Comments Add Comment

विमानस्थलमा सिसा फुटाउने थापालाई रिहा गर्न दबाव

कर्मचारी भन्छन्- कानुन नमान्नेलाई सबक !

२८ असोज, काठमाडौं । एनआरएनको नवौ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरेपछि उनी प्रहरी हिरासतमा छन् ।

थापामाथि सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहारको कसुरमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ । यद्यपि एनआरएन नेताहरुले उनको रिहाइका लागि दबाव दिइरहेको प्रहरी स्रोतले बतायो ।

आइतबार रमेश थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सिसा फुटाएको प्रहरीको भनाइ छ ।

घटनालगत्तै अध्यागमनका कर्मचारीले प्रहरी बोलाए र थापा पक्राउ परे । सीसीटिभी फुटेजमा थापाले मात्र सिसा फुटाएको देखिएकाले उनीमात्रै पक्राउ परेका हुन् । उनीसँग रहेका अन्य चार जनाको भने कागजपत्र मात्र लिइएको थियो ।

आइतबार राति एक बजे गौशाला प्रहरी वृत्तको हिरासतमा थुनिएका थापालाई सोमबार अध्यागमनको हिरासतमा सारिएको थियो । उनलाई मंगलबार म्याद थपका लागि अदालतमा पेस गर्ने कि जरिवाना लिएर छाड्ने भन्ने निर्क्यौल हुने प्रहरी स्रोतले बतायो ।

थापालाई तत्कालै छाड्नका लागि एनआरएनए नेताहरुले दबाव दिइरहेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।

अध्यागमन विभाग प्रमुख ईश्वरराज पौडेलका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल आगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान-अवतरण केही घण्टा रोकिँदा त्यहाँ धेरै भिडभाड भएको थियो । थापासहितका धेरै व्यक्तिहरु अध्यागमनमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि प्रतिक्षा गरिरहेका थिए ।

अध्यागमन कार्यालयमा नेपाली, निःशुल्क भिसा पाएका सार्क राष्ट्रका नागरिक, चिनियाँ नागरिक र अन्य विदेशी नागरिकहरुको छुट्टाछुट्टै लाइन हुन्छ ।

थापासहितको समूह नेपाली मूलका अष्ट्रेलियन नागरिक हुन् । पर्यटक भिसामा नेपाल आएका उनीहरुले एनआरएनको परिचयपत्र पनि देखाउन नसकेपछि विदेशी नागरिकहरु लामबद्ध भएको लामो लाइनमा राखिएको थियो ।

निःशुल्क भिसाबाहकको लाइन खालि भएपछि उनीहरुले त्यही लाइनमा आफूहरुलाई राख्न माग गर्दै आएका थिए । त्यहीबीचमा एकजना भारतीय नागरिक निःशुल्क भिसाबाहकको लाइनबाट अराइभलको छाप लगाएर बाहिरिए । त्यसपछि भारतीयलाई सजिलै जान दिएको, तर आफूहरुलाई रोकिएको भन्दै थापाले डेस्कको सिसा फुटाइदिएको अध्यागमनका कर्मचारी बताउँछन् ।

विमानस्थलमा कार्यरत एक प्रहरीका अनुसार उच्च अधिकृतबाट थापालाई पक्राउ गर्न आदेश आएपछि अध्यागमनबाट थापालाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि उनलाई राति १ बजे गौशाला प्रहरीको हिरासतमा लगेर राखिएको थियो ।

यो घटनाको प्रत्यक्षदर्शी अध्यागमनका एक कर्मचारीले अनलाइनखरबसँग भने, ‘विदेशमा चाहिँ त्यहाँको कानुनको पालना गर्ने, तर नेपालमा जे गरे पनि हुन्छ भन्ने सोच राख्नेहरुलाई सबक हो यो ।’

यसअघि काठमाडौंबाट सिंगापुर जाँदै गर्दा अत्यधिक मदिरा सेवन गरेको भन्दै सिल्क एयरका क्रु मेम्बरले एनआरएनएका अध्यक्ष भवन भट्टलाई र सनत न्यौपानेलाई जहाजबाट बाहिर निकालिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment