+
+
Shares

मधेशमा एक महानगरसहित दुई उपमहानगरले ल्याए बजेट

जनकपुरधाम उपमहानगरसहित केही पालिका बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते २१:१५

१० असार, जनकपुरधाम । मधेश प्रदेशमा एक महानगर, तीन उपमहानगरसहित १३६ वटा पालिका छन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गरिसक्नुपर्छ । कतिपय पालिकाले यसअघि नै नगरसभा सम्पन्न गरिसकेका छन् भने गर्न नसकेका अधिकांश पालिकाले आज नगरसभा गरिरहेका छन् । तर केही पालिकाले आन्तरिक विवाद तथा आवश्यक तयारी पूरा गर्न नसक्दा आज पनि नगरसभा गर्न सकेका छैनन् ।

महानगर र उपमहानगरमध्ये जनकपुरधाम उपमहानगरपालिकाबाहेक सबैले बजेट प्रस्तुत गरिसकेका छन् । प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा भने हुन सकेन । आन्तरिक गृहकार्य पूरा नहुनु तथा प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालयमा उपस्थित नहुँदा बजेट तयारी प्रभावित भएको कार्यालयका एक कर्मचारीले बताए ।

वीरगञ्ज महानगरको बजेट चार अर्ब ४२ करोड

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि झण्डै साढे चार अर्ब रुपैयाँको बजेट ल्याएको छ । आज सम्पन्न २० औँ नगरसभामा महानगरले शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई प्राथमिकतामा राख्दै चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकता किर्ते मुद्दा दर्ता भएपछि निलम्बित छन् । त्यसैले कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब १९ करोड रुपैयाँ बढी हो । चालु आर्थिक वर्षका लागि वीरगञ्ज महानगरपालिकाले तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् कूल बजेटको ४४.६ प्रतिशत हो । यस्तै वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत रहेको उल्लेख छ ।

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड,संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क वापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ ।

बाराको कलैयाको बजेट झण्डै २ अर्ब

बाराको कलैया उपमहानगरपालिकालेसमेत अगामी आर्थिक वर्ष २०८३।०८४ लागि बजेट ल्याएको छ । उपमहानगरपालिकाको १७ औं नगरसभाबाट उसले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायत समेटेर लागि १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँको अनुमानित बजेट ल्याएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रेशमला कडेंलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । कलैया उपमहानगरका मेयर विनोद साहले कृषि र पूर्वाधार विकासलाई नगरको समृद्धिको आधार बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरिएको बताए ।

जीतपुर सिमरा उपमहानगरपालिका

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कूल बजेट रु. १ अर्ब ८७ करोड अनुमानित बजेट प्रस्तुत गरेको छ । यो रकम चालु आर्थिक वर्षको तुलनामा ६.९५% ले घटी हो । चालु आर्थिक वर्षका लागि कूल वार्षिक बजेट रु. २ अर्ब १ लाख रहेको थियो ।

नगरउप्रमुख भोला प्रसाद अधिकारीले प्रस्तुत गरेको बजेटमा स्रोत व्यवस्थापन तर्फ संघीय सरकारबाट रु. ७९ करोड ०९ लाख र मधेश प्रदेश सरकारबाट रु. ५ करोड ६२ लाख ५० हजार प्राप्त हुने अनुमान गरेको छ । यस्तै  आन्तरिक स्रोतबाट रु. २५ करोड ८७ लाख २७ हजार ६३०, राजस्व बाँडफाँडबाट ४१ करोड ४७ लाख ५६ हजार अनुमान गरेको छ । यस्तै विनियोजन बजेटको लागि नपुग हुने ३४ करोड ९३ लाख ६६ हजार ३७० नगद मौज्दातबाट व्यहोरिने उल्लेख छ । त्यस्तै संघिय सरकार र प्रदेश सरकारवाट आगामी आर्थिक वर्षको सिलिङ्ग प्राप्त हुन आएको हुदाँ शसर्त अनुदान संघ/प्रदेश ५२ करोड ९९ लाख, संघिय/प्रदेश/स्थानीय सरकारबाट विशेष अनुदान तर्फ १ करोड ६१ लख, समपुरक अनुदान संघ/प्रदेशबाट २ करोड २३ लाख,  राजस्व बाँडफाँट, मालपोत रजिष्ट्रेशन, विज्ञापन कर र ढुङ्गा गिट्टि वालुवा सहित राजश्व वाँडफाड संघ/प्रदेशबाट ५२ करोड ७४ लाख, आन्तरिक राजश्व बैंक मौज्दात सहित ४७ करोड ४० लाख २३ हजार आय अनुमान गरिएको छ । समानीकरण संघ/प्रदेशबाट २७ करोड ८८ लाख ५० हजार आय अनुमान गरेको छ ।

विवाद तथा आन्तरिक तयारी नहुँदा नगरसभा अन्योल

धेरै पालिकाहरुको नगरसभा १० गतेसम्म सम्पन्न हुँदा पनि विवद तथा आन्तरिक तयारी नपुग्दा केही पालिकाहरुको नगरसभा अन्योल बनेको छ । जनकपुरधाम उपमहानगरपालिका बाहेक महोत्तरीको जलेश्वर नगरपालिकाको पनि नगरसभा हुन सकेन । विवादको कारण बजेट ल्याउन नसकेको हो । जलेश्वर नगरपालिकाका १२ मध्ये अठवटा वडाका वडाध्यक्षले नगरपालिका कार्यालयमा संयुक्तरुपमा तालाबन्दी गरेका छन् । त्यसकारण त्यहाँको नगरसभा अन्योल बनेको छ ।

आन्तरिक तयारी नपुग्दा सिरहाको सिरहा नगरपालिकाको नगरसभा समेत हुन सकेन । यस्तै कयौं पालिकामा नगरसभा प्रभावित भएको छ । यस्तै आन्तरिक तयारी नपुग्दा सप्तरीको सदरमुकाम राजविराज नगरपालिका नगरसभा पनि हुन सकेको छैन ।

महोत्तरीको पिपरा गाउँपालिकाले आगामी असार १३ गते मात्र गाउँसभा हुने भएको छ । त्यहाँ प्रशासनिक भवन उदघाटन गर्ने समारोहको मौका पारेर गाउँसभा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?