Comments Add Comment

चलिरहेको दोकान बन्द गरेर नयाँ दोकान सुरु गरेको छु : प्रकाश सपुत

गायक प्रकाश सपुत संगीतिक क्षेत्रमा सफल नाम हो । लोक तथा दोहोरी गीतको क्षेत्रमा उनले आफ्नो बलियो स्थान बनाएका छन् । ‘दोहोरी व्याटल, बोल माया, गलबन्दी’ जस्ता सफल गीत दिएका प्रकाश अब ठुलो पर्दाको ‘हिरो’ बन्दैछन् ।

हिरो बन्ने प्रकाशको पुरानो सपना हो । सानो उमेरदेखि नै हिरो बन्ने ठुलो सपना देखेका थिए, प्रकाशले । जुन अब पुरा हुदैँछ । आफ्नो अधुरो सपना पुरा हुन लागेकोमा प्रकाश निकै खुसी छन् । उत्तिकै उत्साहित पनि ।

प्रकाशले नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘परदेशी २’बाट आफ्नो चलचित्र यात्रा सुरु गर्दैछन् । चलचित्र क्षेत्र आफ्नो लागि नयाँ भएकाले प्रकाशको मनमा कता-कता डरले पनि स्थान जमाइरेहको छ । प्रकाश भन्छन्, ‘सपना पुरा भएको कुराले खुसी र उत्साहित त छदैँछु, त्योसँगै डर पनि लागिरहेको छ । तर, म्युजिक भिडियोहरुमा पनि अभिनय गरिरहेकोले गर्न सक्छु भन्ने विश्वास पनि छ ।’

ब्याटलपछि प्रकाश निकै चर्चामा रहे । त्यहीँ समयबाट उनलाई चलचित्रको अफर आउन सुरु भएको थियो । आएका अफरहरु केही संगीतकै लागि थिए भने केही अभिनयका लागि थिए । प्रकाश भन्छन्, ‘कतिजानले त तिमी लेख, निर्देशन गर । पैसा हामी हाल्छौँ पनि भन्नु भएको थियो । तर, मैले हत्तारो गरिन ।’

‘परदेशी २’को टिम राम्रो भएका कारण यस चलचित्रमा काम गर्न तयार भएको प्रकाशले बताए । प्रकाश भन्छन्, ‘नारायण सरको त म अनुयायी नै हुँ । त्यसैले पनि उहाँसँग कुरा मिल्यो । त्यस्तै, लेखक रमेश विजी सरसँगको मेरो संगत लामो छ । उहाँले सुरु देखि नै तिमी नै देखिएका छौँ भन्नुहुन्थ्यो । त्यसले पनि उर्जा मिल्यो ।’ चलचित्रको बिषयबस्तु आफूलाई सुहाउने पाएकाले पनि प्रकाश चलचित्रमा काम गर्न लागेको बताउँछन् ।

संगीतिक क्षेत्रमा व्यस्त बनिरहेकै समयमा प्रकाशले अर्को खुड्किलो चालेका छन् । व्यावसायिक हिसाबमा सोच्ने हो भने पनि प्रकाश आफूले चुनौती नै लिएको बताउँछन् । ‘यो त चलिरहेको दोकान बन्द गरेर नयाँ दोकान खोलेजस्तै हो’, प्रकाश थप्छन्, ‘तर, व्यावसाय मात्रै ठुलो कुरा होइन रहेछ । मलाई मेरो सपनाले जित्यो । मेरो सपना मैले सन्तुष्टिको साथ पुरा गर्दैछु ।’

दर्शकको अपेक्षा पुरा गर्नुपर्ने अर्को ठुलो चुनौती पनि प्रकाशलाई छ । प्रकाश भन्छन्, ‘मैले गीतमा पनि फरक बिषयबस्तु पस्किने भएकाले दर्शकले मबाट केही नयाँपनको आश गर्नुभएको छ । दर्शकको अपेक्षा पुरा गर्न पनि हामी निकै मेहनत गरिरहेका छौँ ।’

प्रकाशले आफ्नो आगमी चलचित्र यात्राको बिषयमा धेरै सोचेका छैनन् । तर पनि यसै क्षेत्रमा रहेर काम गर्ने रहर उनीमा छदैँछ । उनले भने, ‘पहिलो चलचित्र मलाई चलचित्र क्षेत्र बुझ्ने अवसर हो । मेरो रहर भनेको चलचित्र क्षेत्रमा नै रहेर काम गर्नेमा छ । बिस्तारै कथा लेख्ने, निर्देशन गर्ने, निर्माण गर्ने रहर छ । हेर्दै जाउँ रहर कतिसम्म पुरा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment