News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा दुई जनाको मृत्यु भएको छ र यस घटनाले मधेशका विभिन्न जिल्लामा सामाजिक तनाव सिर्जना गरेको छ।
- साम्प्रदायिक तनाव कम गर्न र दिगो शान्ति कायम गर्न निष्पक्ष छानबिन, पीडितलाई न्याय, प्रशासनिक तटस्थता तथा समुदायबीचको निरन्तर संवाद अपरिहार्य देखिएको छ।
- डिजिटल सञ्जालमा फैलिने अफवाह र राजनीतिक ध्रुवीकरणले मधेशको पुस्तौंदेखिको सामाजिक सद्भाव र रैथाने सहअस्तित्वमाथि गम्भीर चुनौती थपेको छ।
देवानगञ्जबाट फैलिएको तनावले मधेशको सामाजिक सम्बन्धमा गहिरो चोट पुर्याएको छ। तत्काल हिंसा रोक्नु मात्र पर्याप्त हुँदैन; निष्पक्ष छानबिन, पीडितलाई न्याय, जिम्मेवार प्रशासन र समुदाय बीचको निरन्तर संवादले मात्र दिगो शान्तिको आधार बनाउन सक्छ।
कुनै समाज एकै दिन साम्प्रदायिक बन्दैन। लामो समयदेखि जम्मा भएको अविश्वास, राजनीतिक ध्रुवीकरण, प्रशासनिक कमजोरी र अफवाहले सामान्य विवादलाई समेत हिंसामा बदल्न सक्छ।
सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समुदाय बीच भएको विवाद हिंसात्मक झडपमा परिणत भयो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोलीबाट स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भयो। गम्भीर घाइते जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भयो। त्यसपछि तनाव मधेशका विभिन्न जिल्लासम्म फैलियो।
झडप, आगजनी, तोडफोड र आक्रमणका घटनाले भौतिक क्षति मात्र गरेनन्, पुस्तौंदेखि सँगै बसेका समुदाय बीच आशंका र भय पनि जन्माए। हिंसाको क्षति घाइतेको संख्या, जलेका घरपसल वा नष्ट भएको सम्पत्तिले मात्र मापन हुँदैन। यसले समाजमा छोड्ने अविश्वासको मनोविज्ञान अझ गम्भीर हुन्छ।
तनाव नियन्त्रणमा आए पनि यसलाई दिगो शान्ति मान्न मिल्दैन। निष्पक्ष छानबिन, पीडितलाई न्याय र समुदाय बीच विश्वास पुनर्निर्माण नभएसम्म हिंसाको तुष भित्रभित्रै बाँकी रहन सक्छ। घृणाको उत्तर अर्को घृणा हुन सक्दैन; त्यसको विकल्प न्याय, संवाद र रैथाने सद्भाव हो।
साझा माटोमा बनेको सहअस्तित्व
मधेशको सामाजिक जीवन हिन्दु र मुस्लिम समुदाय बीचको अन्तरघुलनबाट बनेको छ। छठ घाट व्यवस्थापनमा मुस्लिम छिमेकीको सहभागिता, दशैं–तिहारमा साटिने शुभकामना, ईदको भोज तथा मोहर्रमको ताजिया र झरनी नाचमा देखिने साझा उपस्थिति कुनै कानूनले निर्माण गरेको सम्बन्ध होइन। यो दैनिक जीवनबाट विकसित भएको सामाजिक अभ्यास हो।
मधेशका हिन्दु, मुस्लिम, थारू, दलित र अन्य समुदायले भोगेको गरिबी, बेरोजगारी, राज्यबाट उपेक्षित भएको अनुभूति र आफ्ना सन्तानका लागि देखेको सपना धेरै हदसम्म साझा छ। विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमा पनि यी समुदायले पहिचान, समानता र स्वाभिमानका मुद्दामा सहकार्य गरेका छन्।
राजा सलहेसका गहबर, मलङ्ग बाबाको मजार र मदार बाबाको मेला जस्ता सांस्कृतिक स्थलमा विभिन्न धर्मका मानिस पुग्छन्। महोत्तरीको पडौलस्थित कारिक बाबा र सूफी सन्त मेइरा बाबासँग जोडिएका लोककथा पनि यही सांस्कृतिक अन्तरघुलनका उदाहरण हुन्।
मधेशका केही ग्रामीण समुदायमा पाइने ‘गोसाईं–पिर’ परम्पराले यो सम्बन्धलाई अझ स्पष्ट पार्छ। कतिपय हिन्दु तथा थारू परिवारले बाला पिर, गाजी मियाँ, चौहरमल र पाँच पिरलाई आफ्ना परम्परागत आस्थासँगै सम्झन्छन्। पूजा वा भोगका लागि स्थानीय मुस्लिम फकिरलाई बोलाउने अभ्यास समेत केही स्थानमा कायम छ।
सोहर, समदाउन, कजरी, चैता र फगुवा जस्ता लोकगीतमा हिन्दु र मुस्लिम आस्थाका प्रतीक सँगै आउँछन्। अल्हा–ऊदल जस्ता लोकगाथामा फरक समुदायका पात्र साझा उद्देश्यका लागि लडेको कथा सुनिन्छ। मैथिली, भोजपुरी, बज्जिका र थारू भाषाले निर्माण गरेको क्षेत्रीय सम्बन्ध धार्मिक पहिचानभन्दा फराकिलो छ।
यही रैथाने सम्बन्ध मधेशको सामाजिक पूँजी हो। साम्प्रदायिक तनावले सबैभन्दा पहिले यही पूँजीमाथि प्रहार गर्छ।
पहिचानको बहस र राजनीतिक प्रयोग
बहुआयामिक पहिचानलाई एउटै धर्म वा समुदायमा सीमित गर्दा सामाजिक ध्रुवीकरण बढ्छ। मधेशी पहिचान पनि कुनै एक धर्म वा जातिको मात्र होइन। यो भाषा, भूगोल, इतिहास, संस्कृति र राजनीतिक अनुभवबाट बनेको साझा चेतना हो।
तर पहिचानको विषयलाई समय–समयमा राजनीतिक लाभका लागि प्रयोग गरिएको छ। समुदायको अधिकार र प्रतिनिधित्व बारे हुनुपर्ने बहसलाई ‘को मधेशी हो र को होइन?’ भन्ने प्रतिस्पर्धामा सीमित गर्दा साझा मुद्दा कमजोर हुन्छ।
२०७९ सालमा मधेशी आयोगले थारू र मुस्लिम समुदायका विभिन्न संस्थाबाट प्राप्त निवेदनका आधारमा उनीहरूलाई ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८’ बाट हटाउने निर्णय गरेको थियो। पछि मुस्लिम आयोगले मुस्लिम समुदायलाई पुनः मधेशी सूचीमा राख्न आग्रह गर्यो। यस घटनाले पहिचानको प्रश्न समुदायभित्रै पनि जटिल र बहसपूर्ण रहेको देखाउँछ। यसलाई कुनै एउटै पक्षको षड्यन्त्रका रूपमा प्रस्तुत गर्नुभन्दा सम्बन्धित समुदायको आत्मपहिचान, संवैधानिक प्रतिनिधित्व र अधिकारका आधारमा समाधान खोज्नुपर्छ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले आइडेन्टिटी एन्ड भायलेन्समा मानिसको पहिचान एकल नहुने तर्क गरेका छन्। एउटै व्यक्ति धर्म, भाषा, पेशा, वर्ग, लिङ्ग, भूगोल र राष्ट्रियता जस्ता अनेक पहिचानसँग जोडिएको हुन्छ। राजनीतिक शक्तिले तीमध्ये एउटा पहिचानलाई मात्र उत्तेजित गर्दा अर्को समुदायलाई शत्रुका रूपमा हेर्ने जोखिम बढ्छ।
साम्प्रदायिकता धर्मको स्वाभाविक परिणाम होइन। धार्मिक पहिचानलाई सत्ता, भय र राजनीतिक परिचालनको साधन बनाइँदा साम्प्रदायिकता जन्मिन्छ।
प्रशासनिक निष्पक्षताको प्रश्न
साम्प्रदायिक तनावका प्रारम्भिक संकेत देखिंदै गर्दा स्थानीय प्रशासनले छिटो, निष्पक्ष र विश्वसनीय हस्तक्षेप गर्नुपर्छ। कुनै समुदायलाई काखा र अर्कोलाई पाखा गरिएको अनुभूति भयो भने राज्यप्रतिको विश्वास कमजोर हुन्छ।
पछिल्ला वर्षमा धार्मिक यात्रा, जुलुस, लाउडस्पिकर, मार्ग र समय सम्बन्धी विवादले विभिन्न स्थानमा तनाव उत्पन्न गरेका छन्। यस्ता कार्यक्रमअघि समुदाय, धार्मिक अगुवा र प्रशासन बीच स्पष्ट सहमति नहुँदा सामान्य विवादले ठूलो रूप लिन सक्छ।
देवानगञ्ज घटनामा सुरक्षा तयारी, बल प्रयोगको औचित्य र प्रशासनिक भूमिका बारे प्रश्न उठेका छन्। मधेशकेन्द्रित दल तथा नेताहरूले उच्चस्तरीय न्यायिक छानबिनको माग गरेका छन्। यस्ता प्रश्नको उत्तर राजनीतिक भाषण वा आरोप–प्रत्यारोपबाट होइन, स्वतन्त्र र विश्वसनीय अनुसन्धानबाट आउनुपर्छ।
छानबिनले हिंसा कसरी शुरु भयो, सुरक्षा संयन्त्र कहाँ चुक्यो, बल प्रयोग आवश्यक र समानुपातिक थियो कि थिएन तथा अफवाह फैलाउने व्यक्ति वा समूह को थिए भन्ने स्पष्ट गर्नुपर्छ। दोषी जुनसुकै समुदाय, संगठन वा राजनीतिक दलसँग सम्बन्धित भए पनि कानून समान रूपमा लागू हुनुपर्छ।
डिजिटल अफवाहको आगो
अहिले साम्प्रदायिक हिंसा सडकमा देखिनुअघि मोबाइलको स्क्रिनमा फैलिन्छ। पुरानो भिडियो, अर्कै स्थानको तस्वीर, काटछाँट गरिएको अभिव्यक्ति र अपुष्ट विवरण फेसबुक, टिकटक, युट्युब तथा ह्वाट्सएपबाट तीव्र गतिमा प्रसारित हुन्छन्।
देवानगञ्ज घटनापछि सामाजिक सञ्जालबाट साम्प्रदायिक सद्भाव खलल पुर्याएको आरोपमा सिरहा र धनुषाबाट आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो।
तर डिजिटल घृणा नियन्त्रणका नाममा फरक विचार वा आलोचनालाई दबाउनुहुँदैन। स्पष्ट रूपमा हिंसा भड्काउने, कुनै समुदाय विरुद्ध आक्रमणको आह्वान गर्ने र नियोजित झुट फैलाउने सामग्रीमाथि कानून अनुसार कारबाही हुनुपर्छ। सँगै, प्रशासनले घटनाबारे छिटो र विश्वसनीय सूचना सार्वजनिक गर्नुपर्छ। आधिकारिक सूचना ढिलो हुँदा अफवाहले खाली ठाउँ ओगट्छ।
सञ्चारमाध्यमले पनि धर्म वा समुदायलाई अनावश्यक रूपमा शीर्षकमा तान्ने, अपुष्ट दृश्य प्रसारण गर्ने र आरोपलाई तथ्य जस्तो प्रस्तुत गर्ने अभ्यासबाट बच्नुपर्छ।
रैथानेपन जोगाउने जिम्मेवारी
दक्षिणएशियाको हिन्दु–मुस्लिम सम्बन्ध केवल द्वन्द्वको इतिहास होइन। यो बहस, मित्रता, सहकार्य र सांस्कृतिक आदानप्रदानको इतिहास पनि हो। शेरअली तरीनको पेरिलस इन्टिमेसीज : डिबेटिङ हिन्दु–मुस्लिम फ्रेन्डसिप आफ्टर एम्पायर ले दक्षिण एशियाली मुस्लिम चिन्तकहरूले हिन्दु–मुस्लिम मित्रताको सम्भावना र सीमाबारे गरेका जटिल बहसको अध्ययन गर्छ।
यो सम्बन्धलाई ‘सधैंको मित्रता’ वा ‘सधैंको टकराव’मध्ये कुनै एउटा सरल कथामा सीमित गर्न मिल्दैन। समाजभित्र सहकार्यसँगै असहमति पनि हुन्छ। लोकतान्त्रिक समाजको सफलता असहमति मेटाउनुमा होइन, त्यसलाई हिंसामा परिणत हुन नदिने संस्था र संस्कार निर्माण गर्नुमा हुन्छ।
पछिल्ला वर्षमा विभिन्न समुदायभित्र कठोर धार्मिक भाष्य बलियो भएका छन्। धार्मिक जागरणका नाममा अर्को समुदायप्रति भय वा घृणा फैलाउने प्रवृत्ति जुनसुकै पक्षबाट आए पनि अस्वीकार्य हुन्छ। धार्मिक तथा गैरधार्मिक संघ–संस्थामा आउने स्वदेशी वा विदेशी सहायता, त्यसको खर्च र सञ्चालन पारदर्शी हुनुपर्छ। तर प्रमाण विना कुनै समुदाय वा संस्थामाथि सामूहिक आरोप लगाउन हुँदैन।
मन्दिर, मस्जिद र अन्य धार्मिक स्थललाई प्रतिस्पर्धी शक्ति प्रदर्शनको केन्द्र होइन, शान्ति र सामाजिक उत्तरदायित्वको माध्यम बनाउन धार्मिक अगुवाले भूमिका खेल्न सक्छन्।
हिंसा रोकेर मात्र शान्ति आउँदैन
शान्ति अध्येता योहान गाल्टुङले हिंसा नभएको अवस्थालाई ‘नकारात्मक शान्ति’ र न्यायपूर्ण तथा समावेशी सम्बन्ध भएको अवस्थालाई ‘सकारात्मक शान्ति’का रूपमा व्याख्या गरेका छन्।
प्रहरी परिचालन, निषेधाज्ञा वा कर्फ्युले तत्काल हिंसा रोक्न सक्छ। तर पीडितले न्याय नपाए, प्रशासनमाथिको विश्वास फर्किएन र समुदाय बीच संवाद भएन भने त्यो शान्ति अस्थायी हुन्छ।
दिगो शान्तिका लागि केही व्यावहारिक कदम आवश्यक छन्।
पहिलो, देवानगञ्ज सहित त्यसपछि भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। मृत्यु भएका व्यक्तिका परिवार, घाइते र सम्पत्ति गुमाएका नागरिकले न्याय, उपचार र उचित क्षतिपूर्ति पाउनुपर्छ।
दोस्रो, हिंसा वा घृणा भड्काउने व्यक्तिमाथि धर्म, समुदाय वा राजनीतिक आबद्धता नहेरी समान कानूनी मापदण्ड लागू गर्नुपर्छ। सुरक्षाकर्मीबाट भएको सम्भावित कमजोरी वा अत्यधिक बल प्रयोग समेत यही छानबिनको दायरामा आउनुपर्छ।
तेस्रो, स्थानीय भाषा, संस्कृति र सामाजिक मनोविज्ञान बुझ्ने जनशक्तिको प्रहरी तथा प्रशासनमा अर्थपूर्ण सहभागिता बढाउनुपर्छ। सुरक्षाकर्मीलाई सामुदायिक द्वन्द्व व्यवस्थापन, अफवाह नियन्त्रण र मानवअधिकार सम्बन्धी नियमित प्रशिक्षण आवश्यक छ।
चौथो, औपचारिक प्रशासनिक संरचनासँगै मरर, माइजन र भलमन्सा जस्ता परम्परागत सामुदायिक संयन्त्रको उपयोग गर्न सकिन्छ। तर यस्ता संयन्त्रलाई पुनर्जीवित गर्दा महिला, दलित, अल्पसंख्यक र युवा सहभागिता तथा संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्छ। परम्परागत संरचनाले राज्यको कानून विस्थापित गर्ने होइन, समुदाय र प्रशासन बीच संवादको पुल बन्नुपर्छ।
पाँचौं, धार्मिक यात्रा, जुलुस, लाउडस्पिकर र सार्वजनिक स्थलको प्रयोग बारे कार्यक्रमअघि नै स्थानीय सहमति बनाउनुपर्छ। मार्ग, समय र सुरक्षाको विषय समुदाय, स्थानीय सरकार र प्रशासनले संयुक्त रूपमा तय गर्न सक्छन्।
छैटौं, विद्यालय, सञ्चारमाध्यम र स्थानीय संस्थाले मधेशको साझा सांस्कृतिक इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्छ। पूर्वाग्रह विरुद्धको शिक्षा तनाव शुरु भएपछि होइन, शान्तिकै समयमा आवश्यक हुन्छ।
रोजाइ घृणा कि संवाद?
देवानगञ्जको घटना आकस्मिक धार्मिक विस्फोट मात्र थिएन। यसमा स्थानीय विवाद, सञ्चित अविश्वास, प्रशासनिक कमजोरी, राजनीतिक ध्रुवीकरण र डिजिटल अफवाहका विभिन्न तह देखिन्छन्। यी कारण पहिचान नगरी सुरक्षा परिचालनबाट मात्र समस्या समाधान गर्न खोजियो भने यस्तै घटना फेरि दोहोरिन सक्छ।
आज मधेशसामु दुई बाटा छन्। एउटा क्षणिक उत्तेजना र घृणाको बाटो हो, जसमा अन्ततः सबै समुदाय हार्छन्। अर्को न्याय, संवाद र रैथाने सहअस्तित्वको कठिन तर दिगो बाटो हो।
मधेशको प्रश्न हिन्दु वा मुस्लिममध्ये कसले जित्ने भन्ने होइन। प्रश्न, दुवै समुदायले पुस्तौंदेखि निर्माण गरेको साझा सभ्यता जोगाउने कि घृणाको राजनीतिसामु त्यसलाई कमजोर हुन दिने भन्ने हो।
साझा सभ्यता पराजित हुँदा हिन्दु पनि जित्दैनन्, मुस्लिम पनि जित्दैनन्। जित्ने केवल हिंसाबाट राजनीतिक लाभ खोज्ने प्रवृत्ति हो। त्यसैले अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी न्याय, मानवीयता र मधेशको साझा रैथाने सम्बन्धको रक्षा हो।
(मेहता राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव हुन्।)
प्रतिक्रिया 4