Comments Add Comment

ब्यापारी सांसदले भने- कर छली गर्नु ठूलो विषय होइन, जेल हाल्नु हुँदैन

४ असोज, पोखरा । पोखराको विकासलाई लिएर पर्यटन तथा उद्योगमन्त्री विकास लम्साल र गण्डकी प्रदेश सांसद विन्दकुमार थापाबीच जुहारी चलेको छ ।

पोखरा उद्योग वाणिज्य संघको ६५ औं अधिवेशन कार्यक्रममा सांसद थापाले ‘जनता’ले कर छली गर्नु ठूलो विषय नभएको बताए । कर छल्नेलाई जेलमा हाल्न नहुने पनि बताए । उनले भने, ‘जनताले कर छली गर्न सक्छ । कर छल्दैमा जेल हाल्नु हुँदैन ।’

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडाको नाम उल्लेख गर्दै उनले भने, ‘माननीय अर्थमन्त्रीले कतै कर छल्नेलाई जेल हाल्ने भनेको सुनेको छु । कर छल्नेभन्दा भ्रष्टाचार ठूलो समस्या छ । त्यसलाई रोक्नुपर्छ ।’ आफूले तिरेको कर सदुपयोग नभएको थाहा पाएरै व्यावसायीले छली गरेको दाबी गरे ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत थापाले बैंकले ढाड सेक्ने ब्याज लगाएकाले व्यापार आरालो लागेको सुनाए । ‘सुरुमा एउटा ब्याज हुन्छ । पछि त्यो ब्याज बढ्दैबढ्दै जान्छ । यसलाई चाँडै नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘राजश्व संकलन गर्ने भन्दैमा करको दर बढाउने होइन । दायरा बढाउने हो ।’

गण्डकी प्रदेशका कुनै पनि मन्त्री पोखराका नभएकाले पोखराको विकासमा नलागेको सांसद थापाले आरोप लगाए ।

‘पर्यटनमन्त्री पर्वतको हुनुहुन्छ । मुख्यमन्त्री लमजुङको हुनुहुन्छ । उहाँहरुलाई आफ्नै गाउँठाउँको विकास गरौं भन्ने लागेर हुनसक्छ । पोखराको विकासले गति लिन सकेको छैन,’ उनले भने, ‘हुन त ग्रामीण भेगको विकास गर्नुपर्छ । तर, पोखरा प्रदेशको राजधानी भइसकेपछि कम्तीमा राजधानीजस्तो पनि बनाउनुपर्छ ।’

छाती चिरेर देखाइदिन्छुः पर्यटनमन्त्री लम्साल

पर्यटन तथा उद्योगमन्त्री विकास लम्सालले भने प्रदेशले पोखराको विकासमा कुनै हेलचक्य्राइँ नगरेको दाबी गरेका छन् । ‘हामी पोखराको विकासमा १८ घन्टा लागिरहेका छौं । देखाउन मिल्ने भए छाती चिरेर देखाइदिन्थें,’ उनले भने ।

पटकपटक प्रदेश सांसद थापाको नाम उच्चारण गर्दै उनले सानासाना विवादलाई बाहिर नल्याउन आग्रह गरे । ‘म पर्वतमा जन्मिएको हो । तर, पीएन क्याम्पसमा पढेको हुँ । पोखरासँग मेरो पारिवारिक सम्बन्ध पनि छ,’ उनले भने, ‘माननीयज्यू ! सानासाना झगडा नदेखाऔं । हामीले देखाउने भनेको संस्कार हो ।’

मन्त्री लम्सालले सांसद थापा सांसदमात्रै नभएर स्थापित व्यापारी पनि भएकाले भ्रष्टाचार बढ्नुमा आफू पनि जिम्मेवार हुन आग्रह गरे । ‘माननीय ज्यू सांसदमात्रै होइन, स्थापित व्यापारी पनि हो । पटकपटक भ्रष्टाचार बढ्यो भन्नुभयो । खोइ कहाँ बढेको छ देखाउनुस्, हामी निरुपण गर्न तयार छौं,’ उनले भने, ‘लाइन लाग्नुपर्ने ठाउँमा गएर आफैं पैसा बुझाएर काम गर्ने अनि बाहिर आएर भ्रष्टाचार बढेको छ भन्ने ? यो पुरानो मानसिकता त्याग्नुपर्छ ।’

मन्त्री लम्साल उद्योगी, व्यवसायीसँग पनि कड्किए । काम र लगानी नगर्ने तर सधैं गनगन गर्ने बानी परेको आरोप लगाए । ‘रातारात स्थापित हुने सपना देख्ने । तर, सधैं लगानी नगरी कञ्ज्युस्याइँ गरेर गनगन गरेर हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment