+
+
Shares

‘मानसिक रोग शब्द नै कलंकित भयो’

मानसिक अस्पतालभित्र त भो !

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते ९:०५

डा. मोहनराज श्रेष्ठ(लाखे) ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा १७ वर्षदेखि कार्यरत छन् । उनको पेशा अन्य चिकित्सकको भन्दा विशिष्ट र भिन्न पनि छ । अरुले मान्छेको देखिने दुखाइको उपचार गर्छन् भने उनले झट्ट हेर्दा नदेखिने रोग र समस्याको उपचार गर्नुपर्छ । तर, समाजमा उनको त्यो विशिष्ट कार्यप्रति हुने व्यवहारबाट भने उनी चिन्तित छन् ।

स्वभावैले यो अस्पताल अरु अस्पतालभन्दा भिन्न छ । साथमा मानिसको दृष्टिकोण पनि यो अस्पतालप्रति राम्रो हुने गरेको छैन । श्रेष्ठ भन्छन्, ‘१७ वर्षदेखि काम गरिरहेको मलाई भेट्न आउने आफन्त र साथीभाइहरु समेत यो अस्पतालको गेटमा आएपछि कसैले देख्छ कि भनेर चारैतिर हेरेर मात्रै छिर्छन् । मलाई यसमा साह्रै दुःख लाग्छ ।’

सुरु सुरुमा त श्रेष्ठलाई पनि यो अस्पतालमा कार्यरत छु भन्न केही संकोच लाग्थ्यो । तर, अहिले आफूले आफैंलाई गर्व गर्दछन् । श्रेष्ठ भन्छन्- उपचारको लागि सबैभन्दा धेरै खर्च लाग्ने १० रोगहरुको सूची तयार पार्ने हो भने त्यसमा ५ वटा रोग त मानसिक रोग नै हुन्छ । यो तत्काल नभएर दीर्घकालसम्म नोक्सानी गरिरहने रोग हो । तर, यही रोगको उपचारका लागि मान्छेहरु यति धेरै संकोच मान्छन् कि उनीहरु यही अस्पतालमा आएपछि पनि ममा मानसिक समस्या छ भन्न धक मान्छन् ।

अस्पतालमै बबाल, सम्हाल्नै गाह्रो

अहिले श्रेष्ठलाई त्यो अस्पतालमा काम गर्न संकोच लाग्न त छाडेको छ । तर, बिरामीको स्याहार सुसार र उनीहरुलाई औषधिउपचार गर्न भने साह्रै कठिन हुने उनी सुनाउँछन् । मानसिक रुपमा विक्षिप्त व्यक्तिलाई सम्हाल्नु कति कठिन छ भन्ने कुरा श्रेष्ठले शव्दमा बयान गर्न सक्दैनन् । उनी भन्छन्, ‘शारीरिक रुपमा बिरामी भएकाहरुलाई एकपटक त्यो गर्नु हुँदैन भनेपनि राम्रोसँग बुझ्छन् । समयमा औषधि खानेबारेमा शारीरिक समस्या भएका व्यक्तिहरु सचेत हुन्छन् । तर, मानसिक रोगीहरु आफूलाई रोगी नै सम्झँदैनन् । त्यसैले हामीहरुका लागि सबैभन्दा कठिन काम त्यही नै हो ।’

मानसिक अस्पतालका चिकित्सकहरुले थोरै भएपनि मनोवैज्ञानिक ज्ञान लिएका हुन्छन् । ताकि बिरामीको चाहनाअनुसार व्यवहार गर्न सकियोस् । कहिलेकाहीँ बिरामीले भनेअनुसारको व्यवहार गर्न नसक्दा अस्पतालमै बबाल हुने गरेको अनुभव श्रेष्ठसँग छ । त्यसैले मनोचिकित्सकहरुलाई सबैभन्दा पहिलो कुरा उनीहरुले भनेको कुरालाई स्वीकार गर्नुपर्छ । ‘मानसिक रोग लागेका मानिसहरुमा आवश्यकताभन्दा धेरै आत्मविश्वास कायम भएको हुन्छ । त्यसैले उनीहरु आफूभन्दा जान्ने र आफूभन्दा ठूलो कोही पनि छैन भन्ने भानमा हुन्छन्,’ श्रेष्ठ भन्छन्, ‘उनीहरुले भनेको यही कुरालाई अस्वीकार गरियो भने महाभारत सुरु हुन्छ ।

साइकोसिस भएकाहरुले भरिन्छन् शय्या

देशकै एकमात्र अस्पतालमा अहिले अन्तरंग उपचारको लागि जम्मा ५० शैया छ । दशैंको समयमा केही शय्या खाली भएपनि अरु समयमा मानसिक बिरामीहरुले खचाखच हुन्छ । भर्ना भएकामध्ये ९० प्रतिशत बिरामीहरु साइकोसिस भएकाहरु हुन्छन् ।

श्रेष्ठ भन्छन्, ‘साइकोसिस भएपछि बिरामीले हाम्रो संस्कृतिले गर्न नदिने कुराहरु गर्छन् । त्यसैले यो अवस्थाका बिरामीहरुलाई सम्हाल्न नै मुस्किल हुन्छ ।’ श्रेष्ठका अनुसार यो रोग लागेका मानिसहरुले आफूले लगाएको कपडा जथाभावी खोल्ने, कोही मानिस आयो भने उसले आफूलाई मार्न आएको भनेर भयभीत हुने । आफ्नो श्रीमती वा श्रीमानलाई अर्कैलेे भगाएर लग्यो भन्ने जस्ता व्यवहार देखाउँछन् । उनीहरुमा अरु सामान्य व्यवहार हुन्छ । तर, एक्कासी यस्ता कामहरु गर्दा सामान्य मानिसलाई पाच्य हुँदैन । विशेषगरी साइकोसिस भएका बिरामीहरुलाई आफू बिरामी भएको अनुभव नै हुँदैन । उनीहरु आफूलाई केही पनि नभएको सुनाउँछन् । त्यस्ता बिरामीहरुलाई औषधि खुवाउनै समस्या हुने उनी बताउँछन् ।

तेस्रो रोजाइमा मानसिक अस्पताल, अधिकांश बिरामी २० देखि ४० वर्षका

मानसिक रोगीहरुका लागि यो विशिष्ठ किसिमको अस्पताल भएपनि हाम्रो समाजमा मानसिक रोगप्रति गरिने हेयको भावले गर्दा यो मानिसको रोजाइमा पर्न सकेको छैन । सरकारले कम्युनिटी मेन्टल हेल्थको अवधारणा ल्याएपछि अहिले सबै अञ्चल अस्पताल र केन्द्रीय अस्पतालमा एउटा मानसिक रोगसम्बन्धी विभाग नै खडा गर्नुपर्ने व्यवस्था ल्याएको छ । साथमा गाउँगाउँमा पुग्ने स्वास्थ्य स्वयंसेविकाहरुमा पनि मानसिक रोगीहरुलाई गरिने सामान्य उपचारको विषयमा तालिम दिने गरिएको छ । अर्काेतर्फ अहिले हरेक मेडिकल कलेजमा साइक्यासि्ट्रकहरु राख्न थालिएको छ ।

श्रेष्ठ भन्छन्, ‘यही कारणले मान्छेहरु सबैभन्दा पहिले कम्युनिटी हेल्थ क्याम्पमा जान्छन् । त्यहाँबाट उपचार नभएमा जिल्ला वा केन्द्रीय अस्पतालमा जान्छन् । अन्तिममा रोग निकै जटिल भएपछि पनि संकोच मान्दै मानसिक अस्पतालमा आउँछन् ।’

‘मेरो अनुभवले बोल्दैछु बुझेको मानिस मानसिक अस्पताल आउने गरेका छैनन् । बरु मानसिक अस्पतालसँगै रहेको पाटन अस्पताल जान्छन् । तर, यो गेटबाट छिर्न धेरैलाई लाज लाग्छ ।’

उपचारका लागि मानसिक अस्पतालमा आउने बिरामीहरुमध्ये अधिकांश २० देखि ४० वर्ष बीचका छन् । केही समयअघि अस्पतालले अद्यावधिक गरेको तथ्यांक विश्लेषण गर्दा २० देखि ४० वर्ष उमेर समूहका बिरामीहरु कूल बिरामी संख्याको ८० प्रतिशत छ । यसमध्ये ३५ वर्षभन्दा माथिका व्यक्तिहरु धेरै डिप्रेसनको शिकार भएको पाइएको छ ।

करेन्ट लगाउन छाडियो मानसिक बिरामीलाई

कुनै मानसिक बिरामीहरु यति धेरै जटिल स्वभावका हुन्छन् कि उनीहरुलाई औषधिले मात्रै नियन्त्रणमा लिन सकिँदैन । मानसिक बिरामीहरुले बितण्डा मच्चाउन लागे भने उनीहरुलाई नियन्त्रणमा लिनको लागि अनेक उपायहरु हुन्छन् ।

पहिलो चरणमा उनीहरुलाई निदाउने औषधि दिइन्छ । त्यतिले पुगेन भने उनीहरुलाई बेहोस गराउने सुई लगाइन्छ । त्यो अवस्थामा पनि उनीहरुलाई नियन्त्रणमा लिन सकिएन भने दिमागमा लगाउने एक किसिमको करेन्ट हुन्छ, त्यो लगाउने गरिन्छ । करेन्ट लगाउनु अमानवीय भएको र त्यसका लागि नेपालमा पर्याप्त उपकरणहरु पनि नभएकाले नियमित यस्तो उपचारबिधि अपनाउने गरिएको छैन ।

उहिले-उहिले मानसिक बिरामीहरुलाई बन्दी गृहमा बाँधेर राखिन्थ्यो । किनभने त्यो समयमा उपचार बिधि केही थिएन । मानसिक रुपमा विक्षिप्त व्यक्तिहरुले अरुलाई हानी नपुर्‍याउन् भन्नको लागि यस्तो गरिन्थ्यो । अहिले मानव अधिकारको सवाल उठेपछि त्यस्ता बिरामीहरुलाई बाँधेर राख्न छाडियो र उपचार गराउन थालियो । सन् १९५० तिर पहिलोपटक एन्टीसाइकोटिक विकास भएपछि उनीहरुलाई पनि मानसिक अस्पतालको अवधारणाअनुसार उपचार गराउन थालियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?