Comments Add Comment

‘आमा’ हेर्न ह्विलचियरमा ८३ बर्षिया आमा हलमा…(भिडियो सहित)

दर्शकले भने–‘आमा मास्टरपिस’ फिल्म’

चलचित्रले जब छुन्छ, अनायासै मानिसको आँखाबाट आँशु छल्कन्छ । त्यो आँशु कहिले हाँसोमा छल्किन्छ त कहिले रोदनमा । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ हेरेर हलबाट निस्कदै गर्दा अधिकांश दर्शकका आँखामा आँशु छल्किए । चलचित्रले छोएको भन्दै धेरै दर्शकले चलचित्रको प्रशंसा गरे ।

काठमाण्डौको जय नेपाल हलमा चलचित्र हेर्न ८३ बर्षिया आमा पनि आफ्ना छोराछोरीसहित हल पुगेकी थिइन् । ‘आमालाई घरमा बस्दा बस्दा दिक्क लाग्यो होला भनेर हलमा ल्याएका हौं’, ह्विलचियरमा आमालाई डोर्याउँदै गरेका छोराले भने ।

अनलाइनखबरको क्यामेरा शुक्रबार काठमाण्डौको जय नेपाल हलमा पुग्दा अधिकांश दर्शक चलचित्र हेरेर भावूक हुँदै फर्किएका थिए ।

चलचित्र हेर्न ‘आमा–छोरी, ‘आमा–छोरा’ हलमा देखिएका छन् । चलचित्रका वितरक करण क्रेजीले भने–‘प्राय चलचित्र हेर्न हलमा पुग्ने दर्शक भन्दा नयाँ दर्शक हलमा देखिनुभएको छ । परिवारसहित आउने दर्शकको बाक्लो उपस्थिती छ ।’

एक जना यूवा दर्शकले निर्देशक दीपेन्द्र के खनालसँगको भेटमा भने–‘मैले आमा नाममा चलचित्र बन्दै गरेको सुन्दा निर्देशकले गल्ती त गर्दैनन् भन्ने सोचेको थिएँ । तर, आज चलचित्र हेर्दा यती उत्कृष्ट लाग्यो कि के भन्ने । यो त ‘मास्टरपिस’ हो ।’

‘चलचित्रले छोरी पनि छोरा भन्दा कम छैनन् भन्ने कथा देखाएको छ, यो त हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो’, चलचित्र हेरेका अधिकांश दर्शकको प्रतिक्रिया यस्तो छ ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आएपछि निर्देशक दीपेन्द्र के खनाल दंग देखिए । उनले मिडिया प्रतिक्रियामा भने–‘मैले जे कुरा सोचेर चलचित्र बनाएको थिएँ, दर्शकलाई ती कुराले कनेक्ट गरेको भएँ । कतिपय मैले भावमा भन्न खोजेका कुरालाई पनि दर्शकले राम्रोसँग वुझ्नुभएको छ ।’

नायिका सुरक्षा पन्तले दर्शक रुवाएकोमा दुःख लागेपनि मनदेखि नै दर्शक रोएको देख्दा खुशी पनि लागेको सुनाइन् । निर्मात्री, शर्मिला पाण्डेले ‘आमा’ जस्तो चलचित्र अब आफूले बनाउन नसक्ने बताइन् । यो चलचित्रको वर्ड अफ माउथ पावरफूल छ । यसैले, पनि चलचित्र लामो समयसम्म चल्ने अपेक्षा निर्देशक खनालको छ ।

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment