+
+
Shares
ब्रिफिङ :

सुनसरी घटनाले मधेश अशान्त- एक किशोरको मृत्यु, प्रहरीसहित २२ घाइते

सिरहा, धुनषा र पर्साका विभिन्न स्थानमा कर्फ्यु

दिनभर विभिन्न संघसंगठनको प्रदर्शनको क्रममा सिरहाको गोलबजार, लहान, धनुषाको जनकपुरधामसहितका स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भयो ।

शैलेन्द्र महतो सुरेश राय शैलेन्द्र महतो, सुरेश राय
२०८३ साउन १४ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा भएको प्रदर्शन र झडपका क्रममा प्रहरीको गोली लागेर सिरहामा एक किशोरको मृत्यु भएको छ ।
  • जनकपुरधाम र सिरहामा आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ भने पर्सामा निषेधाज्ञा लागू गरिएको छ ।
  • झडपका क्रममा दुवै पक्षका गरी १९ जना सुरक्षाकर्मीसहित कैयौं सर्वसाधारण घाइते भएका छन् र गोलबजार क्षेत्रमा थुप्रै भौतिक संरचनामा आगजनी भएको छ ।

१४ साउन, जनकपुरधाम/सिरहा । सुनसरीमा भएको घटनाको विरोधमा चर्किँदा बिहीबार मधेश प्रदेश अशान्त रह्यो । दिनभर विभिन्न संघसंगठनको प्रदर्शनको क्रममा सिरहाको गोलबजार, लहान, धनुषाको जनकपुरधामसहितका स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भयो ।

त्यस क्रममा सिरहामा प्रहरीको गोली लागेर सिरहामा एक किशोरको ज्यान नै गयो । अर्का गम्भीर घाइते भए । धनुषामा पनि ढंगामुढा तथा आक्रमणबाट एक बालकसहित दुईजना घाइते भएका छन् । धनुषा र सिरहामा झडपमा परेर १९ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

सिरहामा आगजानी समेत भएको छ । आन्दोलन उग्र बनेपछि जनकपुरधामसहित सिरहामा कर्फ्यू आदेश र पर्सामा निषेधाज्ञा आदेश जारी गरिएको छ ।

प्रशासनले कर्फ्यु जारी गरेपछि पनि गोलबजार नगरपालिका–४ स्थित क्याम्पस रोड क्षेत्रमा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामबृक्ष यादवका अन्दाजी १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको छ ।

उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको थियो । गोली लागेर घाइते भएका धनुषाको धनुषाधामका सुवास ठाकुरलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।

त्यस अघि दिउँसो सिरहाको गोलबजारमा प्रदर्शनकारीको प्रदर्शनले अवस्था असहज बन्दै जाँदा झमझम होटल अगाडि दुई पक्षबीच भएको झडपले उग्ररुप लिएको थियो ।

त्यस क्रममा नेपाल टेलिकम अगाडि पार्किङमा रहेका करिब २१ वटा मोटरसाइकल र एउटा साइकलमा आगजनी भयो ।

यस्तै गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनासमेत भएका छन् । एबी मल,नेहाल आइरन स्टोर ,नौसाद मोटर साइकल ग्यारेज,रोयल प्रिन्स होटेल एन्ड पार्टी प्यालेस र गोलबजार नपा–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारमा रहेको घरमा आन्दोलनकारीहरूले आगजानी गरेका छन् ।

तनावग्रस्त सिरहा गोलबजार ।

 सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार झडप नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रहरी कार्यलयका डिएसपी रमेशबहादुर पालसहित करिब १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

डिएसपी पाललाई मुखमा चोट लागेको छ । स्थानीय तथा प्रहरी दुवै पक्षका व्यक्तिहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यता बिहीबार बिहानैदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम अशान्त रह्यो । रामानन्दचोकमा सडकजाम गर्दै प्रदर्शन सुरु गरेका विभिन्न संघसंगठनका युवाहरूले बजार व्यवसायसमेत बन्द गराए । केही स्थानमा तोडफोडसमेत गरे ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच जनकपुरधामको रामानन्दचोक, बजरंगचोक लगायतमा पटकपटक दिनभर झडप भयो । त्यस क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेका छन् ।

जनकपुरधाममा ढुंगामुढाबाट एक बालकसहित दुईजना घाइते पनि भएका छन् । केही प्रहरी समेत घाइते भएका छन्  ।

ढुंगामुढा लागेर जनकपुरधाम उपमहानगरपालिका ७ का १२ वर्षीय आनन्द दास गम्भीर घाइते भएका छन् ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए । यस्तै जनकपुरधाम उपमहानगरपालिका २० का भोगेन्द्र कुमार राम घाइते भएका छन् । उनको टाउको फुटेको छ ।

झडपको क्रममा आन्दोलनकारीको ढुंगामुढा लागेर धनुषा र सिरहामा १९ जना प्रहरी घाइते भएका छन् । धनुषामा १५ जना प्रहरी घाइते भएका छन् भने सिरहामा ४ जना प्रहरी घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आन्दोलनले उग्र हुँदै गएपछि स्थानीय प्रशासनले दिउँसो साढे ३ बजेदेखि अनिश्चित समयका लागि कर्फ्यु लागू गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिका भित्र, नगराइन नगरपालिकाको नगराइन चोकसम्म र लक्ष्मीनिया गाउँपालिकाको सोहनी सिनुरजोडा एवं लक्ष्मीनिया हाटबजारसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेशपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेतका सुरक्षन निकाय सडकमा सक्रिय छन् ।

परिस्थिति बिग्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्साको वीरगञ्जमा समेत निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि प्रमुख जिल्ला अधिकारी भोला दाहालले  निषेधाज्ञा जारी गरेका हुन् ।

यस्तै सप्तरीको राजविराजस्थित विभिन्न स्थानमा प्रदर्शन भएको छ । त्यस क्रममा प्रहरी संयमित बन्दा अप्रिय घटना भने हुन सकेन । महोत्तरीको मटिहानीमा पनि प्रदर्शन भएको छ । पर्सा, सर्लाही, रौतहटका पनि केही स्थानमा समान्य प्रदर्शन भएको खबर प्राप्त भएको छ ।

जनकपुरमा प्रदर्शन चर्किएपछि शुक्रबार शैक्षिक संघसंस्था विद्यालय तथा क्याम्पसहरू बन्दको घोषणा गरिएको छ ।

शैक्षिक क्षेत्रका संस्थाहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर बन्द घोषणा गरेको हो । साथै घटनालाई साम्य बनाउन राज्य तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।

घटना साम्य गर्न मधेश सरकारको प्रयास 

मधेशमा धार्मिक विवादले स्थिति असहज बन्दै जाँदा बिहीबार मधेश सरकारको मन्त्रिपरिषद् बैठक र प्रदेश सुरक्षा परिषदको बैठक समेत बसेको थियो ।

पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको गम्भीर समीक्षा गरिएको छ ।

मन्त्रिपरिषद् बैठक पश्चात मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, संघ–संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा आम नागरिकलाई संयमता, जिम्मेवारी र सहयोगको भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

त्यसैगरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट, भ्रामक वा समाजमा द्वेष, हिंसा तथा सार्वजनिक अशान्ति फैलाउन सक्ने प्रकृतिका सूचना वा सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?