+
+
Shares

लागुऔषधको दलदलमा मधेश : नियन्त्रणमा आक्रमक बन्दै प्रहरी

मधेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको खुला सीमाबाट लागुऔषध कारोबार हुने गरेको देखिन्छ । यसले मधेशलगायत देशभर नै लागुऔषध कारोबार र सेवनकर्ताको अवस्था विकराल देखाउँछ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ साउन ९ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका धनुषा र सिरहामा प्रहरीले ३० घण्टाको अवधिमा गोली प्रहार गरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
  • पक्राउ परेका कारोबारीहरूबाट ठूलो परिमाणमा खैरो हेरोइन, ब्राउन सुगर र गाँजासहितका प्रतिबन्धित लागुऔषध बरामद भएको छ ।
  • खुला सीमाका कारण लागुऔषध कारोबार बढेपछि प्रहरीले नियन्त्रणका लागि थप आक्रामक बन्दै विशेष महाअभियान सञ्चालन गरेको छ ।

९ साउन, जनकपुरधाम । शुक्रबार दिउँसो साढे २ बजे प्रहरीले गोली चलाएर मिथिला नगरपालिकाको ढल्केवरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ गर्‍यो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार लागुऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केवरको संयुक्त टोली गोप्य सूचनाको आधारमा बसइ खोलाको पुल नजिक पुग्यो । प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरियो ।

पक्राउ पर्नेमा भारत बिहारको हर्लाखी थाना वडा नम्बर ५ बस्ने वर्ष २६ का सन्तोषकुमार महतो र बासोपट्टी थाना वडा नम्बर २ बस्ने वर्ष ४५ का मिथिलेश साहु छन् । उनीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

यसअघि बिहीबार मात्र सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकबाट प्रहरीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लियो । साँझ करिब साढे ६ बजे प्रहरीले गोली प्रहार गरी २४३ ग्राम ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लियो ।

प्रहरीले ७ राउन्ड गोली चलाउँदा खुट्टामा गोली लागेर सप्तरीको रुपनी गाउँपालिका–१ का ४२ वर्षीय मो. नसिर र भारतको बिहार राज्य, मधुबनी जिल्ला, लदनिया थाना योगियाका २४ वर्षीय विद्यानन्द यादव घाइते भएका छन् ।

अन्य पक्राउ पर्नेहरूमा सप्तरीको बोदेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव, २५ वर्षीय वैधनाथ यादव, डाक्नेश्वरी नगरपालिका–२ हरिराहा टोलका २८ वर्षीय मो. जमाहिर आलम र ३२ वर्षीय मो. इमामुद्दिन रहेका छन् ।

लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा दुई वटा मोटरसाइकलमा आएका ६ जनालाई रोकी जाँच गर्न खोजेको थियो ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार उनीहरूले भाग्न तथा प्रहरीमाथि प्रतिकार गर्न खोजेपछि नियन्त्रणका लागि ७ राउन्ड गोली प्रहार गरिएको थियो ।

उनीहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, स१प ८०५ र प्र ३–०२–००२ प ८१८५ नम्बरको गरी दुई वटा मोटरसाइकल तथा सात थान मोबाइल फोन बरामद भयो ।

बुधबार अपराह्न साढे ४ बजेतिर मात्र सिरहा प्रहरीले लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा बा२१च ५६६६ नम्बरको पिकअपमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको प्रतिबन्धित लागुऔषध ६५२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।

डीएसपी पालका अनुसार गोप्य सूचनाको आधारमा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा ६५२ केजी बरामद गरिएको थियो । साथै करिब ९ हजार ९२० केजी नास्पातीसमेत नियन्त्रणमा लिइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको डीएसपी पालले बताए ।

सिरहामा यो घटनाको केही घण्टा नबित्दै बुधबार मध्य राति १ बजेतिर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट प्रहरीले ३ हजार ३३२ किलो गाँजा बरामद गर्‍यो । लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याउँदा  बा.प्र.०१–०२५ च ०४३६ नम्बरको जिप, प्र १–०४–००१ च १५०७ नम्बर र बा.प्र. ०१–०२९ च ९५८६ नम्बरको पिकअपबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गर्‍यो । तर गाडी चालकहरू फरार भएका छन् ।

यी घटना ३० घण्टाभित्र सप्तरी र सिरहा जिल्लामा भएका लागुऔषध ओसारपसार तथा तस्करीका ठूला घटना हुन् । सिरहामा नियमितजसो लागुऔषध ओसरपसारकर्ता पक्राउ परिरहेका हुन्छन् । सिरहा प्रहरीले घटनाबारे प्रेस रिलिज गरिरहेको हुन्छ । सिरहा प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणको महाअभियान नै चलाएको डीएसपी पालले बताए ।

‘खुला सीमाको कारण भारतीय लागुऔषध कारोबारीहरू आउने–जाने गर्छन् । लहानलाई प्वाइन्ट बनाएर बढी गतिविधि गरेको पाइयो,’ उनले भने ।

प्रहरीमाथि नै जाइलाग्ने भएपछि गोली प्रहार गरेर पनि कारोबारी समात्न थालिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८२/०८३ मा मधेश प्रदेशको सिरहामा मात्रै १९७ जना लागुऔषधसहित पक्राउ परेका छन् । लहान क्षेत्र लागुऔषध कारोबारको इपिसेन्टर बन्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् ।

धनुषा, सिरहा र सप्तरी जिल्लाका पछिल्ला घटना त उदाहरण मात्र हुन् । मधेश प्रदेशमा लागुऔषध कारोबारी पक्राउ नपरेको दिन हुँदैन । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने पछिल्लो समय गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ गर्ने क्रम बढेको छ । यो मामलामा प्रहरी आक्रामक देखिन्छ । सिरहा र धनुषाको बिहीबार र शुक्रबारको घटनाले पनि यही देखाउँछ ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर ५ भारतीय र १ नेपालीलाई नियन्त्रणमा लिएको थियो ।

सिरहासहित मधेशका सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको खुला सीमाबाट लागुऔषध कारोबार नियमित हुने गरेको देखिन्छ । जसले मधेशलगायत देशमा लागुऔषध कारोबार र सेवनकर्ताको अवस्था विकराल देखाउँछ । गत आर्थिक वर्ष २०८२/०८३ मा ८ जिल्लाबाट लागुऔषध मुद्दामा ८७१ जना पक्राउ परेका छन् । लागुऔषधसँग सम्बन्धित ६३० वटा मुद्दा दर्ता भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार पक्राउ परेकामध्ये नेपाली ७७५ मध्ये जना पुरुष, ३१ जना महिला, एक महिलासहित ८४ जना भारतीय र दुई जना महिला र पुरुष अन्य देशका छन् ।

पक्राउ परेकाहरूबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसमेत बरामद गरेको छ । एक वर्षको अवधिमा गाँजा १५ हजार ३८२ किलो ग्राम, ब्राउन सुगर ५१६ ग्राम, चरेस २७२ किलो किलोग्राम, अफिम ३ किलो, हेरोइन २ हजार ८३१ ग्राम बरामद भएको प्रहरीको तथ्यांकमा छ ।

यस्तै, ४ लाख ७३ हजार ४८५ वटा ट्याब्लेट, २ हजार ११८ बोतल सिरप, १८ हजार १२५ इन्जेक्सन बरामद भएको छ ।

पछिल्ला तीन वर्षको तथ्यांक केलाउने हो भने मधेश लागुऔषध कारोबार बढेको देखिन्छ । आ.व. २०८२/०८३ मा पक्राउ तथा बरामदको संख्या गत आवको तुलनामा बढेको छ । अघिल्लो आ.व. २०८१/०८२ मा ८३६ जना पक्राउ परेका थिए । जसमध्ये ५८५ वटा मुद्दा दर्ता थिए ।

उक्त आ.व.मा गाँजा १६ हजार ५७३ किलोग्राम, ब्राउन सुगर ६९ ग्राम मात्र बरामद भएको थियो । यस्तै, चरेस ५०५ किलो, अफिम ४५ किलो, हिरोइन २ हजार ७०५ ग्राम बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सो अवधिमा ट्याबलेट ३ लाख ७० हजार ४४२, बोतल ७ हजार ५०४, इन्जिेक्सन ६१ हजार ३३३ बरामद भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा ११०४ जना पक्राउ परेका थिए । ७९७ वटा मात्र मुद्दा दर्ता भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म २ हजार ८११ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन् । भने २ हजार १२ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार प्रहरीले प्राप्त सूचनाका आधारमा नियमित सर्च तथा खानतलासी गर्दै लागुऔषध बरामद गर्ने गरेको छ । त्यसै क्रममा सेवनकर्ता, दुर्व्यसनी तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने गरिएको उनको भनाइ छ ।

लागुऔषध नियन्त्रणमा खुला सीमाका कारण चुनौती छ । दुर्गम क्षेत्रमा हुने गाँजा उत्पादनका कारण गाँजा नियन्त्रण चुनौती थपेको छ ।

‘सीमामा जहाँ वस्ती छन् । सुरक्षाकर्मीको उपस्थिति नभएको ठाउँबाट लागुऔषध कारोबारी आउने–जाने गर्छन् । सीमाबाटै केही व्यवसायीले पनि लुकाएर ल्याउने–लैजाने गरेको पक्राउ परेकाको अनुसन्धानमा देखिएको छ,’ एसपएसपी ढकाल भन्छन् ।

मधेशमा पछिल्लो समय बालबालिका, किशोरकिशोरी तथा युवाहरू लागुऔषधको लतमा फस्दै गएका छन् । लागुऔषध सेवनकर्ताले नसामा जघन्य प्रकृतिका अपराध कर्म गरेका घटना पनि छन् । घरमा लागुऔषध सेवनकर्ता हुँदा परिवार नै भाँडिने गरेको पनि पाइन्छ ।

मधेशमा अपेक्षअनुसार लागुऔषध सेवनकर्ताको संख्या घटाउन नसकेको प्रहरीसमेत स्वीकार्छ । ‘लागुऔषधको नेटवर्किङमा काम गर्ने, सेवनकर्ताहरू संख्याख्यात्मक र अपेक्षित रूपमा घटाउन सकेका छैनौं,’ एसपएसपी ढकाल भन्छन्, ‘नियन्त्रण गर्न स्कुल, टोल, युवा र अभिभावकसँग सचेतना कार्यक्रमहरू गर्ने गरिएको छ ।’

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?