लै सरकारले ल्याएको बजेटको कार्यान्वयन गर्ने क्रममा पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्‍यो । त्यो आयोगले आर्थिक सुधारका लागि अनेक सुझाव दिएको छ । सरकारले सुझाव कार्यान्वयन शुरू पनि गरेको छ । तर, त्यो पनि आफूलाई अनुकूल लागेका सुझावहरू मात्रै कार्यान्वयन गरिंदैछ । अर्थतन्त्रको आमूल परिवर्तन गर्ने किसिमका सुझावहरू कार्यान्वयनमै गएका छैनन् ।

सरकारले मुलुकमा लगानीको वातावरण वृद्धि गर्न भनेर अध्यादेश मार्फत २९ आर्थिक तथा व्यावसायिक कानूनहरूमा एकैपटक संशोधन गर्‍यो, जुन संसद्बाट पनि पारित भएको छ । कम्पनी खोल्न, अद्यावधिक गर्न तथा बन्द गर्न सहज हुने किसिमको व्यवस्था कम्पनी ऐनमा गरिएको थियो, स्टार्टअपलाई प्रोत्साहन थियो । आई कम्पनीलाई विदेशमा लगानी गर्न खोलिएको थियो ।

कानूनको अपव्याख्या गरेर सरकारले हालेका कर सम्बन्धी मुद्दा फिर्ता लिने, हदबन्दीभन्दा बढी जग्गामा बनेका घर तथा अपार्टमेन्ट बिक्री गर्नेसम्मका प्रावधान त्यो अध्यादेशमा थियो । तर, पहिलो अध्यादेश संसद्बाट पारित हुनै समय लाग्यो, त्यसपछि त्यसको कार्यान्वयन हुनसकेको छैन ।

कतिपय ऐनको नियमावली र कार्यविधि बने पनि धेरैजसोको बन्न सकेको छैन । सो कानूनले दिएको ९० प्रतिशत छुट पाउन कम्पनी रजिष्ट्रार कार्यालयमा १० प्रतिशत घुस बुझाउनुपर्ने अवस्था छ ।

दुईदलीय संयन्त्र तथा कार्यदलले त्यसपछि लगभग काम गर्न छोड्यो, कानूनी सुधारको गति पनि बन्द भयो ।

निजी क्षेत्र : कतै उत्साह, कतै असन्तुष्टि


आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा भने निजी क्षेत्र उत्साहित बनेको छ । निजी क्षेत्रले उठाएका अधिकांश माग पूरा गरेको भन्दै व्यवसायी उत्साहित भएका हुन् । यद्यपि नयाँ बजेट आएसँगै केही क्षेत्र भने असन्तुष्ट र आन्दोलित बने ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था इप्पानको दबाबका बीच सरकारले बजेटको बुँदा नै संशोधन गरेको छ । उता, सुन व्यवसायीहरू भने अझै पनि आन्दोलित छन् । नयाँ सरकार बनेसँगै निर्माण व्यवसायी समेत आन्दोलित थिए । अर्थ मन्त्रालयका अनुसार यस वर्ष मात्र ३० अर्ब रुपैयाँ अघिल्लो आवको भुक्तानी गरिएको छ । अहिले भुक्तानी समस्या साम्य भएको अर्थको दाबी छ ।

यस वर्ष सरकारले साख मूल्यांकनको काम पनि गर्‍यो । क्रेडिट रेटिङमा नेपालको नतिजा बीबी माइनस रहेको छ । यो वर्ष लक्ष्य अनुसार वैदेशिक ऋण भने प्राप्त हुन सकेन । प्रतिबद्धतामा भने उत्साह देखियो ।

अर्थ मन्त्रालयका अनुसार यस वर्ष १ खर्ब १९ अर्ब बढी प्रतिबद्धता भएर २ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । गत वर्ष ४.४० प्रतिशत रहेको मुद्रास्फीति भने यस वर्ष वैशाखसम्म नियन्त्रणमा रहेर २.७७ प्रतिशतमा आएको देखिन्छ ।

प्राकृतिक विपद्पछिको पुनर्निर्माण सुस्त

सरकारले प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणलाई भने अझै पनि गति दिन सकेको छैन । जाजरकोट भूकम्प, मेलम्ची बाढी, १२ असोजको बाढी जस्ता प्राकृतिक प्रकोपले भत्किएका निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण सुस्त छ । जसले गर्दा जोखिम समेत दोहोरिएको छ । गत असोजमा भत्किएको बीपी राजमार्ग पुनर्निर्माण बेलैमा नहुँदा अहिले जनताले ठूलो सास्ती भोगिरहेका छन् ।

सरकारी खर्चको प्रभावकारिता बढेन

एक त पूँजीगत बजेट कम विनियोजन गर्ने र विनियोजित बजेट खर्च गर्न नसक्ने सरकारको कमजोरी यस पटक पनि दोहोरियो । अर्थ मन्त्रालयका अनुसार बिहीवारसम्म ५९.१३ प्रतिशत मात्र पूँजीगत बजेट खर्च भएको छ ।

यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँको पूँजीगत खर्चको लक्ष्य राखिएकोमा वर्षान्तको अन्त्य अवधिसम्म २ खर्ब ८ अर्ब रुपैयाँ मात्र खर्च भएको तथ्यांक छ ।

अर्थतन्त्रका बाह्य सूचक राम्रो देखिएका छन् । रेमिट्यान्स बढेको छ । शोधनान्तर स्थिति निरन्तर नाफामा छ । मुद्रास्फीति घट्दो क्रममा छ । विदेशी मुद्राको सञ्चिति ह्वात्तै बढेको छ । यद्यपि यति सहज वातावरण हुँदा पनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र त्यसका माध्यमबाट राजस्व संकलन बढाउन भने सरकार सफल देखिएन ।

आर्थिक वर्ष सकिन ५ दिन बाँकी रहँदा राजस्व लक्ष्यको ७७.३४ प्रतिशत मात्र उठेको छ । यस वर्ष १४ खर्ब १९ अर्ब राजस्व उठाउने भनिएकोमा बिहीवारसम्म मात्र १० खर्ब ९७ अर्ब राजस्व उठेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा आमूल सुधार गरी ३ करोडभन्दा कमका आयोजना संघीय सरकारको बजेटमा नराख्ने घोषणा अर्थमन्त्रीले गरेका थिए । तर, मन्त्रालयगत रातो किताबहरू आउन थालेपछि थाहा भयो– अर्थमन्त्रीको घोषणा पनि झुटै रहेछ ।

आधार विनाको निर्यात वृद्धि

यो वर्ष निर्यातमा उत्साहजन वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म निर्यात ७७.७७ प्रतिशतले बढेर २ खर्ब नजिक पुगेको छ, यो रेकर्ड ब्रेकिङ अंक हो ।

यद्यपि निर्यातको यो गतिलाई विज्ञहरू भेल–बाढी ठान्छन् । किनकि मुलुकभित्र उत्पादन हुने र प्रतिस्पर्धी क्षमता बढी भएका वस्तुको तुलनामा नेपालमा उत्पादन नहुने र आयातमा निर्भर वनस्पति तेलको आयात/निर्यात बढ्दा त्यसको सकारात्मक प्रभाव निर्यातको आँकडामा देखिएको हो ।

आयात केही तङ्ग्रिन थालेको देखिएको छ, तर पनि त्यो पनि कच्चा तेलका कारण बढेको हो । आयात बढ्दा भने आन्तरिक अर्थतन्त्र चलायमान हुने संकेत मिल्नुपर्ने हो तर औद्योगिक कच्चापदार्थ लगायत अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने वस्तुभन्दा पनि उपभोग्य वस्तुको आयात बढी आयात भएको देखिन्छ ।

यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता हेर्दा सन्तोषजनक देखिए पनि वास्तविक प्राप्ति विगत जस्तै निराशाजनक छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म ६० अर्ब ६० करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ तर वास्तविक एफडीआई प्राप्ति भने जम्मा ११ अर्ब मात्रै छ ।

आन्तरिक लगानी पनि बढ्न सकेको छैन । चालू आर्थिक वर्षको ११ महिनामा निजी क्षेत्रतर्फ गएको कर्जा जम्मा ८ प्रतिशत मात्रै बढेको छ  भने विस्तृत कर्जा प्रवाह पनि ८ प्रतिशत मात्रै वृद्धि भएको छ ।

ठूला पूर्वाधारमा हटेन ढिलासुस्ती/सरकार निरीह

नारायणगढ- बुटवल सडकको दाउन्ने क्षेत्र । विस्तारको काम सम्पन्न नहुँदा बर्खामा सास्ती हुने गरेको छ ।

अर्थतन्त्रको ठूलो प्रभाव पार्ने मेगा–प्रोजेक्टहरूमा भने सरकारले यस वर्ष पनि आफ्नो उपस्थिति बलियो रूपमा देखाउन सकेन । खासगरी सडक पूर्वाधार निर्माण सम्पन्न भएको ढिलाइले मुलुकको अर्थतन्त्रको लागत मात्रै बढाएको छैन, जनताले ठूलो सास्ती बेहोरिरहेका छन् ।

बुटवल–नारायणघाट, काठमाडौं–मुग्लिङ, मुग्लिङ पोखरा, सिद्धबाबा सुरुङ मात्रै होइन, अन्य धेरै सडकहरूको पुनर्निर्माणले सडक यातायात कष्टदायी भयो । बीपी राजमार्ग लगायत बाढी पहिरोले बगाएको सडकको पुनर्निर्माणको पहल पर्याप्त हुन सकेन ।

विनयी खोलामा ६ महिनाकै अवधिमा एक पुल निर्माण र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको कामलाई गति दिनुबाहेक अन्य आयोजनामा र लामो समय र नियमित प्रक्रियाबाट सम्पन्न भएका बाहेक सरकारले गति दिएर आयोजना सम्पन्न भएको उदाहरण प्रस्तुत गर्न सकेन ।

बुटवल–नारायणघाट सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा जनताले ठूलो सास्ती बेहोर्नु परिरहेको छ । मुग्लिङ–काठमाडौं सडकको गति सुस्त छ । सिंचाइ आयोजनाहरू यस वर्ष पनि अधुरै रहे । निर्माण सकिएका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई सामान्य सञ्चालनमा ल्याउन समेत सरकार असफल देखिएको छ ।

मेलम्ची खानेपानी आयोजनालाई बाह्रै मास वितरणमा ल्याउन सकिएको छैन । नेपाल एयरलाइन्स सहितका संस्थानहरूका निकम्मा व्यवस्थापक राखेर कामचलाउ सञ्चालन गरिरहेको सरकारले यी संस्थानहरूलाई नाफामा लैजाने गरी कुनै काम गर्न सकेन ।

ग्रान्ड को–अलिसनले देशको विकास र राजनीतिक स्थिरतामा राम्रो योगदान गरे पनि सरकारमा रहने दलका लागि त्यो अत्यन्तै जोखिमपूर्ण हुने अध्ययनहरूले देखाएका छन् । एकातिर त्यसले प्रजातान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ भने अर्कातिर यसमा सहभागी दलहरू त्यसपछिको निर्वाचनमा हार्ने सम्भावना बढी हुने क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ । त्यसो हुँदा ग्रान्ड को–अलिसनलाई मूलधारका राजनीतिक दलहरूले अन्तिम विकल्पका रूपमा प्रयोग गर्ने परम्परागत अभ्यास हो ।

‘ग्रान्ड को–अलिसनमा सहभागी भएका मूलधारका दलहरूलाई यसले फाइदा नपुर्‍याउने अध्ययनहरूले देखाएका छन्, बरु मतदाताहरूले यसलाई मन नपराई सहभागी दलहरूलाई सजाय दिने गरेका छन् । ग्रान्ड को–अलिसनलाई देशको समस्या समाधान गर्ने तथा अतिवादी दलहरूलाई प्रतिरोध गर्ने उपकरणका रूपमा हेरिए पनि यसमा सहभागी ठूला र साना दुवै दलहरूलाई मतदाताले अर्को निर्वाचनमा सजाय दिन्छन्’ इटालियन पोलिटल साइन्स रिभ्युमा प्रकाशित ‘लुजर्स टुगेदर: ग्रान्ड को–अलिसन्स इन द ईयू मेम्बर स्टेट्स’मा मार्के मोरोनी र म्याथ्यु लोभलेसले लेखेका छन् ।

यसले के देखाउँछ भने यो ग्रान्ड को–अलिसन बनाएर कांग्रेस एमालेले ठूलो जोखिम मोलेका हुन् । तर, अर्थतन्त्रले त्यसको लाभ नपाउने हो भने यसको औचित्य पनि समाप्त हुनेछ ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?