Comments Add Comment

राष्ट्रपति भण्डारी म्यान्माको राजधानी नेपितमा, आज भेटवार्तामा व्यस्त

आज समकक्षी मिन्त र स्टेट काउन्सिलर आङ सान सु चीसँग भेटवार्ता

३० असोज, काठमाडौं । म्यानमाको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज भेटवार्तामा व्यस्त हुने भएकी छन् ।

राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति ऊ विन मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुँदैछ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नेछिन् ।

बिहीबार नै म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन् । त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र संघका राष्ट्रपति मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार म्यान्मा भ्रमणमा गएकी थिइन् । उनलाई विमानस्थलमा म्यान्मा सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा. म्यो आङले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

राष्ट्रपति भण्डारी कात्तिक ३ गते स्वदेश फर्किने छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment