Comments Add Comment

बहुविवाहको उजुरीमा मिलापत्र गर्न प्रहरीको दबाव

श्रीमान् पक्राउ, न्यायका लागि श्रीमती भौंतारिँदै

३० असोज, काठमाडौं । बहुविवाहको उजुरीमा कारबाही प्रक्रिया अघि नबढाएर नेपाल प्रहरीले मिलापत्र गर्न दबाव दिएको खुलेको छ । काठमाडौं सामाखुसीकी एक महिलाले सोह्रखुट्टे वृत्तमा गरेको बहुविवाहको उजुरीमा प्रहरीले मिलापत्र गर्न दबाव दिएको हो ।

जनप्रशासन क्याम्पस, बल्खुमा कार्यरत् एक कर्मचारीले ३ मंसिर ०७३ मा मागेरै पहिलो विवाह गरेका थिए ।  त्यसको २ वर्षपछि २९ चैत ०७५ मा उनले गुपचुप दोस्रो  गरे, आफ्नै विद्यार्थीसँग ।

पहिलो बिहेको दर्ता नगरेका उनले दोस्री श्रीमतीसँग भने विवाह दर्ता गराएका थिए । काठमाडौं महानगरपालिकाको २६ वडा कार्यालयमा ती कर्मचारीले ०७५ चैत २९ गते विवाह दर्ता गराएको जेठी श्रीमतीको दाबी छ । श्रीमानले दोस्रो बिहे गरेको यही असोज २४ गतेमात्रै थाहा पाएपछि प्रहरीकोमा पुगेको उनको भनाइ छ ।

श्रीमानले सौता भित्राएको थाहा पाएलगत्तै उनी सामाजिक प्रमाणसहित न्यायका लागि प्रहरीको वृत्त सोह्रखुट्टे पुगेकी थिइन् । उनले प्रहरीसमक्ष  विवाह भएको सामाजिक प्रमाणको रुपमा भिडियो, फोटो र साक्षी आफन्तहरुलाई पेश गरेकी छन् ।

जाहेरीपछि अभियुक्त पक्राउ गरेर प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा पुर्‍याउनु पर्ने हुन्छ । यस किसिमकाे मुद्दामा मिलापत्र गराउने वा गर्न दबाव दिने विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन

उजुरीपछि बुधबार उनका श्रीमानलाई प्रहरीले पक्राउ पनि गरेको छ । उनी हाल सोह्रखुट्टे प्रहरी वृत्तकै हिरासतमा छन् । तर, प्रहरीले आरोपित पक्राउपछि कानूनी प्रक्रिया अघि बढाउन छाडेर उल्टै मिलापत्रका लागि दबाव दिएको पीडित महिलाको गुनासो छ ।

‘म पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने श्रीमान् र महिलालाई कारबाही गर्न माग गर्दै मैले प्रहरी वृत्त सोह्रखुट्टेमा बुधबार निवेदन दर्ता गराएको थिएँ’, पीडित महिलाले भनिन्, ‘श्रीमान् पक्राउपछि कानूनी प्रक्रिया अघि बढाउनु पर्ने भए पनि मिलापत्रका लागि सोह्रखुट्टे प्रहरीले मलाई दबाव दिइरहेको छ ।’

पीडित महिलाका अनुसार उनका श्रीमान् पक्षले कान्छी श्रीमतीसँग छोडपत्र भइसकेको भन्दै कागजपत्र प्रहरीसमक्ष पेश गरेको छ । सोही कागजका आधारमा प्रहरीले मिलापत्र गराउन आफूलाई दबाव दिइरहेको पीडित पक्षको गुनासो छ ।

‘वकिलले सम्बन्धविच्छेद गराएको कागजको चिर्कटो पेस गरेको भरमा प्रहरीले मलाई मिलापत्रका लागि दबाव दिइरहेको छ, तारन्तार फोन गरेर मिलापत्रका लागि छिटो आउनुस्, नभए उहाँलाई छाड्छौं भनिरहनु भएको छ’, ती महिलाले भनिन्, ‘कानूनले दण्डनीय मानेको कार्य गर्ने दुवै जनालाई कारबाहीको दायरामा नल्याई म मिलापत्र गर्नेवाला छैन ।’

कानूनतः बहुविवाह पीडितले प्रहरीमार्फत न्यायिक प्रक्रिया थाल्न सक्छन् । जाहेरीपछि अभियुक्त पक्राउ गरेर प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा पुर्‍याउनु पर्ने हुन्छ । यो मुद्दामा मिलापत्र गराउने वा गर्न दबाव दिने विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन ।

मुलुकी अपराधसंहिताको दफा १७५ को उपदफा १ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने उल्लेख छ । श्रीमती भएको थाहा हुँदाहुँदै विवाह गर्ने महिला पनि यसमा दोषी हुन्छिन् । थाहा नदिई विवाह गरेको अवस्थामा भने महिला कारबाहीको भागिदार हुन्नन् । बहुविवाह प्रमाणित भएमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म अदालतले जरिवाना गराउन सक्ने मुलुकी संहितामा व्यवस्था गरिएको छ ।

प्रहरी भन्छ– सरकारी वकिलसँग राय लिँदैछौं

कानूनको रक्षक प्रहरीले बहुविवाहको उजुरीपछि प्रक्रिया अघि बढाउनु पर्ने भए पनि मिलापत्रका लागि दबाव दिएको विषय बाहिरिएको छ ।

यसबारे जानकारी लिन प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरसँग सम्पर्क गर्दा उनले कुरा गर्न मानेनन् । बहुविवाहको केसको विषयमा कुरा गर्न खोजेको भन्दाबित्तिकै उनले ‘मुद्दा शाखाका सई (रामबहादुर महतारा) सँग कुरा गर्नुस् भन्दै फोन दिए ।

सई महताराले आफूहरुले मिलापत्र गर्न दबाव नदिएको दाबी गरे । उनले भने, ‘हामीले त्यस्तो गर्ने कुरै हुँदैन । यसबारे सरकारी वकिलसँग राय लिएर अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment