Comments Add Comment

सिन्धुलीमा गढी दरबार र युद्धकला संग्रहालय बन्ने

२५ कात्तिक, रामेछाप । नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुली गढीमा गढी दरवार र युद्धकला संग्रहालय निर्माण हुने भएको छ । ऐतिहासिक सिन्धुली गढीमा प्रदेश-३ सरकारले दरवार निर्माण गर्ने भएको छ भने नेपाली सेनाले युद्ध संग्रहालयको निर्माण गर्ने भएको छ ।

नेपाल आक्रमणको लागि भारतबाट जनकपुर हुँदै काठमाडौंतर्फ हिँडेको ब्रिटिस सेनालाई सिन्धुली गढीमा वि.सं. १८२४ मा नेपाली सेनाले आक्रमण गरि कात्तिक २४ गतेको दिन पराजित गरेर विजय प्राप्त गरेको थियो । अत्याधुनिक हतियारसहित आएको ब्रिटिस सैनिकलाई गढीमा बसेका नेपाली सेनाले तोप तथा ढुँगा मुढा हानेर आक्रमण गरेका थिए । उनीहरुले जंगलमा रहेको अंरिगालको गोलामा ढुँगा हान्दा अरिंगाल बिच्किन गई ब्रिटिस सेनालाई टोक्दा ब्रिटिस सेना भागाभाग भएको इतिहासमा उल्लेख छ । भाग्ने क्रममा उनीहरुलाई लेकाली सिस्नो र अल्लोले पोलेपछि ब्रिटिस सेना तितर वितर भएको थियो । ब्रिटिस सेनाको नेतृत्व गर्दै आएका किनलक पराजय स्विकार गरी भागेर भारत फर्किएका थिए ।

ऐतिहासिक सिन्धुली गढीमा लामो समय सिन्धुली र रामेछाप जिल्लाको भूभाग समेत हेर्ने गरी सदरमुकाम बसेका थियो । बडाहाकीम बस्ने सो स्थानमा दरबार पनि रहेको थियो । औलो हराएसँगै गढीको सदरमुकाम सिन्धुली माढीमा झरेपछि सिन्धुली गढी विस्तारै ओझेलमा पर्यो ।

तत्कालीन माओवादी पार्टीले २०५२ मा सशस्त्र युद्धको घोषणा गरेपछि सिन्धुली गढीमा रहेको प्रहरी चौकिमा आक्रमण गरे । माओवादीले आक्रमण गरेपछि प्रहरी चौकी विस्थापित भई माढीमा सर्यो । त्यस पछि दरबारको संरक्षण हुन सकेन । दरबारको छानोमा छाएका जस्ता, घरका ढोका तथा काठहरु र इँटा समेत स्थनीयले चोरेर लगे । स्थानीयकै कारण ऐतिहासिक गढी दरबारको अस्तित्व सदाका लागि लोप भएको स्थानीय सुष्पा भुजेल बताउँछिन् । अहिले पनि चपौलीका स्थानीयको घरमा गढी दरवारका इँटा र जस्ता तथा काठ भएको उनले बताइन् ।

इतिहासको गर्भमा हराएको गढी दरबार र दरबार क्षेत्रको पुन: उत्खननको काम सुरु भएको छ । सो क्रममा त्यतिबेला सेनाले पानी खान बनाएको इनार, ढुंगा खोपेर पानी खान बनाएको ट्याङ्की, लडाइँ लड्नको लागि बनाएका बंकरहरु, तोप, तोप हान्ने ठाउँ लगायतका स्थान र सामाग्री फेला परेका छन् । तिनको संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकसित गरिँदै आएको गढीमा अब पुनः गढी दरबार र युद्ध संग्रहालय बन्ने भएको छ ।

नेपाली सेनाले बनाउन लागेको युद्ध संग्राहलय ४ करोड ५० लाखा रुपैयाँको लागतमा बन्ने भएको छ । सो संग्राहलयमा अंग्रेज सेनासँग नेपाली सेनाले लड्दा प्रयोग गरिएका सामाग्रीहरु व्यवस्थित तरिकाले राखिने नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए । सो संग्रहालयको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले शिलान्यास गरेका छन् ।

यसै गरी गढी दरबार बनाउनको लागि प्रदेश सरकाले बजेट विनियोजन गरेको प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेलले बताए । उनका अनुसार प्रदेश सरकारले दरवबार निर्माणको लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाले पनि गढीलाई एतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment