News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यमनमा बढ्दो द्वन्द्व र साउदीमाथि हुथी आक्रमणका बीच संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्।
- युरोपेली संसद्ले हुथी आन्दोलनलाई आतङ्कवादी सूचीमा राख्न आग्रह गर्दै त्यसका राजनीतिक र सैन्य संरचना, स्रोत र सहयोगीको सम्पत्ति रोक्का गर्न आह्वान गरेको छ।
- यमनको विदेश मन्त्रालयले उक्त प्रस्तावको स्वागत गर्दै नागरिक सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमनका लागि महत्त्वपूर्ण कदम भनेको छ।
६ कात्तिक, काठमाडौं । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिए ।
यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ (इयु) को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयले यसलाई नागरिकको सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भनेको छ ।
बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र मानवीय कानूनको उल्लङ्घन भन्दै त्यसबाट यमनी नागरिकको मृत्यु तथा विस्थापन बढेको र मानवीय सङ्कट गम्भीर बनेको उल्लेख गरेको छ । संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्सविरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ ।
इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो । साथै, आन्दोलनको आर्थिक स्रोत रोक्न र त्यसलाई सहयोग गर्ने पक्षका कोष तथा सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ ।
यसैबीच, इराकले साउदी अरबमाथिका आक्रमणको निन्दा गर्दै आफ्नो भूभाग कुनै पनि पक्षले आक्रमणका लागि प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । अल जजिराका अनुसार इराकका विदेशमन्त्री फुआद हुसेनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरी आक्रमण र त्यसबाट नागरिक तथा सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको निन्दा गरेको साउदी विदेश मन्त्रालयले जनाएको छ । रासस/एएनआई
प्रतिक्रिया 4