+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

टीओबीबारे प्रहरी अनुसन्धान : तेन्जिन बाहेक कोही पनि तिब्बती मूलका होइनन्

टीओबीबारे चिनियाँ पक्षले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै चासो अनि आफ्नै डेढ महिना लामो अनुसन्धानपछि प्रहरीले यो समूहको साइनो फ्रि तिब्बतसँग नभएको निष्कर्ष निकालेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ मंसिर ८ गते २०:४५

८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान राडरमा रहेको टीओबी समूहको साइनो फ्रि तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ ।

डेढ महिना लामो अनुसन्धानपछि सोमबार प्रहरीले यो समूहको फ्रि तिब्बतसँग कुनै साइनो नरहेको सन्देश दिएको छ ।

जेनजी आन्दोलनका बेला टीओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल सरकारसँग यससम्बन्धी बाहिरिएका सूचनाबारे आफूहरुले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै छानबिनको प्रगतिबारे चासो राखेको थियो । चिनियाँ चासोपछि सरकारले अनुसन्धान चलिरहेको अनि छिटै सत्यतथ्य बाहिर आउने जवाफ दिएको थियो ।

२६ असोजमा यो समूहका मुख्य व्यक्ति तेन्जिन दावा लामालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले तेन्जिन बाहेक यसका अन्य सदस्यसमेत तिब्बती मूलका नरहेको प्रष्ट बताएको छ ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको सभाहलमा एक कार्यक्रमबीच परिसरका प्रमुख तथा एसएसपी रमेश थापाले टीओबी (तिब्बती ओरिजिनल ब्लड) लेखेको टिसर्ट लगाउने व्यक्ति पनि तेन्जिन बाहेक अरू फेला नपरेको प्रष्ट पारेका छन् ।

यो समूहका अन्य सदस्यहरूले टीओबीलाई द ओरिजिनल ब्रदर्सको रूपमा लिने गरेको पनि प्रष्ट पारेका छन् । ‘तिब्बतीयन ओरिजिनल ब्लडको रूपमा तेन्जिन बाहेक अरूले टिसर्ट समेत नलगाउने गरेको पाइएको छ,’ उनले भने, ‘तिब्बतीयन ओरिजिनल ब्लड लेखेको टिसर्ट लगाउने तेन्जिन तिब्बतीयन मूलका हुन् ।’

बाइकर्स ग्रुप

गत २३ र २४ भदौमा भएको बुलेट बाइक पड्काउँदै हिँडेको यो समूहले बाइकर्स ग्रुपकै समूह रहेको प्रहरीले बताएको छ । टीओबीको स्थापना १० जुन २०२४ मा भएको खुलेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

यो समूहमा ५७ जना सदस्य छन् । यसका संस्थापक तथा अध्यक्ष भने अहिले प्रहरी हिरासतमा रहेका तेन्जिन नै हुन् । यो ग्रुप गठन गर्नुको उद्देश्य भनेको मोटरसाइकल भएका साथीहरूबीच भेटघाट गरी घुम्ने र सामाजिक सेवा प्रदान गर्ने गरेको रहेको उनीहरूले बताएका छन् ।

यो समूह प्राय: ६ महिनामा उपत्यका बाहिर घुम्न जाने गरेको पाइएको छ । उपत्यका भित्र भने शनिबार मोटरसाइकल लिएर निस्कने गरेको देखिन्छ ।

बाइक लिएर यो समूह मुस्ताङ ३ पटक, अपर मुस्ताङ २ पटक, पोखरा २ पटक, सिन्धुपाल्चोक तातोपानी २ पटक गएको देखिएको एसपी भट्टराईले बताए ।

उपत्यका भित्र भने नारायणथान डाँडा हुँदै शिवपुरी, सुन्दरीजल, स्वयम्भू ह्वाइट गुम्बा, काभ्रे भकुण्डेबेसी-नेपालथोक, गोकर्ण एरिया जाने गरेको देखिन्छ ।

यो समूहका १४ बुलेट र एक पल्सर गरी १५ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । २६ जनालाई निगरानीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

अनि जन्मियो टीओबी

टीओबीको लोगोका डिजाइनर तेन्जिन नै हुन् । यो ग्रुपको ह्वाट्स एप र इन्टाग्राम पनि छ ।

बौद्धमा रहेको फूलबारी कम्प्लेक्समा सन् २०१७ देखि टीओबी नाम गरेको ट्याटु हाउस सञ्चालन गरेको र सोही ट्याटु हाउसबाट टीओबीको कन्सेप्ट सुरुवात भएको तेन्जिनले बताएका छन् । यो टीओबी समूह भने अहिलेसम्म कतै दर्ता छैन ।

यसका संस्थापक सदस्यहरू तेन्जिनका साथै सोनाम शेर्पा र एरेन राई पनि हुन् ।

यसको वास्तविक रूप भने द ओरिजिनल ब्रदर्स रहेकोमा तिब्बतीय मूलबाट आएको र आधा तिब्बतीयन नभएको भन्दै तेन्जिनले भने आफ्नो ज्याकेटमा द ओरिजिनल ब्लड लेख्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

टीओबीको पूरा रूपमा पनि दुई वटा धार छन् । तेन्जिनको धारणा तिब्बतीयन ओरिजिनल ब्लड छ । बाँकीको धारणा भने द ओरिजिनल ब्रदर्स छ ।

यसको लोगोमा रहेको ड्रागनको चित्रले वाइयर अर्थात् लडाकु भन्ने जनाउने भएकाले ड्रागन राखिएको उनीहरूले बताएका छन् । माथि भने हाकिम लेखिएको छ । हाकिम भन्ने र्‍यापर सुरेन्द्र गुरुङबाट प्रभावित भएर उक्त नाम राखेको खलेको प्रहरीले बताएको छ । मोटरसाइकल चलाउने क्रममा आफ्नो समूहलाई चिनाउन यसरी आफ्नो लोगो अंकित टिसर्टहरू छापेको उनीहरूले बताएका छन् ।

यसका सदस्य ५७ जना रहेकोमा अहिले २५ जना मात्रै सक्रिय छन् । २३ भदौमा यसका ३१ सदस्यहरू सहभागी भएको प्रहरीले बताएको छ । जसमा २० वटा मोटरसाइकल प्रयोग भएका थिए । यसका सबैजसो सदस्य विद्यार्थी हुन् ।

यसका अध्यक्ष तेन्जिन हुन् भने मुन्तोक लिम्बु अध्यक्ष, सिद्धार्थ तामाङ उपध्यक्ष, विशाल तामाङ सचिव, एरेन राई रोड क्याप्टेन, ग्याल्जेन लामा फाइनान्स मिनिस्टर, सोनाम शेर्पा टेल गनर हुन् ।

प्रहरीले तेन्जिनबाट तिब्बतीय ओरिजिनल ब्लड लेखेका पाँच वटा टिसर्ट बरामद गरेको छ । अरूबाट भने तिब्बतीयन ओरिजिनल ब्लड लेखका टिसर्ट बरामद भएका छैनन् । अरूबाट द ओरिजिनल ब्रदर्स लेखेको टिसर्ट बरामद भएको प्रहरीले बताएको छ ।

उनीहरूले सामाजिक सञ्जालमै कुराकानी गरेर छलफल गर्ने गरेको र त्यही योजना बनाएर घुम्न जाने गरेको प्रहरीले बताएको छ ।

२२ भदौमा भएको थियो छलफल

जेनजी आन्दोलनको अघिल्लो दिन २२ भदौमा उनीहरूबीच कुराकानी भएको विवरण प्रहरीले प्राप्त गरेको छ । टीओबीको इन्स्टाग्राममा २३ गतेको आन्दोलनमा सहभागी हुने सम्बन्धमा सोनाम शेर्पाले सूचना पोस्ट गरेको देखिएको छ ।

सोही विषयमा छलफल हुँदा गोपीकृष्ण हल नजिक रहेको चिया बस्तीमा २३ भदौको बिहान भेट गर्ने उनीहरूले निधो गरेको देखिएको छ ।

सहभागीहरूले कार्यक्रममा जाने इच्छा राखेपछि एक सन्देश प्रवाह गरेको तर बाहिरी मानिस कोही कसैलाई प्रदर्शनमा सहभागी हुनका लागि सम्पर्क नगरेको एक अनुसन्धान अधिकृतले बताए ।

जेनजी आन्दोलनको दिन २३ भदौको ११ बजेतिर गोपीकृष्ण हल नजिकको चिया बस्तीमा भेला भएको समेत देखिएको छ । जहाँ टीओबीको तर्फबाट २० वटा मोटरसाइकलमा ३१ जना सहभागी भएर बिजुलीबजार पुगेको देखिएको छ ।

यो समूहमा अन्य अपरिचित मोटरसाइकल पनि प्रवेश भएको देखिएको छ । १२ बजेको समयमा बिजुलीबजार पुल पुगेर बाइक पड्काउँदै भिडलाई उत्तेजित पार्दै बानेश्वरतर्फ अघि बढेको देखिएको छ ।

बानेश्वरको आकाशे पुल पुगेपछि त्यहाँबाट फर्केको थियो । त्यतिबेला तेन्जिनको टाउकामा प्रदर्शनकारीले हानेको ढुंगाले चोट समेत लागेको थियो । मेडिकलमा सामान्य उपचार गराएर यो समूह त्यसपछि घर फर्कियो ।

२४ गते भने यो समूह बाहिर ननिस्केको एसपी भट्टराईले बताए । साँझ ७ बजेतिर भने ग्लोबल कलेज पढ्ने सरिका बस्नेतले तेन्जिनलाई फोन गरेर कलेजको माथिल्लो तलामा करिब ४०/५० वटा ग्यास सिलिन्डर रहेको र त्यो तलामा आगो लागेको बताएको तेन्जिनले बताएका छन् ।

सिलिन्डर पड्केर होस्टलमा समेत क्षति हुने बताएपछि तेन्जिनले आर्मीको हेल्पलाइन नम्बर दिएर जानकारी गराउन भनेको बताएका छन् ।

यो समूहले ७०० मा टिसर्ट खरिद गरी १ हजारमा बेच्ने र त्यसको खर्चले दैनिक सञ्चालन गर्ने गरेको प्रहरीले बताएको छ । ज्याकेट पनि २५ सयमा खरिद गरी प्रिन्ट गरी ३ हजारमा बेच्ने गरेको बताएका छन् ।

हाकिम भने टीओबीको रोड मोडल रहेको र उनैको अनुमति लिएर लागेको माथि हाकिम लेखेको तर त्यस वापत आफूले कुनै शुल्क नलिएको बताएका छन् ।

को हुन् तेन्जिन ?

तेन्जिनले बाबुको नाम कृष्णबहादुर लामा र आमा माया लामा रहेको बताएका छन् । उनी पेसाले ट्याटु आर्टिस्ट हुन् । उनले आफूले एसएलसीसम्म पास गरेको बताएका छन् ।

तर, उनले बताएको स्कुलको रेकर्डमा भने त्यो तथ्यांक देखिँदैन । उनलाई हजुरबुवा टासी राप्तेनले हुर्काएको बताइन्छ । तेन्जिनसँग चिनजान भएको बताउन डोल्मा शेर्पासँग सम्बन्धबारे प्रहरी नै अनभिज्ञ छ ।

उनले बाबु बताएका व्यक्तिको पहिचान गरेर प्रहरीले उपस्थित गराउँदा बाबु-छोराले नै एक अर्कालाई चिन्न सकेका थिएनन् । जसका कारण उनका नागरिकता नक्कली रहेको थप पुष्टि भएको प्रहरीले बताएको थियो ।

गलत विवरण पेस गरी महानगरपालिकाबाट कागजात बनाएर नक्कली बाबु खडा गरेर उनले नागरिकता र राहदानी बनाएको प्रहरीको दाबी छ । उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा नागरिकता र राहदानी किर्तेमा पनि मुद्दा लगिने प्रहरीले बताएको छ ।

उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ हजार ५०० धरौटीमा छाड्न आदेश दिइसकेका छ । तर उनीबाट लागुऔषध बरामद भएको र राहदानी र नागरिकताको कसुर समेत रहेकाले अहिले पनि उनी हिरासतमै छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?