News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले पत्नी निकिता लामिछानेसँग भारत भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको बताएका छन् ।
- लामिछानेले भ्रमणलाई राजनीतिक विषयसँग नजोड्न आग्रह गर्दै कुनै राजनीतिक भेटघाट नभएको स्पष्ट पारेका छन् ।
- उनले कारागारमा रहँदा नै कैँची धाम जाने भाकल गरेको र परिवारसहित नैनीतालको कैँची धाम तथा गुवाहाटीको कामाख्या मन्दिर जाने कार्यक्रम रहेको बताए ।
६ कात्तिक, कञ्चनपुर । तीन दिने भारत भ्रमणमा निस्किएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् ।
पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए । धनगढी विमानस्थलबाट उनी कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट उनी भारततर्फ लागेका छन् ।
सो क्रममा उनले भ्रमणलाई राजनीतिक विषयसँग जोडेर व्याख्या नगर्न आग्रह गरे । यसलाई अनावश्यक राजनीतिक बहसको विषय नबनाउनसमेत उनले आग्रह गरे ।
‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु । यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिले काहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ । त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु,’ सभापति लामिछानेले भने ।
आफू कारागारमा रहँदा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम जाने भाकल गरेको उल्लेख गर्दै उनले सोही भाकल पूरा गर्न भारत जान लागेको पनि बताए ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
‘पहिलादेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले गर्दा पहिलादेखि नै जाऔंला भन्ने नै थियो । म कारागारमा हुँदा नै एउटा हुन्छ नि परम्परा, भाकल गरिन्छ भनौं न । त्यसलाई पूरा गरौं भनेर जान लागेको हुँ,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4