Comments Add Comment

प्रदेशसभाका विपक्षी नेता पोखरेलको निधन

६ माघ, बुटवल । प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।

१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए ।

२०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्य सम्म भए ।

पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । र पछिल्लो समय शरीरभर फैलिएको थियो । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो ।

२०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आएका पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् ।

यो पनि पढ्नुहोस क्यान्सरसँग लड्दै जेष्ठ माननीय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment