News Summary
Generated by OK AI. Editorially reviewed.- अल्टिच्युड एयरको हेलिकप्टर ९एन–एएमएस बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भयो, चालक विवेक खड्का सुरक्षित रहेका छन्।
- नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनालाई 'ह्वाइटआउट' पासोमा फसेको बताएको छ, जसमा भिजिबिलिटी कम भएर अवतरणमा समस्या आउँछ।
- लोबुचे हेलिप्याडमा गत महिनामा पनि मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो, जसमा चालकको निधन भएको थियो र त्यसपछि प्राधिकरणले मनाङ एयरको अनुमति निलम्बन गरेको थियो।
१२ कात्तिक, काठमाडौं । हेलिकप्टर सेवा प्रदायक कम्पनी अल्टिच्युड एयरको दर्ता नम्बर ‘९एन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भयो ।
कम्पनीका अनुसार हेलिकप्टरमा चालक (क्याप्टेन) विवेक खड्कामात्र थिए । दुर्घटनामा उनी सुरक्षित रहे । यात्रु सवार नरहेका कारण मानवीय क्षति भएन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा भएको क्षतिका आधारमा यसलाई ‘दुर्घटना’ भित्र राखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा यो दुर्घटना ‘ह्वाइटआउट’ पासोमा फसेको देखिने प्राधिकरणका एक अधिकारीले बताए ।
त्यस भेगमा मंगलबारदेखि मात्र हिउँ पर्न थालेको थियो । जसले गर्दा हिउँ जमेर चट्टानको रूप लिएको अवस्था थिएन ।
प्राधिकरणका अनुसार त्यस भेगको मौसम समेत आज बिहान अनुकूल थियो । लुक्लाबाट बिहान ७:४१ मा उडेको हेलिकप्टर ७:५२ बजे लोबुचेमा दुर्घटनामा परेको थियो ।
हेलिकप्टर अवतरण गर्ने क्रममा भर्खरै परेको हलुका रूपमा रहेको हिउँ उड्यो र हेलिकप्टरलाई ढाक्न पुग्यो । भिडियोहरूमा दुर्घटनाका बेला हिउँ परेजस्तो देखिए पनि त्यो हेलिकप्टर अवतरण हुँदा सोही हेलिकप्टरको रोटर (पखेँटा) ले उडाएको हिउँ भएको ती अधिकारीले बताए ।
चारैतर्फ सेताम्य हिउँले ढाकेको अवस्थामा भिजिबिलिटीमा समस्या आउँछ । यसरी हुने समस्यालाई एभिएसन (उड्डयन) मा ‘ह्वाइटआउट’ भन्ने गरिन्छ । यस्तो समस्या धुलाम्य हेलिप्याडमा समेत हुने गर्छ । यस्तो अवस्थालाई भने ‘ब्राउनआउट’ भन्ने गरिन्छ ।
त्यस्तो अवस्थामा पाइलटले जहाँ हेलिकप्टर जमिनमा राख्न खोजेका हुन्छन्, त्योभन्दा अर्को स्थानमा ‘टच’ भएर दुर्घटनामा पर्न सक्छ । अझ हिँउले ढाकेको हेलिप्याडमा हिँउ कता कडा छ वा कता नरम छ भन्ने निश्चित नहुने हुँदा यस्तो जोखिम अझ बढ्ने गर्छ ।
सामान्यतया ह्वाइटआउट वा ब्राउनआउट हुने अवस्थाबारे पूर्व जानकारी भए पाइलटले हेलिप्याड नजिकै हेलिकप्टर पुर्याएर सुरुमा धुलो वा हिँउ उडाउँछन् र त्यसको जोखिम कम हुने भएपछि अवतरण गराउँछन् ।
आजको दुर्घटना अगाडि पाइलटले सुरुमा दुई उडान गरिसकेका थिए । त्यसबाट जोखिमको पूर्वआकलन गर्न सकेको भए हेलिकप्टर दुर्घटनाबाट बचाउन सकिने ती अधिकारीको भनाइ छ ।
लोबुचेमा दोहोरिँदै दुर्घटना
नेपालको हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटनाको शृङ्खला दोहोरिरहेको छ । सगरमाथा आधार शिविर नजिकै रहेका कारण त्यहाँ हेलिकप्टरको गतिविधि समेत बाक्लो छ । लोबुचेस्थित हेलिप्याड ४ हजार ९ सय ४० मिटर उचाइमा छ ।
छिनछिनमा परिवर्तन हुने मौसमले त्यहाँ उडानलाई जोखिमपूर्ण बनाउँछ । नागरिक उड्डयन प्राधिकरणले यो क्षेत्रमा उच्च सतर्कता अपनाउन बारम्बार निर्देशन समेत दिने गरेको छ । तर, दुर्घटना दोहोरिइरहेका छन् ।
१४ अक्टोबर २०२३ मा मनाङ एयरको हेलिकप्टर (९एन–एएनजे) पनि यही लोबुचे हेलिप्याडमा दुर्घटनाग्रस्त भएको थियो । लुक्लाबाट बिहान ७:१३ मा उडेर लोबुचे पुग्ने क्रममा ७:२४ बजे अवतरण क्रममा हेलिकप्टरमा आगलागी भएको थियो ।
क्याप्टेन प्रकाशकुमार सेढाईं एक्लै थिए । उनी गम्भीर घाइते भएका थिए । काठमाडौंको ह्याम्स अस्पतालबाट भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर रेफर गरिएका उनको २५ अक्टोबरमा उपचारकै क्रममा निधन भएको थियो । यो घटनापछि प्राधिकरणले मनाङ एयरको सञ्चालन अनुमति निलम्बन गरेको थियो ।
नेपालमा हेलिकप्टर दुर्घटनाका मुख्य कारण अनिश्चित मौसम, उच्च उचाइको हावापानी, हेलिप्याडको खराब अवस्था र पाइलटको अपर्याप्त प्रशिक्षण तथा जोखिमको बेवास्ता लगायत पर्छन् । हिमाली क्षेत्रमा हिउँ, कुहिरो र तीव्र हावाले दृश्यता (भिजिबिलिटी) कम गर्छ । यो अवस्थामा अवतरण कठिन हुन्छ ।
प्रतिक्रिया 4