News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले टीओबी समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकतामा नक्कली बाबु राखिएको आशङ्का गर्दै किर्तेको कसुरमा अनुसन्धान अघि बढाएको छ।
- तेन्जिनको कोठाबाट लागुऔषध गाँजा बरामद भएपछि उनीमाथि लागुऔषधको कसुरमा पनि अनुसन्धान भइरहेको छ।
- प्रहरीले तेन्जिनबाट रेडियो सेट बरामद गरेको छ, तर उक्त सेटको लागि लाइसेन्स नलिएको पाइएको छ।
१७ कात्तिक, काठमाडौं । टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकतामाथि अनुसन्धान गरेको प्रहरीले नागरिकतामा बाबु उल्लेख भएका व्यक्तिको समेत पहिचान गरी अनुसन्धान अघि बढाएको छ ।
तेन्जिनको नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख थियो । प्रहरीले ती व्यक्तिको पहिचान गरेर आइतबार मात्रै जिल्ला प्रहरी परिसर ललितपुरमा उपस्थित गराएको थियो । काठमाडौं महानगरपालिका-६ बौद्धमा बस्दै आएका कृष्णबहादुरलाई पहिचान गरी परिसरमा उपस्थित गराए पनि उनीहरू दुवैले एकअर्कालाई चिनेनन् ।
आफ्नो बाबु दाबी कृष्णबहादुरलाई तेन्जिनले चिनेनन् । आफ्नो छोरा भन्दै नागरिकता बनाइएका व्यक्ति तेन्जिनलाई पनि कृष्णबहादुरले चिनेनन् ।
त्यसपछि तेन्जिनको नागरिकता झनै शंकाको घेरामा परेको छ । नक्कली बाबु खडा गरेर प्रशासनबाट नागरिकता बनाइएको आशंका प्रहरीले गरेको छ ।
नागरिकता बनाउन पेस गरिएका विवरणहरू जेनजी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय आगजनी हुँदा जलेर नष्ट भएकाले अनुसन्धानका लागि समस्या भएको प्रहरीले बताएको छ ।
बाबु नाम उल्लेख गरिएका कृष्णबहादुरले भने नागरिकता बनाइदिएको बारेमा आफूलाई केही जानकारी नभएको दाबी गरेका छन् । आफ्नो नाम उल्लेख भए पनि नागरिकता बनाएको बारेमा केही जानकारी नभएको दाबी कृष्णबहादुरले गरेको प्रहरी स्रोतले बतायो ।
नागरिकता शंकास्पद देखिएपछि प्रहरीले उनीविरुद्ध अहिले किर्तेको कसुरमा अनुसन्धान अघि बढाएको छ । ‘केही सरकारी कागजातहरू किर्ते गरेको देखिएपछि किर्तेको कसुरमा अनुसन्धान अघि बढाइएइको हो,’ परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले भने ।
उनको नागरिकता पनि शंकास्पद देखिएपछि अहिले लिखतसम्बन्धी कसुरअन्तर्गत पनि अनुसन्धान अघि बढाइएको हो ।
काठमाडौं महानगरपालिका-६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध गराएको आफ्नो विवरणअनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता २०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।
तर, यी विवरणहरू महानरपालिकाको रेकर्डमा दाँज्दा भेटिएनन् । काठमाडौं महानगरपालिका-६ का वडाध्यक्ष भुवन लामाका अनुसार वडाको ढड्डामा तेन्जिनले पेस गरेका विवरणहरू भेटिएनन् ।
२६ असोजमा पक्राउ परेका तेन्जिनविरुद्ध सुरुमा प्रहरीले अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो । अहिले भने किर्तेका साथै लागुऔषधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए ।
तेन्जिन दावाको कोठा खानतलासी गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले बताएको छ । दावाको कोठाबाट गाँजा बरामद भएपछि उनीमाथि लागुऔषधको कसुरमा पनि म्याद लिएर अनुन्धान अघि बढाइएको हो । लागुऔषधको कसुरमा ९० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले यो समूहको खोजी सुरु गरेको थियो ।
प्रहरीले खोजी तीव्र पारेपछि तेन्जिन आफैं प्रहरीकहाँ पुगेका थिए । अनुसन्धानका क्रममा भने पेस्तोल बोकेको उक्त भिडियो जेनजी आन्दोलनको नरहेको खुल्यो ।
तर, प्रहरीले उनीबाट नक्कली पेस्तोल र सञ्चार सेटसमेत बरामद गरेको थियो । आन्दोलनको क्रममा समेत बुलेट मोटरसाइकल पड्काउँदै हिँडेको तेन्जिनको समूहले जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको आरोप प्रहरीको छ ।
उनीबाट बरमद भएका प्रमाणहरूले समेत यसको पुष्टि गर्ने प्रहरीको दाबी छ । टीओबी लेखिएको कालो कपडा लगाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेनजी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टीओबीको पूरा रूप ‘तिब्बतीयन ओरिजिनल ब्लड’ समेत लेखिएको थियो ।
तेन्जिनले भने आफूहरू बाइक राइड गर्ने समूह रहेको दाबी गरेका छन् । आन्दोलनमा जानुको मुख्य उद्देश्य नै बाइक पड्काउन रहेको दाबी उनको छ ।
तेन्जिन पेसाले ट्याटु आर्टिस्ट हुन् । केही समय पहिलासम्म उनले बौद्धमा कोठा भाडामा लिएर ट्याटु खोप्ने काम गरेका थिए । अहिले पसल नचलेको भन्दै बन्द गरेको उनले बताएका छन् । तेन्जिनको शरीरभरि ट्याटु नै ट्याटु छन् । उक्त ट्याटु आफूले सिक्ने क्रममा खोपेको, आफूलाई सिकाउने क्रममा पनि खोपिएको उनले बताएका छन् ।
पछिल्लो समय बाइक राइडमा जाने गरेको उनी बताउँछन् । अविवाहित तेन्जिनले आफ्नो पुर्खा तिब्बतीयन रहेको, बौद्ध क्षेत्रमा बस्ने हुँदा तिब्बती मूलका व्यक्तिहरूसँग सम्बन्ध रहेको र त्यहीँबाट प्रभावित भएर तिब्बतीयन ब्लड लेखिएको ज्याकेट लगाएको बताएका छन् ।
दुर्गा प्रसाईंको तीनकुने आन्दोलनमा टीओबी समूहको प्रयोग
प्रहरी अनुसन्धानका क्रममा टीओबी समूह गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दुर्गा प्रसाईंको आन्दोलनमा प्रयोग भएको खुलेको छ ।
यो कुरा तेन्जिनले स्वीकारसमेत गरेको एक अनुसन्धान अधिकृतले बताए । सामान्य पेट्रोल र रिचार्ज खर्च दिएपछि टीओबी समूह बाइक लिएर जाने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । तर प्रसाईं समूहबाट यो सदस्यले रकम लिए नलिएको भन्ने तथ्य प्रहरीले भेट्टाइसकेको छैन ।
उनीहरू कुनै तिब्बतीयन एजेन्ट नरहेको तर समर्थक भने रहेको प्रहरीको बुझाइ छ ।
बाइक राइडहरूको यो समूहका अधिकांश सदस्य बुलेट बाइक चढ्छन् । यसका मुख्य व्यक्ति नै तेन्जिन रहेको प्रहरीको बुझाइ छ । अघिपछि बाइक पड्काउँदा प्रहरीले समात्ने भएकाले आन्दोलनको क्रममा बाइक पड्काउन जाने गरेको उनीहरूको दाबी छ ।
भेटिएन रेडियो सेटको लाइसेन्स
प्रहरीले तेन्जिनलाई पक्राउ गर्दा उनीबाट रेडियो सेट (वाकिटकी) पनि बरामद गरेको थियो । लाइसेन्स नलिई यस्तो सञ्चार सेट प्रयोग गर्न मिल्दैन । तर प्रहरी अनुसन्धानका क्रममा यो रेडियो सेटका लागि तेन्जिन समूहले लाइसेन्स नलिएको पाइएको छ ।
प्रवक्ता भट्टराई पनि तेन्जिनले रेडियो सेटको लाइसेन्स अहिलेसम्म देखाउन नसकेको बताउँछन् ।
रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्छ । हरेक वर्ष यसको नवीकरण गर्नुपर्ने हुन्छ ।
‘वाकिटकी प्रयोगका लागि जिल्ला प्रशासन अधिकारी (सिडिओ) मार्फत सिफारिस लिनुपर्ने अवस्था छ, तर तेन्जिनबाट बरामद रेडियो सेटका लागि लाइसेन्स लिएको भेटिएन ।
प्रतिक्रिया 4