Comments Add Comment

टिकट काउन्टरलाई दशैं लाग्यो, पहिलो दिन नै ठेलमठेल

५ असोज, काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार बिहान फरक परिदृश्य देखिन्थ्यो । बसपार्कभित्रका टिकट काउन्टरहरू अघिल्ला दिन सुनसानजस्तै हुने गरेका भए पनि आइतबार भने भीडभाड थियो ।

सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा एक्कासि भीड ग्राफ बढेको हो । भीडभाड बढेपछि अघिल्ला दिनहरूमा फुर्सदिला हुने काउन्टरका कर्मचारीको व्यस्तता ह्वात्तै बढेको छ ।

आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने सपना पूरा गर्न यात्रुहरू बसपार्कमा झुम्मिएका हुन् । नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि यहाँका काउन्टरमा पनि भीडभाड देखिएको छ ।

दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् । तर, लामो दूरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दशैंमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् । विगत वर्षदेखि नै यस्तो असुविधा झेल्ने गरेका भए पनि यसमा सुधार आउन सकेको छैन ।

लामो दूरीको यात्राका लागि आजबाट टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
यात्रु नठगिउन् र सहज ढंगले घर फर्कन पाउन् भनेर यातायात कम्पनीहरुले टिकट बुकिङ खुला गरेलगत्तै यात्रुहरू आफ्नो सिट सुरक्षित गर्न हतारिने गरेका छन् ।

यसैबीच, यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्नेछ ।

बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी पनि गर्न सक्ने विभागका निर्देशक तिर्थराज खनालले जानकारी दिए ।


फोटो : शंकर गिरी/चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment