Comments Add Comment

प्रदेश २ को राजमार्गमा टाइम कार्ड, ५ घण्टामा सडक पार गर्नुपर्ने

५ असोज, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेशअन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी सार्वजनिक सवारी साधनलाई टाइम कार्ड लागू गरेको छ ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार प्रदेश २ को पूर्वको सीमा सप्तरीको भारदहदेखि पश्चिमको सीमा बाराको पथलैयासम्म छ ।

पश्चिमबाट पूर्वतिर आउने सवारी साधनलाई पथलैयादेखि लालगढसम्मको १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेट र लालगढदेखि भारदहसम्मको १ सय १५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने हुन्छ ।

छोटो दूरीलाई पनि टाइम कार्ड

ट्राफिक कार्यालयले छोटो दूरीका लागि पनि टाइम कार्ड बनाएको छ । जसअनुसार भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर ४० मिनेटमा, शम्भुनाथदेखि कदमाहासम्मको २२ किलोमिटरको दूरी ३० मिनेटमा र कदमाहादेखि सिरहाको बन्दीपुरसम्मको ४३ किलोमिटरको दूरी ५५ मिनेटमा  पार गर्नुपर्ने छ ।

यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्मको २९ किलोमिटर ४० मिनेटमा, लालगढदेखि कर्मैयासम्मको ४९ किलोमिटर दूरी १ घण्टा २० मिनेटमा र कर्मैयादेखि पथलैयासम्मको ५० किलोमिटरको दूरी १ घण्टा २० मिनेटमा पुग्नुपर्ने हुन्छ ।

टाइम कार्डको उल्लंघन गर्ने सवारीसाधनलाई जरिवाना तोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

दशैंको बेला सवारी साधनको चाप हुने भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश २ ले टाइमकार्ड लागू गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

यसअघि काठमाठौंबाट सिन्धुलीको बाटो भएर पूर्व्तर्फ आवत जावत गर्ने वीपी राजमार्गमा पनि यसरी गरी टाइमकार्ड लागू भइसकेको छ । टाइम कार्डको प्रवन्धले दुर्घटना कम हुने, यात्रुलाई सहज हुने र यातायातको व्यवस्थापन सहज हुने ट्राफिक प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment