१२ कात्तिक, काडमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ ।
न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो ।
उच्च अदालतको आदेशले महानगरपालिकाको नगरप्रहरी बलको प्रमुखको रुपमा काम गर्न पाण्डेलाई कुनै बाधा पर्ने देखिँदैन, किनभने अन्तरिम आदेशपछि महानगरपालिकाका प्रमुख सरोग गुरागाईंले निलम्बनलाई निरन्तरता नदिने निर्णय गरिसकेका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले अनियमितताको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न दिएका थिएनन् । गुरागाईंको साटो अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले गरेको आग्रहलाई तत्कालिन सरकारले अस्वीकार गर्दै आएको थियो ।
उपमेयर सुनिता डंगोल र अरु वडाध्यक्षहरूको सहयोगमा गुरागाई आफ्नो कार्यकक्षमा पुगेका थिए । त्यसक्रममा नगर प्रहरी बल र गुरागाईं पक्षधरबीच घम्साघम्सी भएको थियो ।
आफ्नो कार्यकक्षमा पुगेर काम थालेपछि प्रमुख प्रशासकिय अधिकृत गुरागाईले पदीय आचरण विपरित काम गरेको भनी नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेका थिए ।
आफूलाई गैरकानूनी रुपमा निलम्बन गरेको भनी पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । त्यहि निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी काममा फर्किएका थिए ।
त्यसबीचमा राजुबारे जाँचबुझ गर्न गठन भएको समितिले पनि उनलाई निलम्बन गरिरहन नपर्ने भनी प्रतिवेदन दिएको थियो । त्यही प्रतिवेदनका आधारमा गुरागाईंले २८ साउनमा पाण्डेको निलम्बन फुकुवा गरेका थिए ।
अहिले उच्च अदालतले राजु पाण्डेको रिट निवेदन खारेज गरेको हो । रिट निवेदन खारेज भएपनि यसअघि नै निलम्बन फुकुवा भएकाले उनलाई निरन्तर काम गर्न भने कुनै बाधा पर्नेछैन ।
प्रतिक्रिया 4