News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले शिक्षा पाठ्यपुस्तक र परीक्षामा सीमित नभई अधिकार, कर्तव्य, स्वतन्त्रता र जिम्मेवारीको सन्तुलनमा आधारित हुनुपर्ने बताएको छ।
- यसले अनुशासनका नाममा करकाप नगरी विद्यार्थीको आत्मसम्मान जोगाउँदै नियमको औचित्य बुझाएर पालना गराउनुपर्नेमा जोड दिएको छ।
- लेखले सरकार, विद्यालय, शिक्षक र अभिभावकबीच सहकार्य, नियमित संवाद र साझा जिम्मेवारी आवश्यक रहेको निष्कर्ष निकालेको छ।
आजको शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित हुनु हुँदैन। विद्यार्थीको अधिकार र कर्तव्य, स्वतन्त्रता र जिम्मेवारी तथा अनुशासन र आत्मसम्मानबीच सन्तुलन कायम गर्नु नै गुणस्तरीय शिक्षाको आधार हो।
शिक्षा एउटा गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको आवश्यकता एउटै हुँदैन। त्यसैले आज हामीले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमले पाँच वर्षपछि कस्तो परिणाम दिनेछ र १० वर्षपछि हाम्रो शिक्षा प्रणाली कहाँ पुग्नेछ भन्ने विषयमा अहिले नै गम्भीरतापूर्वक सोच्न आवश्यक छ। शिक्षा भनेको वर्तमानका लागि जनशक्ति तयार पार्ने माध्यम मात्र होइन, भविष्यका चुनौती सामना गर्न सक्ने सक्षम, विवेकी, नैतिकवान् र जिम्मेवार नागरिक निर्माण गर्ने प्रक्रिया पनि हो।
विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी प्रतिस्पर्धाका बीच हाम्रो शिक्षा प्रणालीलाई समयानुकूल परिमार्जन गर्नु अपरिहार्य छ। विद्यार्थीलाई एआईको त्रास देखाएर होइन, यसको सही प्रयोग गर्न सिकाएर भविष्यका लागि तयार पार्नुपर्छ। यसका लागि पूर्वीय दर्शनले जोड दिने नैतिकता, आत्मज्ञान, अनुशासन र मानवीय मूल्य तथा पश्चिमी दर्शनले महत्त्व दिने वैज्ञानिक सोच, आलोचनात्मक चिन्तन, सिर्जनशीलता र स्वतन्त्र विचारको सन्तुलित संयोजन आवश्यक छ।
अनुशासन आवश्यक छ, तर करकाप हुनु हुँदैन
विद्यालयमा अनुशासन आवश्यक छ भन्ने कुरामा दुईमत हुन सक्दैन। तर, अनुशासन कायम गर्ने नाममा विद्यार्थीमाथि अनावश्यक दबाब सिर्जना गर्नु, उनीहरूको आत्मसम्मानमा चोट पुर्याउनु वा मनोबल कमजोर बनाउनु उचित हुँदैन। अनुशासनको उद्देश्य विद्यार्थीलाई डराउनु होइन, जिम्मेवार, आत्मअनुशासित र कर्तव्यनिष्ठ बनाउनु हो।
सरकारको तर्फबाट व्यक्त गरिएको, ‘सरकार भनेको हजुरहरूकै हो नि ! हामीले कपाल नकाट्नुस् भनेकै छैन, करकाप नगर्नुस् भनेको हो। डीआई होइन, काउन्सिलर राख्नुस्’ भन्ने आशयलाई पनि यही सन्दर्भमा बुझ्न आवश्यक छ। यसको मूल मर्म विद्यार्थीलाई अनुशासनबाट मुक्त गर्नु नभई अनुशासनका नाममा गरिने अनावश्यक दबाबलाई निरुत्साहित गर्नु र विद्यार्थीको मनोवैज्ञानिक आवश्यकतालाई सम्बोधन गर्नु हो।
तर, यस्तो सन्देशको उद्देश्य र मर्म विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन सबैले समान रूपमा बुझ्न आवश्यक छ। करकाप नगर्नु भन्नुको अर्थ विद्यालयमा कुनै नियम नहुनु वा विद्यार्थीले आफूखुसी गर्न पाउनु होइन। त्यसैगरी अनुशासन कायम गर्नु भन्नुको अर्थ विद्यार्थीलाई डर, धम्की वा अपमानका माध्यमबाट नियन्त्रण गर्नु पनि होइन।
विद्यालयले कपाल, पोसाक, व्यवहार र संस्थागत मर्यादासम्बन्धी उचित नियम बनाउन सक्छन्। तर, ती नियम विद्यार्थीको उमेर, मनोविज्ञान, आत्मसम्मान र शैक्षिक हितलाई ध्यानमा राखेर लागू गरिनुपर्छ। विद्यार्थीलाई नियमको औचित्य बुझाएर पालना गर्न प्रेरित गर्नु प्रभावकारी हुन्छ; अनावश्यक करकापले भने विद्यालय र विद्यार्थीबीच दूरी बढाउन सक्छ।
विद्यार्थीले अभिभावक र शिक्षकको कुरा नसुन्ने बढ्दो चुनौती
आजको शैक्षिक क्षेत्रको अर्को महत्त्वपूर्ण चुनौती भनेको कतिपय विद्यार्थीले आफ्ना अभिभावकको उचित सल्लाह र निर्देशनलाई बेवास्ता गर्नु तथा शिक्षकले दिएको मार्गदर्शनलाई समेत सहज रूपमा स्वीकार नगर्नु हो। यसले परिवार र विद्यालय दुवैको जिम्मेवारीलाई थप जटिल बनाउँदै लगेको छ।
अभिभावकले आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि मार्गदर्शन गर्नु र शिक्षकले उनीहरूको शैक्षिक, नैतिक तथा सामाजिक विकासमा सहयोग गर्नु स्वाभाविक हो। तर जब विद्यार्थीले अभिभावक र शिक्षक दुवैका उचित सुझावलाई बेवास्ता गर्न थाल्छन्, तब उनीहरूलाई सही दिशा प्रदान गर्ने प्रक्रिया चुनौतीपूर्ण बन्न सक्छ।
यस्तो अवस्थालाई केवल विद्यार्थीको गल्ती भनेर पन्छाउनु पनि उचित हुँदैन। यसका पछाडि पुस्ताबीचको सोच र बुझाइमा देखिएको अन्तर, पारिवारिक वातावरण, साथीभाइको प्रभाव, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोग, संवादको कमी र विद्यार्थीको मनोवैज्ञानिक अवस्थाजस्ता विभिन्न कारण हुन सक्छन्।
यस विषयमा सबै पक्ष चनाखो हुन आवश्यक छ। विद्यार्थीले आफ्नो अधिकार र स्वतन्त्रताका बारेमा सचेत हुनु सकारात्मक कुरा हो। तर, अधिकारसँगै कर्तव्य पनि जोडिएको हुन्छ भन्ने कुरा बुझ्नु उत्तिकै महत्त्वपूर्ण छ। अभिभावकको उचित सल्लाहलाई सम्मान गर्नु, शिक्षकको मार्गदर्शनबाट सिक्नु, विद्यालयका न्यायोचित नियम पालना गर्नु र अरूको अधिकारको सम्मान गर्नु पनि विद्यार्थीको जिम्मेवारी हो।
यदि परिवारको उचित निर्देशन, शिक्षकको मार्गदर्शन र समाजका सकारात्मक मूल्यलाई निरन्तर बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गयो भने भविष्यमा सामाजिक अनुशासन, पारस्परिक सम्मान र जिम्मेवार नागरिक निर्माणका क्षेत्रमा चुनौती उत्पन्न हुन सक्छ। त्यसैले यसलाई विद्यार्थी वा विद्यालयको मात्र समस्या नभई समग्र समाजको चासो र साझा जिम्मेवारीका रूपमा लिनुपर्छ।
अनुशासन विद्यालयको मात्र जिम्मेवारी होइन
विद्यार्थीको व्यवहार र व्यक्तित्व निर्माणमा विद्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ। तर, विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विद्यालयभित्र मात्र निर्माण हुँदैन। घरपरिवार, समाज, साथीभाइ र डिजिटल वातावरणले पनि उनीहरूको सोच तथा व्यवहारमा प्रभाव पारिरहेका हुन्छन्।
विद्यालयले उचित नियम लागू गरे पनि घरमा त्यसको महत्त्वबारे चर्चा नहुने, अभिभावकले विद्यालयका नियमलाई बेवास्ता गर्ने वा विद्यार्थीको व्यवहार सुधार्ने सम्पूर्ण जिम्मेवारी शिक्षकलाई मात्र सुम्पिने हो भने अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुन्छ।
त्यसैले अभिभावकले आफ्ना छोराछोरीसँग नियमित संवाद गर्नुपर्छ, उनीहरूको समस्या सुन्नुपर्छ र उचित व्यवहारका विषयमा स्पष्ट मार्गदर्शन दिनुपर्छ। विद्यालयले पनि अभिभावकलाई केवल शुल्क बुझाउने वा परीक्षाको नतिजा बुझ्ने व्यक्तिका रूपमा नभई शैक्षिक साझेदारका रूपमा लिनुपर्छ।
विद्यालय र घरपरिवारबीच उचित समन्वय भएमा विद्यार्थीले दुवै ठाउँमा समान प्रकृतिका सकारात्मक सन्देश प्राप्त गर्न सक्छन्। नियम उल्लङ्घन हुँदा पनि आरोप–प्रत्यारोपमा उत्रिनुभन्दा समस्या के हो, किन उत्पन्न भयो र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नु आवश्यक हुन्छ।
विद्यार्थीलाई अनुशासन सिकाउने जिम्मेवारी परिवार र विद्यालयमा मात्र सीमित हुँदैन। समाजका अगुवा, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्ता तथा राज्यका सम्बन्धित निकायले पनि सकारात्मक व्यवहार, जिम्मेवारी र पारस्परिक सम्मानको संस्कृति विकास गर्न सहयोग गर्नुपर्छ।
सरकार, विद्यालय, शिक्षक र अभिभावकबीच साझा समझदारी आवश्यक
सरकारले शिक्षा क्षेत्रका लागि नीति तथा निर्देशन जारी गर्नु महत्त्वपूर्ण हो। तर, नीतिको प्रभावकारी कार्यान्वयनका लागि त्यसको उद्देश्य र मर्म विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकसम्म स्पष्ट रूपमा पुग्नुपर्छ।
सरकारले अनुशासनका नाममा करकाप नगर्न आग्रह गर्छ भने विद्यालयमा कस्ता नियम लागू गर्न सकिन्छ, विद्यार्थीको आत्मसम्मान कसरी जोगाउने, नियम उल्लङ्घन हुँदा कस्तो सुधारात्मक प्रक्रिया अपनाउने र परामर्शदाताको भूमिका के हुने भन्ने विषयमा स्पष्ट मार्गदर्शन आवश्यक हुन्छ।
विद्यालय व्यवस्थापनले पनि सरकारी निर्देशनलाई आफ्नो संस्थागत जिम्मेवारीसँग सन्तुलन मिलाउँदै कार्यान्वयन गर्नुपर्छ। शिक्षकलाई सकारात्मक अनुशासन, बालमनोविज्ञान, बालअधिकार र आधुनिक शिक्षण पद्धतिसम्बन्धी आवश्यक तालिम दिनुपर्छ। अभिभावकलाई पनि विद्यालयका नियम, विद्यार्थीका आवश्यकता र घरमा अपनाउनुपर्ने व्यवहारका विषयमा सचेत गराउनुपर्छ।
त्यसैगरी विद्यार्थीलाई आफ्ना अधिकार र कर्तव्यबारे जानकारी दिने, नियम निर्माण तथा कार्यान्वयनमा उनीहरूको उमेरअनुसार सहभागिता गराउने र अनुशासनको उद्देश्य बुझाउने अभ्यास आवश्यक छ। नियमको औचित्य बुझ्ने विद्यार्थीले त्यसलाई जिम्मेवारीपूर्वक पालना गर्ने सम्भावना बढी हुन्छ।
सरकार, विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीबीच नियमित संवाद तथा सहकार्यको वातावरण निर्माण गर्न सकेमा धेरै समस्या विवाद र दण्डबिना नै समाधान गर्न सकिन्छ।
अबको शिक्षा : नियन्त्रणभन्दा चेतना, डरभन्दा विश्वास
हामीले कस्तो शिक्षा चाहेका हौँ भन्ने प्रश्नको उत्तर खोज्नु आजको आवश्यकता हो। के हामी नियम पालना गर्ने तर प्रश्न गर्न डराउने विद्यार्थी तयार गर्न चाहन्छौँ, वा नियमको महत्त्व बुझ्ने, विवेकपूर्ण निर्णय गर्न सक्ने र आफ्नो जिम्मेवारी आफैँ निर्वाह गर्न सक्षम नागरिक निर्माण गर्न चाहन्छौँ ?
हाम्रो लक्ष्य दोस्रो हुनुपर्छ। यसको अर्थ अनुशासनलाई कमजोर बनाउनु होइन, अनुशासनलाई अझ अर्थपूर्ण, मानवीय र प्रभावकारी बनाउनु हो। स्वतन्त्रता र स्वच्छन्दताबीचको भिन्नता बुझाउनु, अधिकारसँगै कर्तव्यको महत्त्व सिकाउनु र अनुशासनलाई बाह्य दबाबभन्दा आन्तरिक चेतनासँग जोड्नु आवश्यक छ।
आगामी ५ र १० वर्षको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै प्रविधिमैत्री, मनोवैज्ञानिक रूपमा सुरक्षित, नैतिक मूल्यमा आधारित र सिर्जनशील शिक्षा प्रणाली विकास गर्नुपर्छ। विद्यार्थीलाई एआईको प्रयोग गर्न सिकाउनुका साथै तथ्यको परीक्षण गर्ने, आलोचनात्मक सोच राख्ने, नैतिक निर्णय लिने र मानवीय संवेदनशीलता कायम राख्ने क्षमता पनि विकास गराउनुपर्छ।
अन्ततः शिक्षा सुधारको जिम्मेवारी कुनै एक पक्षको मात्र होइन। सरकार नीति निर्माण र सहजीकरणमा, विद्यालय व्यवस्थापन संस्थागत नेतृत्वमा, शिक्षक शिक्षण तथा मार्गदर्शनमा, अभिभावक पारिवारिक वातावरण निर्माणमा र विद्यार्थी आफ्नो सिकाइ तथा व्यवहार सुधारमा जिम्मेवार हुनुपर्छ।
अनुशासन आवश्यक छ, तर करकाप आवश्यक छैन। स्वतन्त्रता आवश्यक छ, तर जिम्मेवारीविहीन स्वतन्त्रता होइन। विद्यार्थीको अधिकारको संरक्षण हुनुपर्छ, तर उनीहरूलाई आफ्नो कर्तव्यबाट विमुख हुन दिनु पनि हुँदैन।
हामी सबै सरोकारवालाले समयमै सचेत भएर साझा जिम्मेवारी निर्वाह गर्न सकेमा मात्र अनुशासित, आत्मविश्वासी, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्न सक्छौँ। आज विद्यार्थीको मनोबल जोगाउनु जति आवश्यक छ, उनीहरूलाई सही मार्गदर्शन दिनु पनि उत्तिकै आवश्यक छ।
त्यसैले अबको आवश्यकता विद्यार्थीलाई नियन्त्रण गर्ने प्रतिस्पर्धा होइन, उनीहरूलाई बुझ्ने, विश्वास गर्ने, जिम्मेवार बनाउने र सही बाटोमा अघि बढ्न सहकार्य गर्ने संस्कृतिको विकास गर्नु हो। यही सन्तुलित दृष्टिकोणले हाम्रो शिक्षा प्रणालीलाई वर्तमानका चुनौती सामना गर्न र भविष्यका अवसर उपयोग गर्न सक्षम बनाउनेछ।
प्रतिक्रिया 4