Comments Add Comment

दशैंमा घर छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गर्नुस्

कुनै अपराध भए नाकाबन्दी गर्न २५ टोली तैनाथ

Photo Credit : अनलाइनखबर फाइल

५ असोज, काठमाडौं । प्रहरीले नजिकिँदै गरेको वडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित काठमाडौं प्रहरी परिसरले सुरक्षा योजना लागू गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार सामान्य अवस्थामा हत्या, अपरहण, ठगी, चोरी, महलिा हिंसा जस्ता आपारधिक गतिविधि हुन्छन् ।

तर, चाडपर्व जस्ता विशेष अवस्थामा कुटपिट, चोरी, डकैती, पाकेटमारी, स्न्याचिङ, लुटपाट, जुवा, अवैध मदिरा विक्री वितरण, आगजनी, विष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघन जस्ता अपराध हुनसक्ने उनले बताए ।

त्यसलाई लक्षित गरेर जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने योजना रहेको उनले बताए । उनका अनुसार विभिन्न क्षेत्रमा आकस्मिक चेकजाँच र सतर्कतालाई जोड दिइनेछ ।

सार्वजनिक स्थानमा कडा सुरक्षा

काठमाडौं प्रहरीले सर्वसाधारणलाई घर छाडेर जाँदा छिमेक वा प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ । साथै, कतै शंकित वस्तु देखा परे तत्काल १०० मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

प्रहरीले चाडवाडलाई लक्षित गरेर सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, वित्तिय संस्था, यातायात सञ्चालन हुने स्थान, व्यपारिक कारोबार हुने स्थान, सरकारी कार्यालय, काठमाडौं प्रवेश गर्ने नाका लगायतमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर, गुम्बा, होटल, गेस्ट हाउस, राजमार्ग तथा ग्रामिण वस्ती र भीआईपीको आवतजावत हुने क्षेत्रमा पनि विशेष सुरक्षा अपनाइएको छ ।

राजधानीका १४ क्षेत्रमा ६० पैदल गस्ती टोली

प्रहरीका अनुसार चाडपर्वलाई लक्षित गरेर काठमाडौंको भू-भागलाई १४ क्षेत्रमा विभाजन गरिएको छ । जसअनुसार ६० वटा पैदल गस्ती समूह, ६७ वटा स्थायी पिकेट, २५ वटा साइकल गस्ती टोली, ५३ वटा मोटरसाइकल गस्ती टोली र ४३ सीआरभी, ४८ मोबाइल गस्ती टोली पनि परिचालन गरिएको छ ।

प्रहरीले सूचना संकलनका लागि सादा पोशाकमा ७० जना प्रहरीलाई खटाउने पनि तयारी गरेको छ । प्रहरीले ‘सिल एण्ड सर्च अपरेशन’का लाग ३०, ‘कडन एण्ड सर्च’का लागि ३०, एम्बुसिङ र निगरानीका लागि ३० र नाकाको सुरक्षाका लागि ७ वटा टोलीलाई कुकुरसहित राखेको छ ।

कुनै घटना भए तत्काल परिचालन गरेर नाकाबन्दी गर्नका लागि पनि प्रहरीले २५ वटा टोली सिनियर प्रहरी अधिकृतको कमाण्डमा तत्काल परिचालन गर्ने गरी तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment