Comments Add Comment

फिल्म समीक्षा : कबड्डी कबड्डी कबड्डी

हल जानुअघि 'कवड्डी'को चस्मा उतार्नुपर्छ

फल्यासब्याक । ६ बर्षअघि ।

मुस्ताङको सुरम्य पृष्टभूमी ।  विहेवारी सम्बन्धी दुर्लभ प्रसंग । घतलाग्दा पात्रहरु । रैथाने रीतिथिती । लेकाली परिवेशमा बुनिएको पिरतीको चोखो कथा बोकेर आएको थियो, कबड्डी ।

यही चलचित्रले निर्देशक रामबाबु गुरुङलाई ‘खाँटी सर्जक’को तक्मा भिराइदियो । सामाजिक चेत र ग्रामिण मनोविज्ञानलाई मिहिन रुपले केलाउने सीमित निर्देशकमध्येका एक हुन्, उनी । परिपक्क ढंगले कथालाई गतिशिल बनाउन सक्छन् । चोटिला संवाद बुन्न सक्छन् । परिवेश अनुरुप सुहाउँदो पात्रको स्थपना गर्न सक्छन् ।

तर, जब सर्जक ‘कारखाना’ जस्ता यान्त्रिक उत्पादक बन्न थाल्छन्, उनका सीप, शैली र शिल्प भुत्ते हुँदै जान्छ । ५ बर्षे अन्तरालमा ‘कवड्डी, कवड्डी-कवड्डी’ हुँदै ‘कवड्डी कवड्डी कवड्डी’सम्म आइपुग्दा रामबाबु गुरुङ पनि निथ्रिदै र रित्तिदै गएको पो हो कि ?

शंसय गर्नुपर्ने ठाउँ किनपनि छ भने, ‘कवड्डी-३’ ‘कथाले मागेपछि’ तन्किएको सिक्वेल भन्दा पहिलो संस्करणको लोकप्रियता क्यास गर्ने चर्तुर्‍याई र हतारो जस्तो देखिन्छ ।

कवड्डी’ जस्तो निख्खर कथा र तिख्खर स्वाद पस्कने रामबाबु गुरुङ यसको पछिल्लो दुई भागमा फैलिदै र गहिरदै जानुपर्नेमा किन खस्कदै र फुस्किदै गएका छन् ?

कवड्डी कवड्डी कवड्डी हेरिरहँदा यही प्रश्नले घोचिरहन्छ ।

कस्तो छ कथा ?

यसपाली कवड्डीको कथा नौरीकोटबाट घान्द्रुकमा घुसेको छ । सेताम्मे हिमाललाई पृष्टभूमी बनाएर थपक्क बसेको गुरुङ बस्तीभित्र प्रेम र धोकाको कवड्डी सुरु हुन्छ ।

अघिल्लो कथामा मैया (रिश्मा गुरुङ)ले छाडेर गएपछि विरत्तिएका वीरकाजी (दयाहाङ राई) डुकुलन्ठ्याङ छन् । न सिन्को भाँच्ने काम गर्छन्, न घरजामको मेलोमेसो मिलाउँछन् । एकातिर प्रेम-वियोगको चोट, अर्कोतिर घर-परिवारको कचकच । यद्यपि मैयाप्रति उनको प्रेम अजम्बरी छ । वीरकाजी भन्छन्, ‘प्रेम मर्दको जीवनमा एकचोटी हुन्छ, त्यो प्रेम मैले मैयालाई गरेको छु ।’

तर, उनको यो प्रेम-शिद्धान्त त्यसबेला डगमगाउन पुग्छ, जब आफ्नै आँगनमा सोल्टिनी काशी (उपनासिंह ठकुरी) प्रकट हुन्छिन् ।

जबकि वैंशालु यौवनाले फक्रिएकी काशी चौतर्फी प्रेमीहरुको निशानामा छिन् । आमा (लुनिभा तुलाधार) आफ्नातर्फको मामाको छोरो धनकाजी (विल्सनविक्रम राई)लाई सुम्पन चाहन्छिन् । बुवा (माओत्से गुरुङ) भने वीरकाजीलाई ज्वाई बनाउन इच्छुक छन् । एक लाहुरे परिवारका पुत्र पनि काशीको हात माग्न आएका छन् । यता शहरिया लक्का जवान (कर्मा) मरिहत्ते गरेर काशीको पछि लागेका छन् ।

अब काशीलाई गोटी बनाएर यी चार पुरुषबीच प्रेमको कवड्डी खेल सुरु हुन्छ । यो खेलमा कसले बाजी जित्छ ? को पछारिन्छन्, को नकआउट हुन्छन् ? उत्सुकता मेट्न करिब दुई घण्टा सिनेमाघरमा बिताउनुपर्नेछ ।

के छ राम्रो ?

वसन्ती याम । पालुवा फेर्दे गरेको रुख-बुट्यान । अविछिन्न बहकिने लेकाली वतास । कञ्चन खोलानाला । र, बान्की मिलेको झुरुप्प बस्ती । ‘कवड्डी कवड्डी कवड्डी’ले तपाईंलाई यही परिवेश भित्र पुर्‍याएपछि हाँसो-ठट्टा, वैंश-बाध्यता, प्रेम-धोका खेल देखाउन थाल्छ ।

यो एक सामाजिक अन्र्तद्वन्द्वको खेल हो । परम्परा एवं रीतिथिती अनुसरण गर्ने र त्यसको चेपुवामा परेको दुई पुस्तावीचको घम्साघम्सी हो । चलचित्रले स्वजातिय प्रेमलाई समर्थन गरेको छैन र विजातिय प्रेमको वाकलत पनि गरेका छैन । बरु, यी दुईको भुमध्य रेखामा उभिएर ‘कवड्डी’ खेल झै प्रेम-युद्ध पेश गरेको छ ।

‘मौलिकता’को वहसमा अल्झिएको नेपाली सिनेमाका लागि यो एक मौलिक उत्पादन हो । थकाली एवं गुरुङ समुदायको संस्कृतिलाई यस चलचित्रले चम्किलो पर्दामा पुनरुत्थान गरेको छ । रैथाने कथा, रैथाने परिवेश, रैथाने पात्र ‘कवड्डी कवड्डी कवड्डीको’ गुरुत्वबल हो ।

भड्किलो गीत र चमत्कारिक फाइट राख्ने पुरातन शैलीबाट उम्किएर कथावाचनबाट नै दर्शकलाई बाँधेर राख्ने प्रयास यसपटक पनि जारी राखेका छन्, रामबाबुले । गीत त समावेश छ, तर कथा सुहाउँदो । जस्तो कि, गुरुङ समुदायको लवजसँग मिल्दो गीत ‘दुबो फूल्यो’ ।

खासमा रामबाबु गरुङको टिमवर्क राम्रो देखिन्छ । दयाहाङ राई जस्ता सामाजिक धरातललाई राम्ररी बुझेका अभिनेतासँगको सहकार्य नै उनको लागि फलिफापयुक्त छ । माओत्से गुरुङ र उपेन्द्र सुब्बा (स्क्रिप्ट राइटर) जस्ता साहित्य चेत र ग्रामिण मनोविज्ञान छिचोलेका सहकर्मी उनको अर्को शक्ति हो । त्यसबाहेक कमलमणि नेपाल, बुद्धि तामाङ, बिजय बराल जस्ता कला-अभिनयले निखारिएका कलाकर्मी उनको तन्दुरुस्त अवयव हुन् । यसपाली थपिएका कर्मा, उपसना, विल्सन विक्रम पनि उनका साहयक शक्ति हुन् ।

कवड्डीको लोकेसन र सिनेम्याटोग्राफी लोभलाग्दो पक्ष हुन् । हास्यरसयुक्त संवाद र प्राकृतिक अभिनयमा खोट छैन । पाश्र्वध्वनीले कथाको वहकाव र मर्मलाई अरु जोडदार बनाएको छ ।

कहाँ पछारियो ?

नहुनु मामा भन्दा कानो मामा जाती भने झै औसत भन्दा पनि कमसल चलचित्रको थुप्रो लागिरहेको यो याममा ‘कवड्डी कवड्डी कवड्डी’ले केही राहत दिन्छ । तर, हल जानुअघि ‘कवड्डी’को चस्मा उतार्नुपर्छ ।

किन ?

क) ‘कवड्डी’ भर्सेस ‘कवड्डी कवड्डी कवड्डी’ गर्ने हो भने यो सोझै पछारिन्छ । यसमा कवड्डीले जस्तो दुर्लभ कथा उत्खनन गरेको छैन । अर्थात कुनै नयाँ खोज-अध्ययन नगरी कथा-पटकथा तन्काइएको छ ।

ख) ‘कवड्डी’मा जस्तो रहस्य र रोचक घटनाक्रम जोडिएको छैन । नाटकिय मोडहरुमै रुमल्लिएको छ ।

ग) ‘मन परेको जुत्ता पो जुत्ता, नभए खाली खुट्टा ठिक’ भनेजस्ता पात्रको मनोविज्ञान खोतल्ने चोटिला र हास्यरसयुक्त संवाद छैन ।

घ) दृश्यांश एवं दृश्य निर्माणका लागि ‘कवड्डी’मा जस्तो शिल्प खिपिएको छैन ।

‘कवड्डी’कै ह्याङओभर बोकेर हल पुग्नुभयो भने तपाईं निरास भएर र्फकनुहुनेछ । त्यो स्तर वा तहभन्दा खस्किएको छ, कवड्डी कवड्डी कवड्डी । उही कथा, उही परिवेश, उही पात्र, उही हाउभाउ, उही लवज । सिक्वेल निर्माणका साइड इफेक्ट पनि हुन् यी । पुरानो कुरालाई नयाँपन दिन त्यती सजिलो कहाँ होला र ?

यहाँ एउटा कथन जोड्न उपयुक्त हुन्छ । पुरानो गीतारको तारलाई धेरै तन्काउँदा टुट्ने भय हुन्छ, खुकुलो बनाउँदा त्यसको धुन बिग्रन्छ । सिनेमाको सिक्वेलमा पनि संभवत यही यर्थाथ मेल खान्छ । खासमा भन्ने हो भने ‘कवड्डी कवड्डी कवड्डी’ लाई खुकुलो छाडिएको छ र यसको लय एवं धुन बिग्रिएको छ ।

कथालाई नौरीकोटबाट घान्द्रुकको सेटमा स्थान्तरण त गरिएको छ, तर त्यसको औचित्य के ?

घान्द्रुकको रहनसहन, चालचलन, खानपान, लवजलाई बेवास्ता गर्दै अर्को ठाउँबाट टपक्क पिटेर केही थान पात्रहरु त्यहाँ पुर्‍याइएको छ । ति आयतित पात्रहरुकै चलखेल देखाइरहँदा घान्द्रुकको आफ्नोपन महसुष हुँदैन ।

निश्चित जात-जातिभित्रको कथा बुनेर पनि त्यसको आयमहरुलाई संग्रहित गर्न नगरी पुरातन प्रेम- धोकाको खेलमा यो चलचित्र बहकिएको छ ।

‘कवड्डी’को केन्दि्रय चरित्र वीरकाजी भएपनि कथामा उतारचढाव ल्याउने पात्र मैया र काशी हुन् । ‘कवड्डी-३’मा काशीकै लागि चार पुरुषको हानथाप छ । जबकि वीरकाजी बाहेक यी सबै जोकर झै लाग्छन् । दर्शक हँसाउने चक्करमा मानविय संवेदनाको उपेक्षा गरिएको छ ।

कथामा कृतिम एवं नाटकिय मोडहरु ल्याइएको छ । कासी गाउँ पुगेकै बखत उनको हात माग्न लाहुरे परिवार टुप्लुक्क आइपुग्नु, सोल्टीनीको खोजीमा शहर पसेका वीरकाजी सामान्य झगडाको निहुँमा प्रहरी चौकीमा पुग्नु र सोल्टनीको बुवा पनि त्यही भेटिनु ।

कासीको मनोविज्ञान अस्थिर छ । उनी आज्ञाकारी छोरी हुन् वा अज्ञानी ? आमाबुवाको मन राख्न आफुलाई तिलाञ्जली दिन तयार काशी त्यतीका अडान लिन सक्छन्, तर विद्रोह गर्दैनन् ।

‘कवड्डी कवड्डी कवड्डी’ माथि औंला उठाउने प्रशस्तै ठाउँ छन् ।

चलचित्र- कवड्डी कवड्डी कवड्डी

निर्देशक– रामबाबु गुरुङ

कलाकार- दयाहाङ राई, उपसाना सिंह ठकुरी, कर्मा, विजय बराल, माओत्से गुरुङ आदि ।

अवधि- १ घण्टा ५५ मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment