News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङका थाक्रे, धुनिबेसी र गल्छी क्षेत्रमा रहेका १७ होटल तथा रेस्टुरेन्टको अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्तर निर्धारण गरेको छ ।
- अनुगमनमा गल्छीको ट्रिपल क्राउन रिसोर्ट र धुनिबेसीको ट्रान्जिट हाउस रेस्टुरेन्टले ‘उत्तम’ स्तरसहित ‘२ तारा सहितको हरियो स्टिकर (बी)’ पाएका छन् ।
- थाक्रे–२ को न्यू काष्ठमण्डप होटलले ‘सन्तोषजनक’ स्तरसहित ‘१ तारा सहितको हरियो स्टिकर (सी)’ पाएको छ भने १४ होटल तथा रेस्टुरेन्टले ‘पहेँलो स्टिकर (डी)’ पाएका छन् ।
२९ असोज, काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालनमा रहेका धादिङ राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टको अनुगमन र स्तर निर्धारण गरिएको छ ।
यात्रुलाई खाजा र खाना खुवाउने क्रममा होटलले सरसफाइमा ध्यान नदिएको, बासी तथा झिँगा भन्केका न्यून गुणस्तरका खाना उपलब्ध गराएको र अत्यधिक मूल्य असुल गर्ने गरेको जनगुनासो बढेपछि सरकारले अनुगमन गरेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङको थाक्रे, धुनिबेसी र गल्छी क्षेत्रमा अवस्थित १७ वटा होटल तथा रेस्टुरेन्टको अनुगमन गरी स्तर निर्धारण गरेको छ ।
विभागको अनुगमन टोलीले गरेको स्तर निर्धारण अनुसार जम्मा दुई वटा होटलले मात्र ‘उत्तम’ स्तर प्राप्त गरेका छन् । गल्छी गाउँपालिका–४ मा रहेको ट्रिपल क्राउन रिसोर्ट प्रालि र धुनिबेसी–१ मा रहेको ट्रान्जिट हाउस रेस्टुरेन्ट प्रालिले उत्तम स्तर कायम गर्दै ‘२ तारा सहितको हरियो स्टिकर (बी)’ पाएका छन् ।
यसैगरी, थाक्रे–२ मा अवस्थित न्यू काष्ठमण्डप होटलले ‘सन्तोषजनक’ स्तर कायम गरी ‘१ तारा सहितको हरियो स्टिकर (सी)’ प्राप्त गरेको छ ।
अनुगमन गरिएकामध्ये अधिकांश अर्थात् १४ वटा होटल तथा रेस्टुरेन्टको अवस्था भने ‘सामान्य’ मात्र पाइएको छ । सामान्य स्तर पाउने सबै होटल तथा रेस्टुरेन्टलाई विभागले ‘पहेँलो स्टिकर (डी)’ प्रदान गरेको छ ।
यसरी पहेँलो स्टिकर पाउनेमा थाक्रे–१ का होटल न्यू नमस्ते नेपाल एण्ड कोल्ड स्टोर, कान्तिपुर होटल एण्ड लज र न्यू पाथीभरा होटल रहेका छन् ।
त्यसैगरी, थाक्रे–२ को होटल सयपत्री, थाक्रे–६ का दिवासी कोल्ड स्टोर र श्री अन्नपूर्ण होटल, तथा थाक्रे–८ मा रहेका रिया होटल र न्यू सुपा देउराली होटलले सामान्य स्तरको पहेँलो स्टिकर पाएका छन् ।
धुनिबेसी र गल्छी क्षेत्रमा रहेका अन्य विभिन्न होटलको अवस्था पनि सामान्य नै पाइएको छ । धुनिबेसी–६ को थकाली भान्सा घर, धुनिबेसी–१ का हाईवे ब्रेक पोइन्ट कोल्ड स्टोर, हाईवे किङ्ग फास्टफुड एन्ड रेस्टुरेन्ट र न्यू पाण्डे खाजा घर एन्ड लज, तथा धुनिबेसीमै रहेको न्यू आँधी खोला होटलले पहेँलो स्टिकर प्राप्त गरेका छन् ।
यसका साथै, गल्छी–६ मा रहेको जुनतारा रेस्टुरेन्ट एन्ड लजले पनि सामान्य स्तर प्राप्त गर्दै पहेँलो स्टिकर पाएको विभागले जनाएको छ ।
राजमार्गका होटलमा यात्रु ठगिने र अस्वस्थकर खाना खान बाध्य हुने गुनासो बढिरहेको समयमा विभागले गरेको यस अनुगमन र लोगो स्तरीकरणले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न मद्दत पुग्ने विभागको दाबी छ ।
प्रतिक्रिया 4