+
+
Shares
जेनजी प्रदर्शन :

स्टार्टअप उद्यमीहरूको मनोबल : टिक्ने हो बजारमा

जेनजी प्रदर्शनबाट समग्र आर्थिक गतिविधि र विशेषगरी निजी क्षेत्रमाथि गम्भीर प्रभाव पारेको छ । यसको प्रत्यक्ष मारमा परेका छन् हजारौं स्टार्टअप उद्यमी ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ भदौ २८ गते ७:१३

२८ भदौ, काठमाडौं । ‘परिस्थिति राम्रो बनोस्, काम गर्ने वातावरण बनोस्, देशमै केही गर्न सकियोस्, यत्ति हो,’ काठमाडौं बुद्धनगरमा जुगाड क्याफे सञ्चालन गरिरहेका सूर्य न्यौपाने भन्छन् ।

चार वर्षअघि न्यौपाने र उनकी श्रीमती ममता देवकोटाले स्टार्टअप सुरु गरेका थिए– जुगाड क्याफे । त्यतिबेला सटरबाट सुरु गरेको यो सानो चिया पसले दम्पतीको अथक परिश्रम र संघर्षबाट अहिले ललितपुर जाउलाखेल र बुद्धनगरमा दुई शाखासहित सञ्चालन भइरहेको छ ।

यो क्याफेले अहिले १८ देखि २० जनालाई रोजगारी दिएको छ । सुरुमा एक सानो सटरबाट २०–२५ हजार रुपैयाँ लगानीमा सुरु भएको जुगाड क्याफेमा अहिले लाखौंको लगानीमा पुगेको छ ।

‘हामी बुढाबुढीले सुरु गरेको स्टार्टअप व्यवसाय हो,’ न्यौपाने भन्छन्, ‘हिजो बुढाबुढी मिलेर दुई जनाले काम गरेर आज २० जनाले काम गर्छौं भनेपछि हिजो हजारमा थियौं, आज लाखौंमा छौं ।’

तर, पाँच दिनअघि एक्कासि देशभरि जेनजी प्रदर्शन चर्किएर ५० बढीको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि उनको स्टार्टअपमा प्रत्यक्ष असर परेको छ ।

जेनजी प्रदर्शनबाट समग्र आर्थिक गतिविधि र विशेषगरी निजी क्षेत्रमाथि गम्भीर प्रभाव पारेको छ । यसको प्रत्यक्ष मारमा परेका छन् न्यौपानेजस्ता हजारौं स्टार्टअप उद्यमी । ‘५–७ दिन भइसक्यो हाम्रो कामधाम सबै ठप्प छ,’ उनको गुनासो छ ।

२० जना कर्मचारी भन्नुको अर्थ २० वटा परिवारको जीविकोपार्जनको जिम्मेवारी लिएको उनी बताउँछन् । चाडपर्व नजिकिँदै गर्दा अनिश्चितताले उनलाई झन् पिरोलेको छ ।

‘२० जना कर्मचारीलाई सामान्य २० हजारका दरले दिँदा पनि २ लाख रुपैयाँ त मासिक खर्च हुन्छ,’ उनी भन्छन् ।

मानवताका हिसाबले काम नभए पनि कर्मचारीलाई दिनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

प्रदर्शनकारीले निजी सम्पत्ति तोडफोड गरी तहसनहस पारेपछि देशमा काम गर्ने वातावरण नै नरहने हो कि भन्ने डरले उनी त्रसित छन् । ‘अवस्था अझै सहज भइसकेको छैन, कतिबेला के हुने हो थाहा छैन,’ उनी चिन्ता व्यक्त गर्छन्, ‘काम गर्न तत्काल वातावरण छैन, तर केही दिनमा सहज हुन्छ भन्ने आश पनि मरेको छैन ।’

राजनीतिक अव्यवस्था र भ्रष्टाचार मूल कारण

देशमा भइरहेको घटनाक्रमलाई न्यौपानेले ‘करप्सनको अवस्था’ को संज्ञा दिएका छन् । ‘अहिलेको पोलिटिक्स, विभिन्न कर्मचारीतन्त्र लगायत कुराले यो अवस्था निम्तिएको हो,’ उनी भन्छन्, ‘अब आउने पुस्ताले भ्रष्टाचार नगरी देश बनाउन लाग्नुपर्छ ।’

परिवर्तनको आवश्यकता भए पनि कस्तो परिवर्तन आउँछ भन्नेमा अन्योल रहेको उनी बताउँछन् । यो विषम परिस्थितिमा पनि न्यौपानेको मनोबल अझै कमजोर भएको छैन । उनी भोलिका दिनमा परिस्थिति सुध्रिने र शान्तिपूर्ण वातावरणमा काम गर्न पाइने आशा राख्छन् ।

‘आज हामीले गरेर खाइरहेका छौं, भोलि हामीलाई पनि केही नराम्रो हुन्छ कि भन्ने मात्रै चिन्ता हो,’ उनी भन्छन्, ‘निजी सम्पत्तिहरूमा चाहिँ क्षति नपुर्‍याइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ ।’

उनको चाहना अझै धेरै रोजगारी सिर्जना गर्नु र सबैले सँगै मिलेर काम गर्ने वातावरण बनाउनु रहेको छ ।

‘हामी हाम्रो ठाउँबाट ढुक्कले काम गर्न चाहन्छौं, शून्य भएको देश उकास्ने जिम्मा हाम्रै काँधमा छ,’ न्यौपाने भन्छन्, ‘बस्, माहोल सिर्जना भइदिए हुन्थ्यो ।’

फाइनान्सको जागिर छाडेर चटपट व्यवसाय, आम्दानी आधा घट्यो, घटेन मनोबल

देशमा व्याप्त अनिश्चितता, आन्दोलन र त्यसले सिर्जना गरेको विषम परिस्थितिबाट धेरै साना व्यवसायी प्रभावित भएका छन् ।

नयाँ बानेश्वरमा ‘चटरपटर हाउस’ सञ्चालन गरिरहेकी कमला चौधरीलाई पनि अब के हुने हो भन्ने चिन्ताले सताइरहेको छ ।

देश शून्य अवस्थामा पुग्दा व्यापार व्यवसाय गर्नेहरूको मनोबल खस्किएको र असहज परिस्थिति रहेको उनी बताउँछिन् । तर, यस्तो अवस्थामा पनि उनी आफ्नो व्यवसाय र भविष्यप्रति आशावादी छिन्, तर डर र चिन्ताले भने उनलाई छाडेको छैन ।

पढाइदेखि उद्यमशीलतासम्मको यात्रा

सुदूरपश्चिम कञ्चनपुरबाट अध्ययनका लागि काठमाडौं आएकी कमलाले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । पढाइका साथै उनले एउटा फाइनान्स कम्पनीमा जागिर पनि गरिन् । तर, जागिरबाट उनी सन्तुष्ट हुन सकिनन् ।

तलब पनि भनेको बेला नआउने, काममा धेरै खटिनुपर्ने र भनेको बेला छुट्टी नपाइने जस्ता समस्याले गर्दा उनलाई आफ्नै केही गर्नुपर्छ भन्ने सोच आयो ।

‘अरूको गाली खाएर काम गर्नुभन्दा आफ्नै स्टार्टअप गरेपछि बिस्तारै भोलिका दिनमा केही होला कि भनेर थोरै लगानीमा मैले चटपट, पानीपुरी बेच्ने निर्णय गरेँ,’ कमलाले सुनाइन्, ‘हामी सानातिना व्यवसाय गरेर खानेलाई पनि सहज कहिल्यै भएन ।’

उनले करिब डेढ वर्षअघि आफ्नो चटरपटर पसल सुरु गरिन् । यो व्यवसायमा सुरुवाती लगानी खासै धेरै नभए पनि पसलका सामान किन्दा लाग्ने लगानी भने राम्रै भएको उनी बताउँछिन् ।

पसलको मासिक भाडा १५ हजार रुपैयाँ तिरिरहेको उनी बताउँछिन् । देशमा भएको जेनजी प्रदर्शन र त्यसपछिको परिस्थिति कमलाका लागि चुनौतीपूर्ण बनेको छ । ‘हरेक दिन जम्मा गरेर भाडा तिर्ने, आफ्नो खर्च चलाउने स्थितिमा अब कठिनाइ आएको छ,’ उनले सुनाइन् ।

सामान्य दिनमा दैनिक चटपट, पानीपुरी बेचेरै ४ देखि ५ हजार रुपैयाँसम्म कमाइ हुने उनको पसलमा अहिले १५ सयमात्र आम्दानी गर्न पनि मुस्किल भएको छ ।

कमलालाई अब भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । ‘दशैं पनि नजिकिँदै छ, दशैंका लागि पनि अलि केही जोहो गर्न सकिन्थ्यो कि भन्ने मात्रै छ,’ उनी सुनाउँछिन्, ‘अलि सुध्रियो भने व्यापार त फेरि फर्किहाल्छ भन्ने जस्तो लागिरहेको छ । स्थिति सामान्य हुन्छ र म अझै केही गर्छु, गर्न सक्छु भन्नेमा छु ।’

अस्ट्रेलियाको करियर त्यागेर स्वदेशमा क्याफे, जेनजी प्रदर्शनले थप्यो चुनौती

दूरदेशमा राम्रो करियरको सम्भावनालाई त्यागेर स्वदेशमै केही गर्ने सपना बोकेर नयाँ बानेश्वरमा ‘कफी टेल्स’ क्याफे सञ्चालन गरिरहेकी स्टार्टअप उद्यमी हुन् उजिना थापा मगर ।

तर, भर्खरैको जेनजी प्रदर्शनले निम्त्याएको अस्थिरताले उनको व्यवसायमा पनि असर पारेको छ ।

उजिना नेपालमा स्नातक पूरा गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया गएकी थिइन् । त्यहाँ उनले एमबीए र प्रोफेसनल एकाउन्टिङमा स्नातकोत्तर हासिल गरिन् । अस्ट्रेलियामा करिब ८ वर्ष आतिथ्य सत्कार (हस्पिटालिटी) उद्योगमा काम गर्दै उनी एसिस्टेन्ट म्यानेजर र म्यानेजरसम्मको पदमा पुगिसकेकी थिइन् ।

तर, अरूको देशमा काम गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सपना बोकेर उनी नेपाल फर्किइन् र करिब चार महिनाअघि उनले आफ्नै क्याफे सञ्चालन गर्न थालिन् ।

यस क्याफेमा उनले आफ्नो अस्ट्रेलियामा कमाएको ३० लाख रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गरेकी छिन् ।

उजिनाको क्याफे भर्खरै फस्टाउँदै थियो, तर जेनजी प्रदर्शनले अप्रत्याशित रूपमा समस्या निम्त्यायो । ‘तीन–चार दिन बन्द गर्दा नै बिजनेसमा इफेक्ट परिसक्यो,’ उनी भन्छिन्, ‘भर्खरै गरेको लगानी उठाउन पनि अझै समय नै छ, यही अवस्था रहे डुब्ने निश्चित रह्यो,’ उनको दु:खेसो छ ।

आन्दोलनको उद्देश्यलाई उनी गलत मान्दिनन् । ‘भ्रष्टाचार विरुद्ध गरिएको यो आन्दोलनमा मेरो पनि सपोर्ट हो, तर यसले जुन परिणाम निम्त्यायो, यो दु:खदायी भयो,’ उनी भन्छिन् ।

यसले निम्त्याएको अस्थिरता र व्यापार बन्द हुँदाको आर्थिक क्षतिले उनलाई चिन्तित बनाएको छ । ‘अस्ट्रेलियामा बनिसकेको करियर छाडेर नेपालमा केही गर्छु भनेर आँट गरे,’ उनी सुनाउँछिन्, ‘यो अवस्थाले त डिमोटिभेट गरिहाल्छ नि स्टार्टअप बिजनेस गर्नेलाई ।’

यस्तो अस्थिरता सधैं भइरहने हो भने लगानी उठाउन कठिन हुने उनको चिन्ता छ । सहज परिस्थिति सिर्जना भए उनी अब आफ्नो व्यवसाय विस्तार गर्दै रोजगारी सिर्जना गर्ने योजनामा पनि छिन् । दशैँपछि कर्मचारी राखेर अरूलाई पनि रोजगारी दिने उनको सोच छ ।

परिस्थिति सामान्य हुनेछ र उनको जस्ता स्टार्टअपले नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने वातावरण निर्माण हुनेमा उनी आशावादी छिन् ।

‘स्थिति सामान्य भएपछि फेरि ग्रो गराउँछौं’

पुरानो बानेश्वर भीमसेनगोलामा ‘स्मार्ट कृषि फ्रेस’ आउटलेट सञ्चालन गरिरहेका लमजुङका अनिल रेग्मी पनि जेनजी प्रदर्शनको  प्रत्यक्ष मारमा परेका छन् । ताजा कृषि उपज व्यवसाय भएकाले बन्द र अवरोधले उनको व्यवसायमा क्षति पुगेको छ ।

बन्द र अवरोधका कारण अन्य प्याकेज्ड वस्तुको तुलनामा उनको व्यवसायमा बढी असर परेको छ । ‘हामीले अब फ्रेस आइटम बेच्ने हुनाले सिधै असर पर्‍यो,’ उनी भन्छन्, ‘प्याकेज्ड सामान भए बसिराख्थ्यो । तर, ताजा वस्तुहरू ल्याएर राखेको अवस्थामा ओइलाएर बिग्रेर गयो ।’

उत्पादित वस्तुहरू खेर जानुका साथै किसानले पनि आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन पाएका छैनन् । ‘किसानले आफ्नो उत्पादन पठाउन पनि पाएनन् र आउँदै गरेको सामान पनि बाटोमै अड्किएको छ,’ रेग्मी भन्छन्

रेग्मीले दशैं लक्षित गरी आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएका थिए । उनले थप दुई–तीन ठाउँमा आउटलेट विस्तार गर्ने तयारीमा रहेको र त्यसबाट दशैंमा स्याउजस्ता फलफूलको व्यापार राम्रो हुने अपेक्षा राखेका थिए । यद्यपि, उनी एक–दुई दिनमै सकारात्मक निकास निस्किए तत्काल काम सुचारु गर्न सकिने आशामा छन् ।

दैनिक बिहान केही घण्टामात्र पसल खोल्न पाउने अवस्था सिर्जना भए पनि ग्राहकले सहजै सामान पाउन पनि नसक्ने र व्यवसायीले बिक्री गर्न पनि नसक्ने परिस्थिति रहने उनको चिन्ता छ ।

वर्तमान असहज परिस्थितिमा पनि अनिलको मनोबल भने कमजोर भएको छैन । उनी आफ्नो व्यवसायमा निरन्तर लागिरहने बताउँछन् । उनको व्यवसाय दैनिक जीवनमा आवश्यक वस्तुको भएको हुँदा पूर्णरूपमा ठप्प हुने अवस्था नआउनेमा आशावादी छन् ।

‘जेनजी प्रदर्शनले आर्थिक अवस्था शिथिल, तर स्टार्टअपले हार मान्नु हुँदैन’

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप एन्ड इनोभेसन समितिका पूर्वअध्यक्ष रञ्जित आचार्य हालैको प्रदर्शन र त्यसले सिर्जना गरेको तोडफोडको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले देशको आर्थिक अवस्थालाई झनै कमजोर र शिथिल बनाएको बताउँछन् ।

स्टार्टअप व्यवसायका लागि अत्यन्तै दु:खदायी अवस्था रहे पनि हार मान्ने छुट भने नरहेको उनको भनाइ छ ।

आचार्य हाल देशमा प्रदर्शन क्रममा भएको तोडफोड र आगजनीलाई विध्वंशको संज्ञा दिँदै यो वास्तविक जेनजीले नगरेको तर उनीहरूको नाममा ‘विभिन्न फ्याक्टर’ ले विध्वंश मच्चाएको बताउँछन् ।

विशेषगरी कुकिज, भुजिया, अचारजस्ता सामान उत्पादन गर्ने साना स्टार्टअपका लागि यो अवस्था झन् पीडादायी छ, किनकि उनीहरूका बिक्री वितरण गर्ने ठूला स्थान जस्तै भाटभटेनी नै तहसनहस बनाइएको छ ।

आचार्यले अहिले जे भइसक्यो त्यसलाई उल्ट्याउन नसकिने भन्दै अब के गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । उनी स्टार्टअपहरूलाई आफूलाई कसरी सम्हाल्ने, सकारात्मक रहेर कसरी व्यवसाय अगाडि बढाउने भन्ने सोच्न आवश्यक रहेको बताउँछन् ।

उद्यमीहरूलाई कहिल्यै हार नमान्ने प्रेरणा भाटभटेनी सुपर स्टोर सञ्चालक मीनबहादुर गुरुङबाट लिनुपर्ने उनको सुझाव छ ।

‘मीनबहादुर गुरुङजी यत्रो ठूलो क्षति बेहोरेर पनि हामी फेरि उस्किन्छौँ, हामी फेरि अझै आउँछौं, हामी केही गर्छौं भनेर भनिरहनुभएको छ,’ आचार्य भन्छन्, ‘उहाँले आफ्नो मनोबललाई उच्च राख्नुभएको छ, स्टार्टअप उद्यमीले उहाँबाट प्रेरणा लिनुपर्छ र बजारमा आफूलाई टिकाउनुपर्छ ।’

टेक्नोलोजीसँग आबद्ध स्टार्टअपहरूका लागि बजार खुम्चिएको छैन भन्ने आचार्यको धारणा छ । उनीहरूले विदेशमा पनि आफ्नो बजार विस्तार गर्न सक्ने उनी बताउँछन् ।

‘आत्तिएर अब म सक्दिनँ भनेर छाड्नुभन्दा यो अवस्थामा पनि म टिकेर बस्छु, संघर्ष गर्छु भनेर भन्नु नै एउटा उपयुक्त उपाय हो,’ उनी भन्छन् ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?