Comments Add Comment

विमानस्थलमा तोडफोड गर्ने एनआरएनका थापालाई ५० हजार जरिवाना

उक्साउने महिलालाई २५ हजार

२८ असोज, काठमाडौं । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन् । उनलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए ।

रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलेले थापालाई जरिवाना तिराइएको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘उहाँलाई उक्साउने र अश्लील व्यवहार गर्ने अर्को एक जना महिलालाई पनि जरिवाना तिराएका छौं ।’ यद्यपि, उक्साउने भनिएकी महिला  भने पक्राउ परेकी थिइनन् ।

थापालाई उक्साए पनि तोडफोडमा उत्रिएको नदेखिएकाले उनी जोगिएकी थिइन् । विभागका अनुसार ती महिला थापासँगै आएकी उषाकिरण वरिया हुन् । उनलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सीसा फुटाएको अधिकारहीहरुको भनाइ छ ।

घटनालगत्तै अध्यागमनका कर्मचारीले प्रहरी बोलाए र थापा पक्राउ परे । सीसीटिभी फुटेजमा थापाले मात्र सिसा फुटाएको देखिएकाले उनीमात्रै पक्राउ परेका थिए ।

यसअघि काठमाडौंबाट सिंगापुर जाँदै गर्दा अत्यधिक मदिरा सेवन गरेको भन्दै सिल्क एयरका क्रु मेम्बरले एनआरएनएका अध्यक्ष भवन भट्टलाई र सनत न्यौपानेलाई जहाजबाट बाहिर निकालिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment