Comments Add Comment

सुशिल भन्छन्–‘फिल्म असफल हुँदा डिप्रेशन नै भएको थियो’

आफ्नै शैलीको जीवनमा रमाइरहेका सुशिल श्रेष्ठलाई चलचित्र निर्माता सुनिल रावलको फोन आयो । फोनमा सुनिलले सुशिललाई ‘हिरो’ बन्न अफर गरे । सुशिल एकछिन अकमक्क परे । हिरो बन्ने सपना बोकेका सुशिललाई अप्रत्यासित रुपमा हिरो बन्ने अफर आएको थियो । खुसीको सिमा थिएन ।

सुशिलले सुनिललाई भेटे । सुशिलले सफल चलचित्र ’होस्टेल’को सिक्वेल चलचित्र ‘होस्टेल रिटन्र्स’मा काम गर्ने अवसर पाए । सफल चलचित्रको सिक्वेलमा काम गर्ने भएपछि सुशिल पनि दंग थिए । चलचित्र ‘होस्टेल रिटन्र्स’बाट सुशिलको धेरै चर्चा भयो । उनको लुक्स र सुगठित शरीरको निकै प्रशंसा भएको थियो । सुशिललाई यो चलचित्रबाट सम्भावना बोकेको नायकको रुपमा हेरिएको थियो ।

सुशिल आफूलाई यो चलचित्रले सोचेभन्दा बढी सफलता दिएको बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने– ‘सोचेको थिइन कि यति धेरै सफल हुन्छु भनेर । उक्त चलचित्रले कहाँको मान्छेलाई कहाँ पुर्याइदियो ।’

सुशिल दंग थिए । यस्तैमा दोस्रो चलचित्र पनि पाइहाले । सुनिल रावलकै ‘सायद २’ । पहिलो चलचित्रको भन्दा राम्रो गर्नुपर्ने चुनौती बोकेर सुशिल अभिनय सिक्न तिर लागे । केही समय अभिनय सिके र ‘सायद २’ मा काम गरे ।

रिलिजको हिसाबमा ‘कारखाना’ उनको दोस्रो चलचित्र बन्यो । तर, यसै चलचित्रले उनलाई नराम्रोसँग पछार्यो । आशा ‘सायद २’मा अड्किएको थियो । तर, उक्त चलचित्रबाट पनि सुशिलले सफलता पाएनन् ।
लगातार दुई चलचित्र असफल भएपछि सुशिल निकै दुःखी भए । उनका लागि करिअर नै सकिएको हो कि भन्ने जस्तो भयो । चारैतिर, असफलताले घेर्दा उनलाई चलचित्र करिअर अब के हुन्छ भन्ने छटपटी थियो । चलचित्र क्षेत्र नै आफ्नो लागि होइन भन्ने सोच उनको दिमागमा आइसकेको थियो । चलचित्रमा काम गर्ने मन मरिसकेको थियो ।

सुशिल भन्छन्–‘बिस्तारै भर्याङ चडेको भए ओर्लिन सजिलो हुन्थ्यो होला । म त पहिलो चलचित्रबाट नै माथि पुगेको थिएँ । एक्कासी धरहराबाट खसे जस्तो भयो । गाली सुनी सुनी काम गर्ने मन थिएन ।’

त्यसै समय सुशिललाई नयाँ चलचिबाट अफर आयो । चिनजानको व्यक्ति साहिल खानले उनलाई चलचित्र ’लभ डायरिज’का लागि अफर गरेका थिए । सुरुमा उनले नकारे । तर, साहिल रिसाएपछि चलचित्रको स्क्रिप्ट पढे र काम गर्न तयार भए । सुशिल भन्छन्–‘केही समय काम गर्दिन भनेको उहाँहरु रिसाउनु भयो । त्यसैले काम गरे ।’

उक्त चलचित्रको सुटिङ सकेर काठमाण्डौं फर्किने बित्तिकै सुशिललाई अर्को फोन आयो । फोन थियो, ‘बादशाह जुट’ निर्देशक जोनी सिंंहको । उनले सुशिललाई चलचित्रका लागि अफर गरे । सुशिलले स्क्रिप्ट पढे । चित्त बुझ्यो र काम गर्न तयार भए ।

सुशिल भन्छन्–‘काम गर्दिन भनेर बसेको मलाई ‘लभ डायरिज’ले फेरि चलचित्रको किरा शरीरमा छिराइदिसकेको थियो । त्यही माथि ‘बादशाह जुट’को स्क्रिप्टमा आफूलाई बिल्कुलै भिन्न अवतारमा प्रस्तुत गर्ने मौका पाएको थिएँ । त्यसैले पनि काम गर्न तयार भएँ ।’

सुशिल अभिनित ‘बादशाह जुट’ कात्तिकको १५ गतेबाट रिलिज हुदैँछ । चलचित्रलाई लिएर सुशिल निकै आशावादी छन् । चलचित्रमा निकै मिहिनेत गरेको सुशिल बताउँछन् । उनले भने–‘मलाई चलचित्रमा शरीर देखाउन धेरै अफरहरु आए । तर, यो चलचित्रले भने मलाई निकै साधारण तरिकामा प्रस्तुत गरेको छ । यो चलचित्रको लागि मैले १२ केजी तौल पनि घटाएको छु ।’

चलचित्रमा सुशिलले पत्रकारको भूमिका निर्वाह गरेका छन् । भूमिकाबारे सुशिल भन्छन्–‘एउटा यस्तो पत्रकार जो समचारको खोजीमा छ । जसरी भएपनि ब्रेकिङ न्युज दिनुछ । राम्रो काम गरेर सबैमाझ चिनिनु छ । चलचित्रमा मेरो भूमिका यस्तै नै हो ।’

चलचित्र सफल वा असफल हुनुमा कलाकारको मात्र हात हुँदैन । तर, अब भने चलचित्र असफल भएपनि निरन्तर रुपमा यही क्षेत्रमा नै काम गर्ने सुशिलको योजना छ । उनी भन्छन्–‘दुई चलचित्र रिलिजको तयारीमा छन् । यी दुई चलचित्रबाट दर्शकको प्रतिक्रिया के हुन्छ त्यो बुझ्छु । धेरै प्रतिक्रिया राम्रो आयो भने निरन्तर काम गर्नेछु । यदि धेरै नराम्रो आयो भने दर्शकले मन नपराई–नपराई काम गर्ने मन छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment