Comments Add Comment

नेकपाको चियापान : भीआईपीलाई छुट्टै निमन्त्रणा, छुट्टै मञ्च

‘कांग्रेसको भन्दा कमजोर ब्यवस्थापन’

२९ असोज, काठमाडौं । एउटै कार्यक्रम, स्वागतमा एकै पात्र तर, दुई वटा फरकफरक मञ्च । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापन कार्यक्रममा देखिएको दृश्य हो यो ।

दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा चियापन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई दुई भागमा बाँडिएको थियो र समय पनि छुट्टाछुट्टै । पहिलो कार्यक्रम मध्यान्ह १२ बजेलाई राखिएको थियो, भने दोस्रो कार्यक्रम दिउँसो ३ बजे ।

पहिलो कार्यक्रम नेता कार्यकर्ता र आमनागरिकलाई स्वागत गर्ने तथा दोस्रो कार्यक्रमा भीआईपी (राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सेवा निवृत पदाधिकारीहरु, अन्य विशिष्ट व्यक्तिहरु) का तय गरिएको थियो ।

भृकुटीमण्डप प्रवेश गर्ने वित्तिकै एउटा मञ्च थियो । जहाँ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गरे र नेता/कार्यकर्तालाई स्वागत गरे ।

शुभकामना मन्तब्य राखेपछि अध्यक्षद्धयले केहीबेर नेता/कार्यक्रतासँग हात मिलाएर शुभकामना आदनप्रदान गरे ।

अध्यक्षद्धय हिँडेपछि केहीबेर नेकपाका नेताहरु बामदेव गौतम, झलनाथ खनाल, माधव कुमार नेपाल, सुवास नेम्वाङ, रामबहादुर थापा लगायतले नेताहरुले कार्यक्रममा सहभागी हुन पुगेकाहरुसँग हात मिलाएर शुभकामना आदनप्रदान गरे ।

पहिलो कार्यक्रमको स्वागतका लागि मञ्चमा बस्ने अनुहारहरु फेरिनेक्रम पनि चल्यो । संसदीय दलका उपनेता नेम्वाङ भने सुरुदेखि अन्त्यसम्मै स्वागतमा खटिए ।

भीआईपीलाई छुट्टै मञ्च, छुट्टै निमन्त्रणा

नेकपाको चियापानमा भीआईपीलाई छुट्टै मञ्च तयार गरिएको थियो, जहाँ प्रवेश गर्नमा कडाइ गरिएको थियो । पहिलो कार्यक्रम सकाएर दिउँसो ३ बजे अर्को कार्यक्रम राखिएको थियो ।

३ बज्नु अघि पत्रकार र केही नेता, कार्यकता तथा बुद्धिजिवीहरु भीआईपीलाई बनाइएको मञ्च परिसरमा प्रवेश गरे । केही बेरमै मञ्चबाट माइकिङ गरियो–भीआईपीका लागि राखिएको ठाउँ (मञ्च भन्दा तल एका छेउमा कुर्सीहरु राखिएको ठाउँ) खाली गरिदिनुहुन अनुरोध गर्दछु । भीआईपी कार्यक्रम सुरु भएको छैन । स्वमसेवक कमाण्डरहरु ठाउँ खाली गरिदिनुस् ।’

स्वमसेवक कमाण्डरहरुले पत्रकार भए मञ्च अगाडि जान र अरु भए बाहिर गइदिन आग्रह गरे । एक जना बोले, ‘म बुद्धिजीवी हुँ ।’

स्वमसेवक कमाण्डरले जवाफ फर्काए, ‘यहाँ केन्द्रीय नेताहरुलाई बस्न दिइएको छैन । तपाईं जो भएपनि गइदिनुस् ।’ त्यसपछि उनी मञ्चबाट बाहिरिए ।

कार्यक्रमलाई ब्यवस्थित बनाउन दुई खाले मञ्च र दुई समय तय गरिएको नेकपा नेताहरुको प्रतिक्रिया छ । तर दुबै मञ्चमा नेकपाका उही नेताहरु देखिए ।

तर पहिलो कार्यक्रम सकाएर निस्किएका नेकपाका अध्यक्ष प्रचण्ड भने फर्किएनन् । कारण–उनी पहिलो कार्यक्रम सकाएर चितवन हिँडे । चितवन गएका कारण प्रचण्ड भीआईपीलाई स्वागत गर्न जान नभ्याएको उनको सचिवालयले जनाएको छ ।

भीआइपीलाई मञ्च मात्रै छुट्टै नभएर निमन्त्रणा कार्ड नै पनि छुट्टै पठाइएको थियो ।

‘कमजोर ब्यवस्थापन’

केही दिन अघि मात्रै नेपाली कांग्रेसले यस्तै चियापन कार्यक्रम गरेको थियो । त्यहाँ पुगेका नेकपाका नेताहरुले कार्यक्रम ब्यवस्थापन राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले कार्यक्रम ब्यवस्थापन गर्न कांग्रेसले नेकपाबाट सिकेको समेत बताएका थिए । तर, बुधबारको नेकपाकै चियापान कार्यक्रम भने बरिष्ठ नेता नेपालले भने जस्तो सिक्न लायक थिएन ।

कांग्रेसको चियापन कार्यक्रममा छिर्दा एउटै बाटो थियो । बाटोमा नेता, कार्यकर्ता लाइन लागेर बसेका थिए । कार्यक्रममा पुग्नेहरु उनीहरुसँग शुभकामना साटासाट गर्दै जान्थे र अन्तिममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका ठूला नेताहरुले स्वागत गर्थे । स्वागत लगत्तै अतिथि बस्ने ठाउँ थियो र नजिकै शुभकामना भाषणका लागि पोडियम ।

तर नेकपाको चियापनमा प्रतिक्रिया लिन पत्रकारहरुलाई नेताहरुको पछिपछि दगुर्नु पर्यो । पत्रकारले नेताहरुको प्रतिक्रिया लिन खोज्दा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वमसेवकलाई भिड हटाउन हम्मेहम्मे पर्यो । त्यही भद्रगोलमा सञ्चारकर्मीहरुले नेताहरुको प्रतिक्रिया लिए ।

तर नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डसँग दोहोरो सम्वाद भएन । उनीहरु मञ्चबाट बोले मात्र ।

पञ्चेबाजादेखि बामदेवको दुई टुकसम्म

नेकपाले चियापान कार्यक्रममा आउनेहरुलाई पञ्चेबाजाले स्वागत गरिएको थियो । मञ्च अगाडि उभिएर पञ्चेबाजा बज्दै गर्दा केही मज्जैले नाचे र रमाइलो गरे ।

भृकुटीमण्डप नेकपाको झण्डा, अध्यक्षद्धय ओली प्रचण्डको ठूला फोटा, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको तस्वीर राखिएको थियो । नेकपाको चुनाव चिन्ह सूर्य अंकित झण्डा, हसिया हथौडा अंकित ब्यानरहरु भृकुटीमण्डप रंगिएको थियो । कलाकारहरुले बेलाबेला गीत गाउँदा माहोल रमाइलो थियो । चियापानमा भेला भएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु दुई अध्यक्षको तस्वीरलाई पृष्ठभूमिमा पारेर राखिएको हँसिया हथौडा तथा पुष्पलाल र मदन भण्डारीको तस्वीर नजिक उभिएर फोटो खिचाउन व्यस्त थिए ।

चियापानमा निम्तालुहरुका लागि समोसा, निम्की, केरा, लड्डु र चिया दिइएको थियो ।

त्यस्तैमा नेकपाका नेता बामदेव गौतमले तत्कालीन एमाले र माओवादी पार्टी एक हुँदा ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर भएको भद्र सहमति कार्यान्वयन हुनुपर्ने बताए ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्धय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी भद्र सहमति भएको सार्वजनिक भएको थियो । यसको कार्यान्वयन हुने/नहुने भन्नेमा सत्तारुढ नेकपाका नेताहरु नै अन्योलमा रहेका बेला नेता गौत्तमले ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताए ।

तर, उनले त्यो भद्र सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बन्छन् ? भन्नेमा केही खुलाएनन् ।

पत्रकारहरुले ‘प्रचण्ड कहिले प्रधानमन्त्री बन्नुहुन्छ ?’ भनेर प्रश्न सोध्दा ‘वर्तमान प्रधानमन्त्री ओलीपछि’ भन्ने जवाफ दिएका नेता गौतमले ‘ओली र प्रचण्ड साढे दुई–साढे दुई बर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको हो ?’ भन्दा ‘हो ’र त्यो सहमति कहिले कार्यान्वयन हुन्छ ? भन्दा ‘कार्यान्वयन हुनुपर्छ ।’ भन्ने दुई टुक जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment