+
+
Shares

ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १०:२९

३० कात्तिक, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्।

अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो।

ईयूको साइबर सुरक्षा एजेन्सी एनिसाका कार्यकारी निर्देशक जुहान लेपासारले भने, ‘सुरक्षालाई पछि मात्र सोचिने विषय बनाउनु हुँदैन र सकिँदैन,’ उनले थपे, ‘आज फ्रिज ह्याक भयो, भोलि राउटर हुन सक्छ, पर्सि घरेलु उपकरणहरू हुन सक्छन् र यो क्रम यस्तै चल्न सक्छ।’

लेपासारले ब्रसेल्समा एएफपीसँग कुरा गर्दै एथेन्सस्थित एजेन्सीको ईयूको साइबर सुरक्षा अवस्थासम्बन्धी पछिल्लो द्विवार्षिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।

‘सबै घटनाहरूलाई रोक्न सकिन्छ, तर प्रश्न यो हो कि के हामी यसका लागि लगानी गर्न तयार छौँ ? साइबर सुरक्षा सस्तो छैन,’ उनले भने। उनले निर्माताहरूलाई आफ्ना उत्पादनहरू निर्माणकै क्रममा सुरक्षित बनाउन आह्वान गरे।

लेपासारले साइबर सुरक्षा अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै भने, ‘एक नागरिक र मानिसको रूपमा तपाईं निर्भर हुने हरेक सेवामा डिजिटल तत्त्व जोडिएको हुन्छ। त्यहाँ कोडको एउटा अंश हुन्छ, जसलाई सुरक्षित गरिएन भने ह्याक गर्न सकिन्छ।’

सबैभन्दा खराब अवस्थाको चित्रण गर्दै उनले भने, ‘यसको अर्थ तपाईं निर्भर रहेका सेवाहरू बन्द हुनु हो: प्रहरी आउनु, दमकल आउनु, अस्पताल सञ्चालन हुनु, वा यातायातले तपाईंलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउनु।’

उनले भने, ‘यी त्यस्ता कुरा हुन् जसमा हामी चौबीसै घण्टा, सातै दिन राम्ररी चल्छन् भनेर निर्भर हुन्छौँ। यदि यी चलेनन् भने, यसको प्रत्यक्ष र तत्काल असर हामीमाथि पर्नेछ।’

अक्टोबर ११ र १२ मा सयौँ फ्रान्सेली सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए। ह्याकरहरूले फ्रिज र फ्रिजरको तापक्रम बढाइदिएका थिए, जसले गर्दा धेरैले बिग्रिएका खानेकुराहरूको सम्पूर्ण स्टक फ्याँक्नुपरेको थियो।

सोमबार फ्रान्सले सुपरमार्केटमा भएको यस साइबर आक्रमणका लागि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सलाई जिम्मेवार ठहराएको थियो।

लेपासारले फ्रान्सको आरोपमाथि सिधै कुनै टिप्पणी गरेनन्, तर इरानी र रुसी राज्य-समर्थित तत्त्वहरूले युरोपलाई निसाना बनाउने गरेको कुरा जानकारी मै रहेको बताए। उनले उनीहरूबीच धेरै सहकार्य रहेकोतर्फ पनि औँल्याए।

‘चीन, इरान, उत्तर कोरियालगायत धेरै राज्य-समर्थित खतरा पैदा गर्ने तत्त्वहरू छन्, जसले युरोपेली कम्पनीहरू र युरोपेली हितहरूलाई निसाना बनाउँछन्,’ लेपासारले भने।

उनले आगामी वर्षदेखि पूर्ण रूपमा लागू हुने ईयूका साइबर नियमहरू र एनिसाको आकार तथा स्रोतसाधन दोब्बर बनाउने ब्लकको योजनाको स्वागत गरे। यो कहिल्यै पर्याप्त नहुने बताउँदै उनले भने, ‘तर यो एउटा राम्रो पहिलो कदम हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?