
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशको खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकारले संयुक्त अभियान सञ्चालन गर्ने सहमति गरेका छन्।
- मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भएको भेटवार्तामा यस्तो सहमति भएको हो।
३१ असार, जनकपुरधाम। मधेश प्रदेशको विद्यमान खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकारले संयुक्त अभियान सञ्चालन गर्ने सहमति गर्ने भएको छ ।
मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ताको क्रममा यो सहमति भएको हो ।
खानेपानी संकट अन्त्यका लागि संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई एकसाथ परिचालन गर्दै सक्रिय रूपले काम थालिएको छ ।
उपलब्ध साधनस्रोतको अधिकतम् उपयोग गरी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरू तत्काल कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
जनताले भोगिरहेको खानेपानी संकटका बेला दुवै तहका सरकार जनतासँगै रहेको अनुभूति दिलाउने गरी काम गर्न सरोकारवाला मन्त्रालय र निकायहरूलाई निर्देशन दिइएको छ।
भेटका क्रममा मधेश प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया 4