+
+
Shares

मुख्यमन्त्रीले विरोध गरे, सत्तारुढ दलले संविधान नै जलायो

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३ गते २०:४०

३ असोज, जनकपुरधाम । संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको सम्झनामा शुक्रबार देशभर कार्यक्रम भयो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि जनप्रतिनिधिलाई समेत संविधान दिवसको कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ रहृयो ।

तर प्रदेश २ को अवस्था फरक रहृयो । सरकारी कर्मचारीले संविधान दिवसको अवसरमा प्रभातफेरी गरेर औपचारिकता निभाए । मन्त्रीहरु कालो दिन भन्दै विरोध कार्यक्रममा सहभागी भए । मुख्यमन्त्रीले विरोध गरे । अनि सत्तारुढ दलका कार्यकर्ताले नै संविधान जलाए ।

मुख्यमन्त्रीको विरोध

संविधान दिवस मूल समारोह समितिको कार्यक्रममा सहभागी नभएका मुख्यमत्री लालबाबु राउत गैरसरकारी संस्था र आफ्नो पार्टीको संविधानसम्बन्धी कार्यक्रममा भने सहभागी भए ।

समाजवादी पार्टीले आयोजना गरेको संविधान संशोधनको अपरिहार्यतासम्बन्धी कार्यक्रममा राउतले राउतले संघीयता, गणतन्त्र, मौलिक हक, समानुपातिक समावेशीता, प्रेस स्वतन्त्रता लगायतका राम्रा पक्ष पनि रहेको बताए । ‘संविधान तहत हाम्रो पार्टी प्रदेश सरकार र संघीय सरकारमा पनि छ’ मुुख्यमन्त्री राउतले भनेका छन् ।

संविधान संशोधनका लागि दबाव दिन नै आफ्नो पार्टीमा सरकारमा गएको उनले बताए ।

अर्काे कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकार संविधान संशोधन गर्न नचाहेको बताए । बरु संविधानले दिएका सिमित अधिकार पनि कटौती गर्नेतर्फ संघीय सरकार लागिपरेको बताए । प्रदेश सरकारले ल्याएको ल्याएको प्रहरी ऐनलाई कमजोर बनाउन संघीय सरकारले विधेयक ल्याएको भन्दै उनले भने, ‘यो प्रदेशको थप अधिकार खोस्ने चाल मात्रै हो ।’

सत्तारुढ दलले जलायो संविधान

सत्तारुढ घटक राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता कार्यकर्ताले जनकपुरधाममा संविधान जलाएका हुन् । ‘अधिकारबिहीन संविधान चाहिँदैन’ भन्दै जनकचोकमा नेपालको संविधान २०७२ को किताब जलाएका हुन् ।

यो कार्यक्रममा प्रदेश २ सरकारमा सहभागी भएका राजपाका मन्त्रीहरु पनि सहभागी भएका थिए । तर संविधान जलाउँदा भने उनीहरु कार्यक्रम स्थलबाट गइसकेका थिए ।

विरोध कार्यक्रममा राजपाका नेताहरुले संशोधन नभएसम्म संविधानलाई कुनै पनि हालतमा नमान्ने बताए । संविधान अहिले पनि सर्वस्वीकार्य हुन नसकेको भन्दै यथास्थितिमा प्रत्येक असोज ३ लाई कालो दिवसको रुपमा मानिरहने बताए ।

कार्यक्रममा राजपा नेता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संविधान संशोधन गर्न राज्यपक्षको दिमाग संशोधन गराउनु पर्नेमा जोड दिए ।

असोज ३ लाई कालो दिन मान्नेहरुको राष्ट्रिय आन्दोलन बन्दै गएको भन्दै उनले जुम्लामा पनि बिरोध कार्यक्रम हुनुले यसको पुष्टि गरेको बताए । संशोधन नगरे यो सविधानको अविगत पनि २०४६ सालको जस्तै हुुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?