४ असोज, गोरखा । मनास्लु आधार शिविरमा युवाहरुले शुक्रबारबाट थालेको आमरण अनसन स्थगित गरेका छन् । गण्डकी सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले अनसन स्थगित गरेका हुन् ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक रुपमा अपिल गर्दै छलफल तथा वार्ताको माध्यमबाट माग सम्बोधनका लागि तत्काल अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो । उठान भएका मागहरु नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित अन्य निकायसँग समन्वय गरी यथोचित सम्बोधन गर्न/गराउन प्रदेश सरकार सकारात्मक रहेको समेत कार्यालयले जनाएको थियो ।
एमक्यापले पनि अनसन फिर्ता लिएर वार्ता र संवादबाट माग पूरा गर्न युवाहरुलाई आग्रह गरेको थियो । माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाएको थियो ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलगायतका विभिन्न माग राख्दै उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको दश जना टोली शुक्रबारदेखि मनास्लु आधार शिविरमा आमरण अनसनमा बसेका थिए ।
जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरुले सचेत गराएका छन् ।
प्रतिक्रिया 4