+
+
Shares

रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा

सानातिना गल्ती हुन्छन्, सच्याएर अघि बढ्छौं

‘जनता पुरानो व्यवस्थासँग रुष्ट थिए, तर भरपर्दो विकल्प थिएन। जब बालेन शाह र रवि लामिछानेको नेतृत्वमा रास्वपा अघि बढ्यो, जनताले त्यसलाई पत्याए,’ वाग्लेले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा युवा असन्तुष्टि र जेनजी आन्दोलनलाई लोकतान्त्रिक विधिबाट व्यवस्थापन गरिएको बताए।
  • नयाँदिल्लीको एनडीटीभी वर्ल्ड समिट २०२६ मा उनले रास्वपाले सडकको विद्रोहलाई शान्तिपूर्ण चुनावमार्फत सत्ताको नेतृत्वमा पुर्‍याएको दाबी गरे।
  • वाग्लेले ६ महिनामा सरकारमा भ्रष्टाचारको दाग नलागेको र संविधानभित्रै प्रणालीगत सुधार तथा युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए।

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा युवा पुस्ताको असन्तुष्टि र जेनजी आन्दोलनलाई अराजकतामा जान नदिई लोकतान्त्रिक विधिबाटै व्यवस्थापन गरिएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले सडकको विद्रोहलाई शान्तिपूर्ण चुनावमार्फत सत्ताको नेतृत्वमा पुर्‍याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सफल भएको दाबी गरेका हुन् ।

‘सडकको विद्रोहदेखि सत्तासम्म’ शीर्षकको सत्रमा अर्थमन्त्री वाग्लेले नेपाल दक्षिण एसियाकै सबैभन्दा कान्छो जनसाङ्ख्यिक बनोट भएको देश रहेको उल्लेख गर्दै आधाभन्दा बढी जनसङ्ख्या ३० वर्षमुनिको रहेको तथ्य प्रस्तुत गरे ।

स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएका डिजिटल नेटिभ युवाहरू परम्परागत राजनीतिक अवस्थासँग रुष्ट रहेको उनको भनाइ थियो ।

‘हामी अत्यन्तै आशालाग्दो बहुदलीय लोकतन्त्रबाट एउटा घिनलाग्दो क्लिप्टोक्रेसी (भ्रष्टहरूको शासन) मा परिणत भएका थियौँ,’ पुराना दलहरूको आलोपालो र सत्ता स्वार्थप्रति लक्षित गर्दै उनले भने, ‘युवाहरू पुरानो सत्तासँग वाक्कदिक्क भइसकेका थिए ।’

सामाजिक सञ्जाल प्रतिबन्धलगायतका विषयलाई लिएर भएको सडक प्रदर्शन र १९ जना युवाको ज्यान जाने गरी भएको दुखद घटनाले पुरानो सत्ताको अन्त्य गरेको उनले स्मरण गरे ।

सडक आन्दोलनपछिको ६ महिना पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सङ्क्रमणकालीन सरकार बनेको र त्यसले नेपालको इतिहासमै सबैभन्दा निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएको डा. वाग्लेले बताए ।

रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहबीचको गठजोडले पुराना दलहरूको विकल्प खोजिरहेका जनतामा एक प्रकारको ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा गरेको उनको भनाइ छ ।

‘जनता पुरानो व्यवस्थासँग रुष्ट थिए, तर भरपर्दो विकल्प थिएन। जब बालेन शाह र रवि लामिछानेको नेतृत्वमा रास्वपा अघि बढ्यो, जनताले त्यसलाई पत्याए,’ रास्वपाका उपासभापतिसमेत रहेका वाग्लेले भने । सोही जनादेशका कारण अहिले तल्लो सदनमा पार्टीको झन्डै दुई-तिहाइ बहुमत रहेको र संघीय सरकारका १७ वटा मन्त्रालयको नेतृत्व सम्हालिरहेको उनले जानकारी दिए ।

विश्वका अन्य देशहरूमा भइरहेका युवा आन्दोलन र नेपालको अवस्थाबीच तुलना गर्दै वाग्लेले नेपालको जेनजी आन्दोलनले सुरक्षित र शालीन अवतरण गरेको दाबी गरे । सडकको क्षणिक क्रोध र असन्तुष्टिलाई पार्टी संरचना र लोकतान्त्रिक ढाँचाभित्र संस्थागत गर्न सक्नु नै नेपालको सफलता भएको उनको तर्क छ ।

‘अराजकता र हिंसाको बाटो रोज्दा जनताको समर्थन गुम्छ,’ विश्वभरका युवा पुस्तालाई सुझाव दिँदै उनले भने, ‘जतिसुकै असन्तुष्टि भए पनि परिवर्तनको अन्तिम विकल्प र लोकप्रियताको कसी भनेको शान्तिपूर्ण मतदान नै हो ।’

विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारको कामकारबाहीबारे बोल्दै डा. वाग्लेले ६ महिनाको अवधिमा भ्रष्टाचारको एउटा पनि दाग नलागेको दाबी गरे ।

‘हामीसँग परम्परागत राजनीतिज्ञहरू जस्तो सरकार सञ्चालनको लामो अनुभव नहोला र कहिलेकाहीँ सानातिना गल्ती पनि हुन सक्छन्, तर हामीमा अहंकार छैन, गल्ती सच्याएर अघि बढ्छौँ,’ उनले भने ।

शून्य सहनशीलताको नीति अपनाउँदै सुशासन र इमानदारीका साथ काम गरिरहेकाले नै विषम अन्तर्राष्ट्रिय परिस्थिति र हालैको महाविपद्का बाबजुद जनताले सरकारलाई निरन्तर साथ दिइरहेको उनले स्पष्ट पारे ।

विद्यमान संविधानलाई नै टेकेर प्रणालीगत सुधार र युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको मुख्य लक्ष्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?