News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तर अण्डमान सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ।
- मौसम पूर्वानुमान महाशाखाले प्रणालीको निरन्तर निगरानी गरिरहेको र यसको जोखिम र सम्भावित असरबारे अहिल्यै यकिन गर्न नसकिने जनाएको छ।
- डा. विनोद पोखरेलले असोज ८ देखि १२ सम्म ४०० देखि ७४१ मिलिमिटरसम्म भारी वर्षा हुन सक्ने देखिएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
- उज्ज्वल उपाध्यायले असोज ८ देखि ११ गतेसम्म अवस्था गम्भीर हुन सक्ने र विशेषगरी असोज १० गते ठूलो जोखिम हुन सक्ने संकेत गरेका छन्।
- मौसमविद्हरूले ठूलो वर्षा भए कृषि क्षेत्रमा असर पुग्न सक्ने भन्दै पाकिसकेको धानबालीमा क्षति हुनसक्ने चेतावनी दिएका छन्।
४ भदौ, काठमाडौं । बंगालको खाडीअन्तर्गत उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको र यसले नेपालमा वर्षा गराउने भए तापनि जोखिमको स्तर र सम्भावित असरबारे अहिल्यै यकिन गर्न नसकिने जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आधिकारिक सूचनाअनुसार उक्त न्यूनचापीय प्रणाली अझै बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै जाने देखिन्छ। हालसम्मको प्रक्षेपणअनुसार यो प्रणाली असोज ७ गते आसपास शक्तिशाली भई ‘डिप्रेसन’ (न्यूनचापीय क्षेत्र) को रूपमा दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ।
विभागले मौसमसम्बन्धी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जाने स्पष्ट पारेको छ।
यद्यपि, स्वतन्त्र मौसमविद्हरूले भने विभिन्न पूर्वानुमान मोडेललाई उद्धृत गर्दै नेपालमा उच्च सतर्कता अपनाउनुपर्ने औंल्याएका छन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार असोज ८–१२ सम्म केही मोडेलले ४०० देखि ७४१ मिलिमिटरसम्मको भारी वर्षा हुन सक्ने देखाएका छन्।
यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने र पूर्वतयारीका लागि समयमै जानकारी गराइएको उनले बताएका छन्।
अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले उपलब्ध मोडेलहरूले असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाइरहेको भन्दै विशेषगरी असोज १० गते ठूलो जोखिम हुन सक्ने संकेत गरेका छन्।
उनले सुदूरपश्चिमबाहेकका क्षेत्रमा असोज ८, ९ र १० गते लामो दूरीको यात्रा स्थगन गर्न सुझाव दिँदै सर्वसाधारणलाई नआत्तिन तर हदैसम्म सावधान रहन आग्रह गरेका छन्। गत वर्षको चक्रवातझैँ यो प्रणाली नेपाल आइपुग्दासम्म कमजोर हुन सक्ने झिनो आशा रहे पनि तयारीमा भने कमी गर्न नहुने उनको भनाइ छ।
पूर्वानुमानअनुसार ठूलो वर्षा भएमा विशेषगरी कृषि क्षेत्रमा गम्भीर असर पार्न सक्नेछ। पाकिसकेको धानबालीमा क्षति पुग्न सक्ने हुँदा किसानहरूलाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।
उत्तर थाइल्यान्ड र म्यानमार क्षेत्रबाट अघि बढेको यो प्रणाली बंगालको खाडीको मध्य भागतर्फ सर्दै जाँदा चक्रवातमा परिणत भएमा, यो सन् २०२६ को उत्तर हिन्द महासागर क्षेत्रको पहिलो उष्णकटिबन्धीय चक्रवात बन्नेछ।
विश्व मौसम संगठनको सूचीअनुसार चक्रवात बनेको खण्डमा बंगलादेशले प्रस्ताव गरेअनुरूप यसको नाम अर्नब राखिनेछ।
प्रतिक्रिया 4