News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुको गमगढी–नाक्चेलाग्ना ९६ किलोमिटर सडकमा २ दशकको सर्वेक्षणपछि १० वर्षमा साढे १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ।
- २०८२ जेठ २२ गते १५ करोडमा नयाँ ठेक्का सम्झौता भए पनि २०८४ असार मसान्तसम्म काम पूरा हुने सम्भावना स्थानीयले कमजोर देखेका छन्।
- सडक नहुँदा मुगुम कार्मारोङका बासिन्दा खाद्यान्न, औषधि र निर्माण सामग्री ढुवानीका लागि खच्चड र भरियामा निर्भर छन्।
६ कात्तिक, सुर्खेत । मुगु सदरमुकाम गमगढीलाई चीनसँगको उत्तरी नाक्चेलाग्ना नाकासँग जोड्ने सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी र निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि ९३ किलोमिटर लामो सडकमा साढे १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ ।
सडक नबन्दा मुगुम कार्मारोङ गाउँपालिका सडक सञ्जाल भन्दा बाहिरै छ ।
कर्णालीको व्यापार, पर्यटन र स्थानीय जनजीवनसँग जोडिएको यो सडक निर्माणमा भौगोलिक विकटतासँगै पर्याप्त बजेट, प्राविधिक जनशक्ति र सरकारी प्राथमिकताको अभाव चुनौती बनेको स्थानीयको गुनासो छ । ठेक्का सम्झौताको प्रारम्भिक म्यादसमेत सकिइसक्दा सडक निर्माणको गति भने सुस्त छ ।
२०६२/६३ देखि सर्वेक्षण सुरु भएको सडकको निर्माण २०७२/७३ देखि अघि बढेको थियो । गमगढीबाट मुगुम कार्मारोङ गाउँपालिका–९ नजिकैको छाइल–सुलसुले भीरसम्म सडक पुगेको छ । अहिले नयाँ ठेक्का लगाएर काम सुरु गरिएको छ ।
गमगढी–नाक्चेलाग्ना सडक निर्माणमा बजेटको निरन्तरता र पर्याप्तता मुख्य चुनौती बनेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ९३ लाख र २०७९/८० मा ४ करोड ४० लाख रुपैयाँ खर्च भएको विवरण छ ।
तत्कालीन भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईंले राज्यको स्रोत वितरणमा कर्णालीले पर्याप्त हिस्सा नपाउँदा पूर्वाधार निर्माण सुस्त भएको बताएका थिए । ‘कर्णालीले भूगोलको आकारझैँ बजेटको आकारमा पनि न्यायोचित लगानी पायो भने कर्णालीका पहाड दुर्गम रहने छैनन्,’ उनले भनेका थिए ।
नयाँ ठेक्का लगाएर काम सुरु
सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्नका लागि जागृति–रारा तेन्जिङ–नोर्याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ । हालसम्म १८ किलोमिटर मात्र काम भएको छ ।
जम्मा ९६ किलोमिटर लम्बाइ रहेको यो सडक खण्डको (गमगढी–नाक्चेलाग्ना) सम्म निर्माण गर्नका लागि १५ करोडमा बजेटमा २०८२ जेठ २२ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०८४ असार मसान्तसम्म निर्माण कार्य पूरा गर्नुपर्ने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर श्रवण कुमार महताराले बताए ।
कामको गती हेर्दा निर्धारित समयमा सम्पन्न हुने सम्भावना काम देखिएको स्थानीय बताउँछन् । हाल चालु आवको बजेट सुर्खेत गमगढी नाक्चेलाग्ना सडकका लागि रु ३० करोड रहेको योजना प्रमुख महतराले जानकारी दिए ।
कडा चट्टानी भूगोल, विस्फोटक पदार्थको अभाव, वर्षायाममा बाढी पहिरो, बजेटको अपर्याप्तता र प्राविधिक व्यवस्थापनका कठिनाइले निर्माण प्रभावित हुँदै आएको छ ।
चट्टान भीरले थप चुनौती
मांग्री भीरको २२० मिटर कडा चट्टान कटान गर्न नेपाली सेनाको समन्वयमा ब्लास्टिङको काम अघि बढाइएको छ ।
सडक नहुँदा मुगुम कार्मारोङका बासिन्दाले खाद्यान्न, औषधि, स्वास्थ्य उपकरण र निर्माण सामग्री ढुवानी गर्न खच्चड तथा भरियामा निर्भर हुनुपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाले बताए । ‘बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउनसमेत कठिन हुने गरेको छ,’ उनले भने । ढुवानी महँगो हुँदा दैनिक जीवनयापनमा कठिनाइ र विकास निर्माणको लागत बढेको उनको भनाइ छ ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले गमगढी–नाक्चेलाग्ना सडकलाई कर्णालीको विकासको प्राथमिकतामा राख्नुपर्ने बताए । ‘कर्णालीको समग्र विकास यही मार्गबाट मात्रै सम्भव छ,’ उनले भने ।
चीनसँगको व्यापार र पर्यटनको सम्भावना
सडक सञ्चालनमा आए चीनको सीमावर्ती क्षेत्रसम्म पहुँच सहज हुने, ढुवानी लागत घट्ने र स्थानीय उत्पादनले बजार पाउने अपेक्षा छ । यार्सागुम्बा, गुच्ची च्याउ, सतुवा र कटुकीजस्ता जडीबुटी तथा चिनो, फापर, आलु, स्याउ, घिउ र छुर्पी जस्ता स्थानीय उत्पादनको बजारीकरणमा सडक उपयोगी हुन सक्ने विश्वास छ ।
मुगुम कार्मारोङ क्षेत्रका छायानाथ धाम, मुगु गाउँ, गुम्बा तथा प्राकृतिक सम्पदाको पर्यटन प्रवर्द्धनमा पनि यसले सहयोग पुर्याउन सक्छ । तर, त्यसका लागि सीमावर्ती नाकाको सञ्चालन, व्यापारिक व्यवस्था र पर्यटन पूर्वाधारमा समेत लगानी आवश्यक हुने स्थानीयवासी रमेश कुमाई बताउँछन् ।
प्रतिक्रिया 4