+
+
Shares

टीओबी सदस्य तेन्जिन : भेटियो लागुऔषध, किर्तेमा कन्भर्ट भयो मुद्दा

सुरुमा अन्य प्रमाण नभेटिएको भन्दै अभद्रमा अनुसन्धान गरेको प्रहरीले अहिले एकसाथ तीन कसुरमा अनुसन्धान अघि बढाएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ कात्तिक १६ गते २०:३०

१६ कात्तिक, काठमाडौं । टीओबी (तिब्बतियन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीन कसुरमा अनुसन्धान अघि बढाएको छ ।

पक्राउ गरेर सुरुमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरेको प्रहरीले अहिले विभिन्न प्रमाणहरू फेला पर्न थालेपछि एकसाथ तीन कसुरमा अनुसन्धान अघि बढाएको हो ।

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंका एक अधिकृतका अनुसार अहिले उनीमाथि कीर्ते, लागुऔषध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

‘यसअघि हामीले अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान गरेका थियौं,’ ती अधिकृतले भने, ‘अनुसन्धानको क्रममा थप तथ्यहरू खुल्दै गएपछि सोहीअनुसार म्याद लिएर अनुसन्धान अघि बढाएका छौं ।’

तेन्जिन दावाको कोठा खानतलासी गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले बताएको छ । दावाको कोठाबाट गाँजा बरामद भएपछि उनीमाथि लागुऔषधको कसुरमा पनि म्याद लिएर अनुन्धान अघि बढाइएको हो । लागुऔषधको कसुरमा ९० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।

यसका साथै उनको नागरिकता पनि शंकास्पद देखिएपछि अहिले लिखतसम्बन्धी कसुरअन्तर्गत पनि अनुसन्धान अघि बढाइएको छ ।

प्रहरी उच्च स्रोतले बताएअनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि कीर्तेमा मुद्दा कन्भर्ट गरेर अनुसन्धान गरिएको छ ।

काठमाडौं महानगरपालिका-६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध गराएको आफ्नो विवरणअनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता २०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।

तर, यी विवरणहरू महानरपालिकाको रेकर्डमा दाँज्दा भेटिएनन् । काठमाडौं महानगरपालिका-६ का वडाध्यक्ष भुवन लामाका अनुसार वडाको ढड्डामा तेन्जिनले पेस गरेका विवरणहरू भेटिएनन् ।

‘प्रहरीले हामीसँग सोधखोज गरेको थियो । तर हामीले ढड्डामा केही भेटेनौं,’ वडाध्यक्ष लामाले भने, ‘केही विवरण नभेटिएको भन्ने बेहोराको जवाफ प्रहरीलाई पठायौं ।’

२६ असोजमा तेन्जिन पक्राउ परेका थिए । सुरुमा उनीमाथि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । तर अनुसन्धानका क्रममा भने नागरिकता, जन्मदर्ता लगायतका विवरणहरू शंकास्पद देखिएपछि अहिले कीर्तेमा मुद्दा कन्भर्ट गरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रदर्शन आतंकित पार्ने समूह

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले यो समूहको खोजी सुरु गरेको थियो ।

प्रहरीले खोजी तीव्र पारेपछि तेन्जिन आफैं प्रहरी कहाँ पुगेका थिए । अनुन्धानका क्रममा भने पेस्तोल बोकेको उक्त भिडियो जेनजी आन्दोलनको नरहेको खुल्यो ।

तर, प्रहरीले उनीबाट नक्कली पेस्तोल र सञ्चार सेटसमेत बरामद गरेको थियो । आन्दोलनको क्रममा समेत बुलेट मोटरसाइकल पड्काउँदै हिँडेको तेन्जिनको समूहले जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको आरोप प्रहरीको छ ।

उनीबाट बरमद भएका प्रमाणहरूले समेत यसको पुष्टि गर्ने प्रहरीको दाबी छ । टीओबी लेखिएको कालो कपडा लगाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेनजी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टीओबीको पूरा रूप ‘तिब्बतीयन ओरिजिनल ब्लड’ समेत लेखिएको थियो ।

तेन्जिनले भने आफूहरू बाइक राइड गर्ने समूह रहेको दाबी गरेका छन् । आन्दोलनमा जानुको मुख्य उद्देश्य नै बाइक पड्काउन रहेको दाबी उनको छ ।

अहिले हिरासतमा रहेका तेन्जिन परिवारका एक्लो छोरा हुन् । कपनको पैयुँटारमा कोठा लिएर बस्दै आएका तेन्जिनले १० कक्षासम्म अध्ययन गरेको बताएका छन् ।

उनले पछिल्लो समय गाँजा सेवन गर्ने गरेको पाइएको छ । उनीबाट गाँजासमेत बरामद भएपछि यो कुरा पुष्टि भएको छ ।

तेन्जिन पेसाले ट्याटु आर्टिस्ट हुन् । केही समय पहिलासम्म उनले बौद्धमा कोठा भाडामा लिएर ट्याटु खोप्ने काम गरेका थिए । अहिले पसल नचलेको भन्दै बन्द गरेको उनले बताएका छन् ।

तेन्जिनको शरीरभरि ट्याटु नै ट्याटु छन् । उक्त ट्याटु आफूले सिक्ने क्रममा खोपेको, आफूलाई सिकाउने क्रममा पनि खोपिएको उनले बताएका छन् ।

पछिल्लो समय बाइक राइडमा जाने गरेको उनी बताउँछन् । अविवाहित तेन्जिनले आफ्नो पुर्खा तिब्बतीयन रहेको, बौद्ध क्षेत्रमा बस्ने हुँदा तिब्बती मूलका व्यक्तिहरूसँग सम्बन्ध रहेको र त्यहीँबाट प्रभावित भएर तिब्बतीय ब्लड लेखिएको ज्याकेट लगाएको बताएका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?