Comments Add Comment

उपसभामुखलाई महाअभियोग लगाउने त ?

'सभामुख बनाउने निर्णय गरेपछि उपसभामुखको राजीनामा आउँछ'

६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको प्रवास कमिटी इञ्चार्ज तथा महिलाको मुद्दामा पार्टीभित्र फरक मत राख्दै आएकी नेकपा नेतृ विन्दा पाण्डेले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको बचाऊ गरेकी छिन् । पार्टीले सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिने पाण्डे बताउँछिन् ।

मन्त्री बन्न उपसभामुखबाट राजीनामा दिन प्रधानमन्त्रीकोले गरेको आग्रह अश्वीकार गरेकी तुम्बाहम्फेको पक्षमा पाण्डेसहित नेकपाका महिला सांसदहरु उभिएका छन् । तुम्बाहम्फेलाई सभामुख बनाउन लबिङ गरिरहेका सांसदको नेतृत्व विन्दा पाण्डेले गरेको चर्चा चलिरहेका बेला उनले योग्यता, क्षमता र अनुभवका आधारमा अहिलेकै उपसभामुखलाई सभामुख बनाउनुनर्पे दाबी गरिन् ।

अनलाइनखबरसँग कुरा गर्दै पाण्डेले भनिन्- ‘साँच्चै भन्ने हो भने अहिले त उहाँलाई हटाउने हो भने कि त महाअभियोग लगाउनुपर्‍यो कि राजीनामा दिनुपर्ने हुन्छ । मन्त्री हुन नमानेको भएर महाअभियोग लगाउनुपर्‍यो कि त !’

सभामुख र उपसभामुखको विषयमा केन्द्रित रहेर पाण्डेसँग गरिएको संक्षिप्त कुराकानी-

उपसभामुखलाई राजीनामा नगराउनमा तपाईंलगायत नेकपाकै महिला सांसदहरुको ‘ब्याकअप’ छ भन्ने पनि सुनियो नि ?

ब्याकअप छ कि छैन भन्ने नै होइन । यसमा कसैको ब्याकअप जरुरी नै छैन । अहिलेको हाम्रो उपसभामुख डा.शिवमाया तुम्बाहम्फेलाई यति कुरा गर्न कसैको ब्याकअप चाहिँदैन । संसदीय प्रणालीमा सभामुख पनि नभएका बेला संसदलाई गतिशील बिनाउन, जीवित राख्न उपसभामुखको कुर्सी खाली गर्नु हुँदैन भन्ने कुरा कसैले ब्याकअप नदिए पनि उहाँ यति बुझ्न सक्ने मान्छे हो ।

प्रधानमन्त्रीले मन्त्री बनाउँछु, उपसभामुखबाट राजीनामा गर्नुस् भन्दा उपसभामुखले नमानेको भन्ने कुरा आएको छ, उहाँले संसद खाली गर्दिनँ भन्दै प्रधानमन्त्रीको आग्रह अश्वीकार गरेको कुरा सत्य हो ?

संसदमा सभामुख र उपसभामुख दुई महत्वपूर्ण पद हो । उपसभामुख मात्रै भएका बेला उहाँले पनि राजीनामा दिने भनेको चाहिँ हामीले पूर्णतः संसदलाई निष्कृय बनाउने कुरा हो । उहाँले संसदलाई खाली गर्नु हुँदैन भन्नुभएको हो भने उहाँले एकदमै सही कुरा गर्नुभयो ।

उपसभामुखको व्यवस्था हामीले किन गर्‍यौं भने सभामुख नभएको अवस्थामा पनि संंसदलाई गतिशील हिसाबले अघि बढाउनुपर्छ भनेर हो । अहिले सभामुख हुनुहुन्न, संसदको पदाधिकारी भनेको अहिले उपसभामुख नै हो । भोलि संसद रहला वा नरहला । विघटन भएको स्थितिमा पनि सभामुख र उपसभामुख त जीवित रहने पद हुन् ।

यसको मतलब उहाँलाई सभामुख बनाउने शर्तमा मात्र राजीनामा गराउने हो ?

यसमा चाहिँ सामान्य मान्छेले पनि बुझ्ने कुरा हो कि कुनै ठाउँमा उप भन्ने पद राख्छौं भने मुख्य मान्छे नहुँदा काम चलाउनपर्छ भनेर व्यवस्था गर्ने हो । उप भन्ने कुरा त्यतिकै बनाउने पनि होइन । ऊ चाहिँ आवश्यक पर्दा प्रमुख पद चलाउन सक्छ भन्ने हैसियतले उप बनाउने हो ।

अहिले हाम्रो सभामुख खाली भएको स्थितिमा त्यसको पहिलो दाबेदार भनेको स्वतः उपसभामुख हो । हामीले बिगतको कुरा हेर्ने हो भने पनि २०७२ मा जब संविधान घोषणा भयो त्यसबेला पनि हामीले जो उपसभामुख हुनुहुन्थ्यो उहाँलाईनै सभामुख बनायौं ।

अहिले सभामुख खाली भएपछि उपसभामुखलाई सभामुख किन नबनाउने भन्ने त स्वतः प्रश्न हुने नै भयो । अर्को पक्ष हेर्ने हो भने अहिले सभामुखका लागि बजारमा केही केही साथीहरुको चर्चा आएको छ । ती चर्चामा आएका मानिस हाम्रै पार्टीका कमरेडहरुनै हो र सभामुख हुने हाम्रै पार्टीबाट हो ।

यो पनि पढ्नुहोस उपसभामुख शिवमायाको शर्त : सभामुख बनाउने भएमात्र राजीनामा दिन्छु

चर्चामा आएका ती कमरेडहरु र अहिलेको उपसभामुखबीच तुलना गरौं न त । भोलि सभामुख चलाउनका लागि जुन खालका योग्यता र क्षमता तथा अनुभवहरु चाहिन्छन् ती सबै कुरालाई एउटा तालिका बनाएर तुलना हेर्ने हो भने अहिलेको उपसभामुखचाहिँ के कुरामा अरुभन्दा अयोग्य हुनुहुन्छ र उहाँलाई सभामुख बनाउन नहुने त ? यो प्रश्नको जवाफ त दिनुपर्छ होला नि त ।

पार्टीले मन्त्री बनाउँछ त्यसले गर्दा तपाईं राजीनामा दिनुस् भन्दै गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको संसद खाली गरेर जान्न भन्ने कुरानै हो । भोलि संसदमा अर्को व्यक्तिलाई सभामुखको उम्मेदवारका रुपमा अघि बढाउने भएकाले उपसभामुखले राजिनामा देऊ भन्दा पनि के कारणले उहाँ सभामुख नभएर अर्को मान्छेलाई बनाउनुपर्ने ? त्यसको पनि जस्टिफिकेशन चाहिन्छ होला ।

त्योबेला त पार्टीको निर्णय भनिएला नि ?

साँच्चै भन्ने हो भने अहिले त उहाँलाई हटाउने हो भने कि त महाअभियोग लगाउनुपर्‍यो कि राजीनामा दिनुपर्ने हुन्छ

त्यसरी हुँदैन । अरु ज-जसको चर्चा भइरहेको छ, उहाँहरु चाहिँ अहिलेको उपसभामुख भन्दा के कारणले योग्य हुनुभयो भन्ने कुरा पुष्टि गर्नुपर्छ । विना आधार र पुष्ट्याई कसैलाई पनि भइराखेको ठाउँबाट हटाइने कुरा सामाजिक न्यायको हिसाबले पनि अन्याय हो । अर्को कुरा अनुभवकै कुरा गर्नुहुन्छ भने त अहिले हामीसँग को को हुनुहुन्छ हेरौं ।

संसद कसरी चलाउने अनुभव भएका तीन चारजना मान्छेभित्र हाम्रो पार्टीभित्र डा.शिवमाया पर्नुहुन्छ । हिजो सभामुख चलाइसक्नु दुईजना साथीहरु हाम्रो पार्टीमा हुनुहुन्छ । उपसभामुख चलाइसकेको एकजना साथी अहिले संसदीय समितिको सभापति हुनुहुन्छ । त्योभन्दा बाहेक त अनुभवी मान्छे त अहिलेको उपसभामुख नै हो ।

संसद चलाउने जीवन्त अनुभव भएको व्यक्ति कोही छ भने अहिलेको अवस्थामा त उपसभामुखनै हो नि । अनुभवका आधारमा ग्राहृयता दिने हो भने उहाँ अरुभन्दा योग्य हो । राजनीतिक हिसाबले निरन्तरताको कुरा गर्ने हो भने उहाँ अरुभन्दा पछि लाग्नुभएको हो र ? क्षमताको हिसाबले अरुभन्दा केमा कम हुनुभयो ? शैक्षिक योग्यताकै कुरा गर्ने हो भने उहाँ पीएचडी नै हो ।

सबै कुरा हेरिसकेपछि यदि उहाँलाई सभामुख बनाइएन भने एउटै कारणले बनाइएन भन्ने बुझ्नुपर्छ, उहाँ महिला भएर जन्मिनु नै सभामुख बन्ने योग्यता पुगेन । त्यही नै हो त उहाँको कमजोरी ? नेपाल कम्युनिस्ट समानताको एजेण्डा स्थापित गर्दै आएको छ । एउटा महिला सबै हिसाबले योग्य हुँदा हुँदै पनि राजीनामा दिएर मन्त्री बन भनेर मेरो पार्टीले भन्यो भन्ने कुरै म पत्याउँदिनँ ।

मेरो पार्टीले महिलालाई अघि बढाउने सन्दर्भमा विगतदेखि जुन प्रयास गरेको छ, सधैंभरि राष्ट्रपति देखाएरमात्रै सिंगो महिला आन्दोलन अघि बढेको छ भन्न त सकिँदैन नि । हामीले दुईचारवटा मान्यता स्थापित गरेका छौं । एमालेले नै २०६३ सालमा सार्वजनिक महत्वको प्रस्तावमार्फत महिला हक स्थापित गरेको हो ।

महिलालाई एकतिहाई प्रतिनिधित्वको कुरा पनि नेकपा एमालेले पहिलो पटक स्थापित गरेको हो । राष्ट्रपति, सभामुख हामीले नेकपाले नै बनाएको हो । यो सबै श्रृंखला हेर्दा यो पार्टी महिला नेतृत्व स्थापित गर्ने सन्दर्भमा अरुभन्दा अगाडि छ भन्ने कुरा स्थापित गर्नुपर्छ ।

आज कुनै पनि कारण बिना उपसभामुखलाई सभामुख बन्नबाट रोकेर अन्त लगिन्छ भने हाम्रो यो सबै इतिहास यसले खण्डन गर्ने स्थिति हुन्छ । मेरो विश्वास भनेको नेकपाले सिंगो इतिहासलाई खण्डन गर्ने काम गर्दैन भन्ने नै हो । अहिलेको अवस्थामा उपसभामुखलाई राजीनामा दिएर मन्त्री बन्न आउ भनियो भन्नेनै मलाई विश्वास छैन ।

यदि भनेको हो भने पत्रिकाहरुमा आए अनुसार उहाँले अश्वीकार गर्नुभएको हो भने त्योचाहिँ एकदम ठीक गर्नुभयो । उहाँले आफ्नो जिम्मेवारीलाई अनुभूति गरेर नै भन्नुभएको होला । भोलिको सबैभन्दा उचित सभामुखको उम्मेदवार भनेको अहिलेको उपसभामुख नै हो भनेर मेरो पार्टीले निर्णय गर्छ भन्नेमा म विश्वस्त छु ।

त्यसो भए उहाँले उपसभामुखबाट राजीनामा नदिने त ?

राजीनामा नदिने भन्नुभएको छैन । अहिले खाली नगरौं भन्ने हो । भोलि उहाँ सभामुखको उम्मेदवार बन्ने अवस्थामा पार्टीले निर्णय गरेपछि त उपसभामुखबाट राजीनामा दिनैपर्छ । अहिले नै मन्त्री हुनका लागि राजीनामा देऊ भनियो भन्ने कुराचाहिँ मलाई विश्वास नै छैन । भनेको भए पनि यो गलत कुरा हो । कतैबाट गलत प्रस्ताव आएको हो र उहाँले राजीनामा नदिएको हो भने सही निर्णय गर्नुभयो ।

तर, सभामुख पद त भागबण्डामा पूर्वमाओवादीले पाउने होइन र ?

हाम्रो त पार्टी एउटै भइसक्यो । गुटका कुरा मलाई थाहा छैन । विगतमा कसका गुट थिए, कसका छुट्टै पार्टी थिए अब त्यो इतिहास भइसक्यो । अहिले साँच्चै भन्दा उपसभामुख पार्टीको मान्छे नै होइन । पार्टीकै नभएपछि गुटमा हुने कुरै रहेन । पार्टीलाई त त्यो पनि सजिलो छ । पार्टीभित्रबाट मान्छे खोज्न थालियो भने कुन गुट, कुन पूर्वसमूह भन्ने हुन्छ । अहिले गुट पनि नभएको,पार्टी पनि नभएको र सबै योग्यता अनुभव पनि भएको मान्छे उहाँनै हो ।

अब निकास त उपसभामुखमै छ नि ?

सभामुख बनाउँछौं, उम्मेदवारीका लागि उपसभामुखबाट राजीनामा देऊ भनेको त होइन होला । जुन दिन पार्टीले सभामुखको उम्मेदवार बनाउने निर्णय गर्छ, उहाँले राजीनामा दिनुहुन्छ । खासमा अहिले त उहाँ पार्टीको सदस्य पनि होइन हृवीप लाग्नलाई । साँच्चै भन्ने हो भने अहिले त उहाँलाई हटाउने हो भने कि त महाअभियोग लगाउनुपर्‍यो कि राजीनामा दिनुपर्ने हुन्छ ।

मन्त्री हुन नमानेको भएर महाअभियोग लगाउनुपर्‍यो कि त । तर, मलाई विश्वास नै लाग्दैन , उहाँलाई मन्त्री बन्नका लागि उपसभामुखबाट राजीनामा दिनुस् भनेर पार्टीले भन्दैन । नेकपाले यति अविवेकी कुरा गर्दैन । मलाई त यो पार्टीको थाहा छ नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment