Comments Add Comment

भवन भट्टले बोकाएको १५ करोड ऋणको भारी !

कसले बोक्ला एनआरएनएको रित्तो ढुकुटीको साँचो ?

२८ असोज, काठमाडौं । विदेशबाट नेपालमा लगानी भित्र्याउने दाबी गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आफैंले अहिले करिब १५ करोड रुपैयाँ ऋणको भारी बोकिरहेको छ । भलै, १२ करोड रुपैयाँ उठ्न बाँकी छ । केन्द्रीय पदाधिकारीहरुले संघलाई ऋणस्वरूप सापटी रकम दिएर चलाइरहेको अवस्था छ ।

संघको नेतृत्व गर्ने एनआरएन नेताहरु अर्बपति भए पनि संस्था भने टाट पल्टिएको अवस्थामा छ । एनआरएनको चुनावी प्रक्रिया चलिरहँदा करोडौं रकमको खोलो बगिरहेको छ । तर, संस्था भने आन्तरिकरुपमा खोक्रो छ ।

सन् २०१३ देखि २०१७ सम्म शेष घलेका दुई कार्यकालमा संघमा १ अर्बभन्दा धेरै स्रोत विकास भएको थियो । घलेले दुई बर्षअघि नेतृत्व हस्तान्तरण गर्दा पनि ५० करोड भन्दा धेरै रकम संघको खातामा थियो ।

तर, २०१७ र २०१९ मा भवन भट्टको कार्यकाल सकिँदै गर्दा संस्थालाई झन्डै १५ करोड रुपैयाँ ऋण भार थोपरिएको छ । अहिले काठमाडौंमा भइरहेको सम्मेलनमा रात्रीभोजदेखि अन्य खर्चसम्म नेपाल सरकारसँग चन्दा मागिएको अवस्था छ । देशलाई केही दिने भनेर स्थापित संस्था नेपाली जनताको करबाट उठेको रकम नेपाल सरकारसँग मागेर भोज खानुपर्ने अवस्थामा छ ।

शेष घलेका पालामा बालुवाटारमा एनआरएनए भवन निर्माण शुरु गरिएको थियो । साथै भूकम्पपछि लाप्राक नमुना बस्तीमा पनि अनुमानित भन्दा ठूलो खर्च भएको एनआरएन नेताहरु बताउँछन् । घलेको कार्यकाल सकिएपछि यी दुवै मेगा प्रोजेक्टहरुमा आर्थिक व्यवस्थापन सही ढंगले नगर्दा यस्तो अवस्था आएको भन्दै अधिकांश गैरआवासीयहरुले वर्तमान कार्यसमितिको आलोचना समेत गरेका छन् ।

अर्कोतर्फ सचिवालय सञ्चालनका लागि वार्षिक २ करोड रुपैयाँभन्दा बढी खर्च देखिएको छ । केही पदाधिकारीहरुको मनोमानीका कारण संघमा दुई बर्षदेखि २/२ जना कार्यकारी निर्देशकलाई तलव भरेर राख्नुपर्ने बाध्यता रह्यो । यस कारणले पनि सचिवालय अस्तव्यस्त मात्र होइन, आर्थिक पारदर्शितामा पनि प्रश्न उठ्दै आएको छ ।

दयनीय आर्थिक अवस्थाबाट संघ गुज्रिरहेका बेला अब एनआरएन कोषको साँचो कसको हातमा जाला त ? यो अहिले चासोको बिषय मात्र रहेन, एनआरएनएकै भविष्यसँग जोडिएको प्रश्न बनेको छ ।

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा बुधबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न हुनेछ । अर्थात् एनआरएनएले आफ्नो कोषको साँचो कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी दुईजनामा छाड्ने छ ।

आखिर सन् २०१९/२०२१ कार्यकालका लागि करोडौं ऋणसहितको कोषाध्यक्ष र सह–कोषाध्यक्षको जिम्मेवारी कसले लेला त ? आउनुहोस्, दुवै पदका लागि ३/३ जना आकांक्षी उम्मेदवारबारेमा चर्चा गरौं ।

महेशकुमार श्रेष्ठ (जापान)

जापान निवासी महेशकुमार श्रेष्ठ एनआरएनए कोषाध्यक्षका उम्मेदवार हुन् । पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी समाजशास्त्र र मानवशास्त्रमा स्नाकोत्तर हुन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा छन् ।

अध्यक्षका प्रत्यासी कुमार पन्त समूहको रोजाइमा श्रेष्ठ परेका छन् ।

पर्वत नै स्थायी घर भएका अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पनि उनलाई आफ्नो टिममा ल्याउन अन्तिम समयसम्म प्रत्यास गरेका थिए । तर, श्रेष्ठले समूहगतरुपमा खुल्न इन्कार गरे ।

श्रेष्ठसँग नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिको सदस्यमा रहेर काम गरेको अनुभव छ । कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने उनले योजना बनाएका छन् ।

जापानस्थित सीटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, एसबीआई सीटी एक्सप्रेस ग्लोबलका निर्देशक समेत रहेका श्रेष्ठ जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन् । श्रेष्ठले विभिन्न बैंकहरु, सीटी फाइनान्स, कम्पनीहरु तथा हाइड्रोपावरमा समेत लगानी गरेका छन् ।

सोम सापकोटा (यूके)

पछिल्लो एक दशकमा एनआरएनए अभियानमा सोम सापकोटा परिचित नाम हो । उनी पोर्चुगल, डेनमार्क र बेलायत लगायत विभिन्न देशमा बस्दै आए । तर, सामाजिक सक्रियतालाई भने कहीँ पनि छाडेनन् । तीनबर्ष अघिसम्म डेनमार्कमा बस्दै आएका सापकोटा त्यसपछि बेलायत बसाइँ सरेका थिए । हाल उनले माल्टामा व्यवसाय गर्दै आएका छन् ।

प्रजातान्त्रिक विचारधाराका सापकोटाले कुल आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान सह–कोषाध्यक्ष समेत रहेका उनले कोषाध्यक्षमा आफ्नो स्वभाविक दाबी रहेको बताउँदै आएका छन् । मेगा प्रोजेक्ट लगायत विभिन्न प्रोजेक्टको बक्यौता रकम उठाई छाड्ने सापकोटाको प्रतिवद्वता छ ।

सन् १९९६ मा स्वीटजरल्याण्डबाट सापकोटाको प्रवासी जीवन सुरु भएको हो । उनी एनआरएनए डेनमार्कको संस्थापक अध्यक्षसमेत हुन् । उनले यसअघि युरोप क्षेत्रको उपसंयोजकको जिम्मेबारी पनि सम्हालेका थिए ।

सुदन थापा (जापान )

झण्डै डेढ दशकदेखि जापानमा बस्दै आएका सुदन थापा पनि एनआरएन कोषाध्यक्ष पदका उम्मेदवार हुन् । थापा र श्रेष्ठ दुवै जापानबाट एउटै पदमा भिड्नुलाई कतिपयले जापानका गैरआवासीयहरु एकजुट छैनन् भन्ने संकेतका रुपमा बुझेका छन् । त्यसमाथि जापानबाट नै अध्यक्ष भवन भट्ट भएकाले उनीहरुलाई मिलाउने पहल नगरिएको गुनासो समेत आइरहेको छ ।

थापाले कार्यसमिति सदस्यदेखि उपाध्यक्ष हुँदै एनआरएनए जापानको नेतृत्व समेत सम्हालेका थिए। उनि संघको आठौँ अन्तर्रा्ष्ट्रिय महाधिबेशनबाट युवा संयोजकमा बिजयी बनेका हुन्।

संघको कोषलाई पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन र एनआरएनको कोष चलाउन दीर्घकालीन स्रोतको खोजी गर्नका लागि आफूले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको थापाले बताएका छन् । उनी एनआरएनए अभियानमा निरन्तर सक्रिय छन् ।

सह–कोषाध्यक्ष पदमा को–को ?

अमेरिकाका एसी शेर्पा सह–कोषाध्यक्षमा प्रमुख दाबेदार मानिएका छन् । त्यस्तै रसियाबाट गोविन्द गौतम र बेल्जियमबाट लोकप्रसाद दाहाल पनि सह–कोषाध्यक्षकै प्रतिस्पर्धी हुन् । गौतम वर्तमान युरोप उपसंयोजक हुन् भने दाहाल एनआरएनए बेल्जियमका निर्वतमान अध्यक्ष हुन् । सहकोषाध्यक्षका तीनैजना पन्त समूह निकट ठानिन्छन् । यसकारण पनि पन्तलाई सहकोषाध्यक्षमा कसलाई जिताउने भनेर बोल्न अप्ठ्यारो परेको छ ।

स्रोतका अनुसार इटालीको रोम बैठकमा शेर्पालाई उम्मेदवार बनाउन पूर्वअध्यक्ष घलेसँग पन्तले सहमति गरेका थिए । तर, नेकपा निकटका प्रतिनिधिहरु भने पन्तको निर्णयसँग असन्तुष्ट छन् । सहकोषाध्यक्षका दुई उम्मेदवारहरु दाहाल र गौतम पनि नेकपानिकटकै हुन् ।

यता आचार्य समूहबाट भने सह–कोषाध्यक्षमा उम्मेदवारै छैनन् । पन्तले छाडेका दुई उम्मेदवारहरुमध्ये एकसँग भित्रीरुपमा एक–अर्कालाई सघाउने सहमतिको रणनीतिमा आचार्य लागेको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस एनआरएनएको महासचिवमा कांग्रेस भर्सेस कांग्रेस ! यो पनि पढ्नुहोस एनआरएनएका सारथी : यी हुन् ५ उपाध्यक्षका दाबेदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment