Comments Add Comment

पार्किङ गर्न सडक नै ठेक्कामा

३० असोज, पोखरा । सडकमा दिनानुदिन बढिरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न पोखरा महानगरले छुट्टै पार्किङस्थल बनाइसकेको छैन । पार्किङको समस्यालाई व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अगाडि नै अस्तव्यस्त पार्किङ हुने गरेका छन् । मुख्य सडकमा बढी जाम हुन्छ भनेर शाखा बाटो हिँड्दा पनि अचेल छिचोल्न गाह्रो छ ।

जिल्ला यातायात कार्यालयको प्रतिवेदन अनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । निश्चित पार्किङ स्थल बनाउने र पार्किङलाई व्यवस्थित गराउनेतर्फ महानगरले उचित योजना ल्याउन सकिरहेको छैन । महानगरले उल्टै सडकमै पार्किङ गर्न टेन्डर आह्वान गर्ने गरेको छ ।

दैनिक थेग्नै गाह्रो हुने साना तथा ठूला सवारी साधनको आवतजावत र उनीहरुले निम्त्याउने पार्किङ समस्याबारे महानगरले ध्यान दिन सकेको छैन । पोखरा मुख्य बजार क्षेत्रको सवारी चाप र पार्किङ समस्यालाई कम गर्न महानगरले प्रदर्शनी केन्द्र नजिक पार्किङ क्षेत्र बनाएको छ । तर, वैज्ञानिक तवरले व्यवस्थित नगर्दा त्यसले उल्टै ‘तनाव’ दिइरहेको सवारी धनी बताउँछन् ।

सडकमा पार्किङ गर्न पटक–पटक टेन्डर आह्वान गर्दा पनि अत्यन्त न्यून आवेदन पर्छ । अहिले महानगरले सडकमै पार्किङ गर्न छैठौं पटक सूचना आह्वान गरेको छ, जसमा २ वटा कम्पनीले मात्र आवेदन दिएको पोखरा महानगरपालिकाका लेखा अधिकृत छवि शर्मा बताउँछन् ।

७ करोडको टेन्डर ३ करोडमा !

महानगरले पहिलो पटक ७ करोड रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । तर, पहिलो पटक कुनै टेन्डर परेन । टेन्डरको समय गुज्रिसकेपछि दोस्रो र तेस्रो पटक फेरि उही मूल्यमै टेन्डर आह्वान गर्‍यो । दोस्रो पटक पनि कुनै कम्पनी सडकमा पार्किङ शुल्क उठाउन इच्छुक देखिएनन् ।

‘बोल रकम’ बढी भएकाले टेन्डर नपरेको निश्कर्ष निकाल्दै महानगरले चौथोे पटक ३० प्रतिशत घटाएर टेन्डर आह्वान गर्‍यो । न्यूनतम् मूल्य ५ करोड ३९ लाख रुपैयाँ तोकेर आह्वान भएको टेन्डरमासमेत कुनै कम्पनीले आवेदन दिएनन् ।
यो पनि पढ्नुहोस पोखरामा फेरि सडकमै पार्किङ ठेक्का दिने तयारी

चौथो पटक महानगरले पहिले टेन्डर गरेको टेन्डरमा २० प्रतिशत मूल्य बढाएर फेरि टेन्डर आह्वान गर्‍यो । अघिल्लो पटक महानगरले २ करोड ८८ लाख रुपैयाँमा सम्झौता गरेको थियो । सोही सम्झौतामा आधारित रहेर २० प्रतिशत बढ्ने गरी ३ करोड ६ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । तर चौथो पटकको महानगरको योजनामा पनि कोही जोडिन चाहेनन् ।

पाँचौ पटक कम्पनीको आशयपत्र माग गरेर महानगरले सूचना निकाल्यो । पाँचौ पटकको सूचनामा ३ कम्पनी महानगरसँग काम गर्न इच्छुक देखिए । तर, उनीहरुसँग पनि सम्झौता हुन सकेन । आवेदन दिएका ३ कम्पनी नियमसंगत नभएको भन्दै सम्झौता हुन नसकेको अधिकृत शर्मा बताउँछन् । ‘आवेदन दिएका ३ वटा कम्पनीमध्ये २ वटा कम्पनीले पछि आएर आफैं काम गर्दैनौं भने । अर्को कम्पनीले बैंक धरौटी राख्न नमानेपछि सम्झौता हुन सकेन,’ उनले भने ।

अहिले महानगरले छैठौं पटक टेन्डर आह्वान गरेको छ । छैठौं पटकको टेन्डरमा २ वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका छन् । जसमध्ये सुस्मिता कन्स्ट्रक्सनले ३ करोड ३० लाखमा काम गर्न प्रस्ताव गरेको छ भने सबस्वीकृति कम्पनीले करोड ६ लाखमा आवेदन दिएको छ ।

महानगरका लेखा अधिकृत छवि शर्मा दुवै कम्पनीलाई मूल्यांकन समितिले छनोट गरिसकेको बताउँछन् । ‘मूल्यांकन समितिले दुवै कम्पनीलाई छनोट गरेको छ । अब महानगरको बैठकमा पेश गर्छौं । बैठकको निर्णयपछि मात्रै ती कम्पनीले सडक पार्किङ शुल्क उठाउन पाउने वा नपाउने निश्चित हुन्छ,’ उनले भने । पहिलो पटक ७ करोड रुपैयाँमा निकालेको टेण्डर छैठौं पटकसम्म आइपुग्दा ३ करोड रुपैयाँमा झरेको हो ।

पहिलेकै कम्पनीबाट पैसा असुल्न बाँकी

पोखरा महानगरले पोखराका मुख्य क्षेत्रमा पार्किङ व्यवस्थित गर्न र शुल्क उठाउन २०७३ सालमा अशेष निर्माण सेवालाई जिम्मा दिएको थियो । त्यसबेला महानगरले २ वर्षको सम्झौतासहित २ करोड ८८ लाखमा उक्त कम्पनीलाई टेन्डर दिएको थियो । जसको अवधि सकिएकोमात्रै १ वर्ष बितिसकेको छ ।

महानगरले उक्त कम्पनीबाट अहिलेसम्म १ करोड २५ लाख उठाउन बाँकी छ । महानगर राजश्व शाखाका अनुसार उक्त कम्पनीबाट पैसा असुल्न ‘प्रक्रिया’ सुरु भइसकेको छ । ‘महानगरले कम्पनीको बैंक ग्यारेन्टीवापतको १ करोड रुपैयाँ जफत गरिसकेको छ,’ लेखा अधिकृत शर्माले भने, ‘बाँकी २५ लाख उठाउन तनहुँ छाप्देमा रहेको कम्पनीको जग्गा लिन करिब १ महिनाअघि उच्च अदालतले फैसला गरिसकेको छ ।’

कम्पनीले धरौती राखेको तनुहँ छाप्देको जग्गा तेस्रो पक्षको भएकाले उक्त पक्षले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेकाले काममा ढिलाइ भइरहेको अधिकृत शर्माले प्रष्ट्याए । उनले भने, ‘जिल्ला अदालतले कारण मागेको थियो । महानगरले बुझाइसकेको छ । हामीले जग्गा लिलामी गर्न पाउने फैसला उच्च अदालतले गरिसकेकाले पनि फरक नपर्ला,’ उनले भने, ‘कम्पनीसँग बाँकी भएको रकम केही समयमै सबै जफत गरिसक्छौं ।’

कहाँ कति पार्किङ शुल्क ?

महानगरको टेन्डर सूचनाअनुसार महानगरभित्र सेती नदी पुल पृथ्वीचोक, सभागृह चोक जिरो किलोमिटर, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, सिद्धार्थचोक, नागढुंगालगायत ठाउँमा मिनी बस, माइक्रो बस पार्किङ गरेबापत प्रतिघन्टा ३० रुपैयाँको दरले उठाउन पाउने छ । कार, जिप प्रतिघन्टा २० र मोटरसाइकल स्कुटर प्रतिदिन १० रुपैयाँका दरले ठेक्का लिने कम्पनीले पार्किङ शुल्क उठाउन पाउनेछ ।

अन्य सडकअन्तर्गत अमरसिंह चोकदेखि पृथ्वीचोकसम्म, मुस्ताङचोकदेखि बिरौटा हुँदै छोरेपाटनसम्म, पालिखेचोकदेखि नदीपुर बगर हुँदै केआईसिंह पुलसम्म लगायतका ठाउँमा पार्किङ शुल्क उठाउन पाइने छ । उक्त ठाउँमा ठूला बस–ट्रकको प्रतिघन्टा ३० रुपैयाँ, मझौला मिनीबस, माइक्रोबस प्रतिघन्टा २० तथा कार, जिप, भ्यान प्रतिघन्टा १५ रुपैयाँ र मोटरसाइकल, स्कुटरको प्रतिदिन १० रुपैयाँ पार्किङ शुल्क उठाउन पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment