News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा हुने २०औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले पहिलोपटक सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ।
- नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग छ, र एक जितले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।
- नेपालले अहिलेसम्म एसियाली खेलकुद क्रिकेटमा तीन पटक क्वाटरफाइनलसम्मको यात्रा मात्रै गरेको छ।
४ असोज, काठमाडौं । एसियाली खेलकुदको क्रिकेट मञ्चमा बारम्बार क्वाटरफाइनलको तगारो पार गर्न नसकेको नेपाली राष्ट्रिय क्रिकेट टोली यसपटक भने इतिहास बदल्दै नयाँ अध्याय लेख्ने दृढ संकल्पका साथ जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुँदैछ ।
विगतका तीन संस्करणमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न नसकेको नियतिलाई तोड्दै नेपालले यसपटक कम्तीमा सेमिफाइनल यात्रा तय गरेर ऐतिहासिक पदकको ढोका उघार्ने स्पष्ट लक्ष्य बनाएको छ ।
सिंगापुरमा सम्पन्न एसियाली खेलकुद छनोट प्रतियोगितामा च्याम्पियन बनेर मुख्य प्रतियोगितामा स्थान पक्का गरेको नेपाल यसपटक समूह ‘ए’ मा छ । नेपालको समूहमा एसियाली क्रिकेटको शक्ति राष्ट्र अफगानिस्तान र आयोजक जापान रहेका छन् ।
समूहको सबैभन्दा चुनौतीपूर्ण प्रतिद्वन्द्वी अफगानिस्तान अहिले विश्व क्रिकेटको स्थापित टोलीका रूपमा चिनिन्छ । नेपाली टोलीले एसियाडको मञ्चमा अफगानिस्तानसँग ठिक १२ वर्षपछि रोमाञ्चक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि सन् २०१४ को एसियाली खेलकुदको क्वाटरफाइनलका साथै सोही वर्ष बंगलादेशमा आयोजित टी-२० विश्वकपमा यी दुई टोली आमनेसामने भएका थिए ।
अर्कोतर्फ, समूहको अर्को टोली जापान भने नेपालका लागि अझै ताजा प्रतिद्वन्द्वी हो । टी–२० विश्वकपको ग्लोबल छनोटका क्रममा नेपालले हालै मात्र जापानको सामना गरिसकेकाले उसको शक्ति र कमजोरीसँग नेपाली टोली राम्रोसँग परिचित छ ।
सामर्थ्य, रणनीति र विगतको अनुभवका आधारमा समूहका दुवै टोली नेपालका लागि नयाँ होइनन् । यद्यपी अफगानिस्तानले मुख्य सिनियर टिम पठाएको छैन, तर पनि अफगान टोली बलियो नै छ । जापानले भने नियमित टोली मैदानमा उतार्दै छ ।

नेपालले एक खेल मात्र जित्दा पनि क्वाटरफाइनलको यात्रा लगभग निश्चित हुनेछ । कप्तान दीपेन्द्रसिंह ऐरी पदक जित्ने लक्ष्यका साथ नै जान लागेको बताउँछन् ।
‘सबैजना अनुभवी छन्, टिम पनि राम्रो छ, प्राक्टिसहरू पनि राम्रो नै भएको छ । यसपटक मेडल लिएर आउने लक्ष्यमा छौं’ कप्तान दीपेन्द्रले भनेका छन् ।
प्रशिक्षक स्टुअर्ट लले जापानमा राम्रो खेल प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन् । ‘हामी त्यहाँ उपस्थितिका लागि मात्र होइन, हाम्रो स्तर कस्तो छ भन्ने कुरा प्रमाणित पनि गर्न जाँदेछौं । हामीले उत्कृष्ट टिमलाई पनि हराउनुपर्ने छ त्यही हिसाबले उच्च मनोबलका साथ खेल्नेछौं’ प्रशिक्षक लले भने ।
यस्तो छ टिम र तयारी
एसियाली खेलकुदका लागि भनेर नेपाली टोलीको छुट्टै विशेष तयारी कार्यक्रम तय भएको थिएन । तर त्यसअघि खेल्ने विभिन्न प्रतियोगिता र शृङ्खलालाई नै एसियाडको तयारीका रूपमा उपयोग गर्ने नेपालको योजना थियो ।
नेपालले अस्ट्रेलियाको डार्विनमा आयोजना भएको टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको थियो । यद्यपी त्यहाँ सिनियर टोली भने खेलेको थिएन । ए टिमले प्रतिस्पर्धा गर्दा ६ खेलमध्ये २ खेल जित्न सफल भयो ।
टप एन्डमा खेलेकामध्ये ३ खेलाडी नेपालको एसियन गेम्स टोलीमा छन् । कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बम एसियन गेम्स खेल्ने टोलीमा छन् । सिनियर टोली त्यसबेला ओडीआई फर्म्याटको प्रिमियर कपमा व्यस्त रहेका थिए ।

त्यसकारण एसियन गेम्स खेल्न जाँदा नेपाली टोलीमा अधिकांश खेलाडी ओडीआई फर्म्याट खेलेर आएका हुनेछन् । सिनियर टोलीका कुशल भुर्तेलले टप एन्ड खेलेका थिए र सबैभन्दा राम्रो प्रदर्शन गरेका थिए । कुशल मल्ल र लोकेश बमले सोचेअनुरुप प्रदर्शन गर्न सकेका थिएनन् ।
यी तीन खेलाडीबाहेक अन्य ओडीआई खेलेर आएकाले केही चुनौती भने रहन सक्छ । यद्यपी कप्तान दीपेन्द्रले ओडीआई खेलेका खेलाडी पनि राम्रो लयमै देखिएको बताएका छन् ।
‘कुशल (भुर्तेल) ले पनि टप उन्डमा राम्रो खेलेका थिए । आसिफले प्रिमियर कपमा शतक प्रहार गरेका थिए । बलरहरूले राम्रो गरिरहेका छन् । सबैजना लयमै छन् जस्तो लाग्छ, तयारी राम्रो नै भन्नुपर्छ’ उनले भने ।
विशेषगरी विदेशी कन्डिसनमा बलियो टोलीविरुद्ध खेलेको अनुभवले नेपाली खेलाडीलाई एसियाडमा सहयोग पुग्नेछ ।
एसियाडमा तीन सहभागिता, उपलब्धि भने क्वाटरफाइनलसम्म
नेपालले पहिलोपटक सन् २०१० मा एसियाली खेलकुदको क्रिकेटमा सहभागिता जनाएको थियो । चीनमा भएको उक्त प्रतियोगितामा नेपाल समूह चरणमा हङकङसँग पराजित भएको थियो भने माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा पुगेको थियो । अन्तिम आठको खेलमा भने श्रीलंकासँग पराजित हुँदै नेपाल बाहिरिएको थियो ।
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा नेपालले समूह चरणमा कुवेत र माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
क्वाटरफाइनलमा अफगानिस्तानसँग नेपाल आठ रनले पराजित भयो । अफगानिस्तानले दिएको १२० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १११ रन मात्रै बनाउन सकेको थियो ।
त्यसपछि सन् २०२२ मा चीनमै भएको एसियाडमा नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । तर अन्तिम आठको खेलमा भारतसँग पराजित हुँदै नेपालको यात्रा सकिएको थियो ।

तीन सहभागिता, तीनपटक क्वाटरफाइनलसम्मको यात्रा । त्यसैले यसपटक नेपालको पहिलो लक्ष्य यही सीमालाई तोड्नु हुनेछ ।
कप्तान दीपेन्द्रले यसपटक कुनै पदक लिएर आउने सोच राखेको बताएका छन् । ‘हामीले राम्रो खेलिरहेका छौं । गोल्ड नै जित्न सकिएन भनेपनि अन्य कुनै पदक लिएर आउने लक्ष्य छ’ दीपेन्द्रले भने ।
प्रशिक्षक लले क्वाटरफाइनल भन्दा अगाडिको यात्रा चुनौतीपूर्ण हुने तर ठूला टिमका अगाडि आफ्नो क्षमता देखाउने अवसर पनि त्यही हुने बताए । ‘टी-२० क्रिकेटमा जसले पनि राम्रो नतिजा ल्याउन सक्छ, त्यस दिनमा हामीले उत्कृष्ट चाहिँ खेल्नैपर्ने हुन्छ । अगाडि बढ्न उत्कृष्ट टिमहरूलाई हराउनुपर्ने नै छ’ लले भने ।
एक जितले पनि क्वाटरफाइनल
यसपटक नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ। समूहमा तीन टोली रहेकाले नेपालले कम्तीमा एक खेल जित्न सके क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ।
तर समूह चरणमा अफगानिस्तानजस्तो बलियो टोली र जापानसँगको प्रतिस्पर्धा नेपालका लागि सहज भने हुनेछैन। समूहमा एउटा जित पर्याप्त हुने सम्भावनाले नेपाललाई प्रत्येक खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब पनि रहनेछ।
नेपालका लागि समूह चरणको पहिलो प्राथमिकता क्वाटरफाइनलमा स्थान बनाउनु हुनेछ। त्यसपछि भने इतिहासमा पहिलोपटक अन्तिम चारमा पुग्ने लक्ष्य राख्न सकिनेछ।

क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।
एसियाडमा पदक जित्ने हो भने यस्ता टोलीविरुद्ध खेल्नैपर्नेछ । त्यसैले समूह चरण पार गर्नु नेपालको यात्राको एउटा चरण मात्रै हुनेछ ।
नेपालले पछिल्लो समय भारत, पाकिस्तान, बंगलादेशजस्ता टोलीसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्ने अवसर पाउँदै आएको छ ।
त्यस अनुभवलाई एसियाडमा उपयोग गर्न सके नेपालले बलिया टोलीलाई चुनौती दिन सक्ने अपेक्षा गर्न सकिन्छ।
***
एसियाली खेलकुदमा नेपालको क्रिकेट यात्रा अहिलेसम्म क्वाटरफाइनलमै रोकिँदै आएको छ। यसपटक भने त्यो इतिहास बदल्ने अवसर नेपालसामु छ।
टप एन्ड टी–२० सिरिजमा बलिया टोलीविरुद्धको प्रतिस्पर्धा, त्यसपछि एसियाडमा अफगानिस्तान र जापानसँगको समूह चरण र अन्तिम आठमा सम्भावित बलियो प्रतिद्वन्द्वी—नेपालको यात्रा सहज हुनेछैन।
तर यही चुनौती पार गर्न सके नेपाली क्रिकेटले एसियाली खेलकुदमा नयाँ इतिहास बनाउन सक्छ। विगतका तीन सहभागितामा हासिल गरेको क्वाटरफाइनल यात्राभन्दा एक कदम अगाडि बढ्नु नै यसपटक नेपालको मुख्य लक्ष्य हुनेछ ।
नेपालको टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल
प्रतिक्रिया 4