Comments Add Comment

बालबच्चालाई आउटडोर गेममा कसरी प्रोत्साहित गर्ने ?

केही बर्ष अगाडिसम्म पनि बालबालिकाको रमाउने कुरा भनेकै बाहिरी खेलहरु हुन्थे ।

उनीहरु आफ्नो उमेरसंगैका साथीभाईसंग विभिन्न खेलहरु खेल्दथे । जसले उनीहरुलाई रमाइलो त हुन्थ्यो नै, त्यस्ता खेलहरुले उनीहरुको दिमाग पनि बढाउँथ्यो ।

उनीहरु घण्टौं व्यस्त हुन्थे, जसले उनीहरुको शारीरिक, मानसिक तथा सामाजिक विकास हुन्थ्यो । उनीहरुले आफ्ना साथीहरुसंग मिलेर खेल्दा आपसी व्यवहारमा विकास हुन्थ्यो तर आजभोलि बालबालिकाको खेल केवल मोबाइल, आईप्याड, कम्प्यूटर र ल्यापटपमा सिमित भएको छ ।

उनीहरुलाई त्यस्ता खेल खेल्दा एउटा कुनामा घण्टौ घोप्टिएर निरन्तर त्यसमा हेरिरहन्छन् । उनीहरुलाई त्यस्ता खेलका लागि कुनै साथीभाईको आवश्यकता पर्दैन ।

त्यस्ता खेलमा व्यस्त भएपछि उनीहरु घरमा के भयो, को आयो, को गयो जस्ता कुनै पनि कुरासंग मतलब राख्दैनन् । त्यसैले आजका बालबालिकाहरु असामाजिक हुँदै गएका छन् ।

उनीहरुलाई कोसंग कसरी कुरा गर्नु पर्छ, कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुराको ज्ञान हुँदैन । घरमा कोहि आयो भने उनी कसरी बोल्ने भन्ने बारेमा सोच्न थाल्छन् । उनीहरुको दिमागमा केवल गेम मात्र रहेको हुन्छ । उनीहरुले यदि कुनै साथीसंग कुराकानी गरिहाले पनि केवल गेमको बारेमा मात्रै कुरा गर्छन् ।

यसरी हिजोआजका बालबालिकाहरु विभिन्न किसिमका ग्याजेटहरुमा व्यस्त हुने भएकाले विभिन्न किसिमका रोगहरुको पनि शिकार हुन्छन् ।

त्यसैले बालबालिकाहरुलाई बाहिरी खेलहरुका लागि प्रेरित गर्नु पर्छ । उनीहरुको शारीरिक, मानसिक र सामाजिक विकासका लागि विभिन्न किसिम खेलहरु खेल्न अत्यन्त आवश्यक छ ।

त्यसैले आफ्ना बालबालिकाहरुलाई बाहिरी खेलका लागि प्रोत्साहित गर्न हरेक अभिभावकको जिम्मवारी पनि हो । बाहिरी खेलहरु जस्तै भेट्टाई, डण्डी बियो, लुकामारी आदि ।

ती खेलहरु मध्ये लुकामारी अर्थात हाइड एन्ड सीक खेलले बालबालिकालाई रमाइलो मात्र हुने होइन, यो खेलले बालबालिकाको दिमाग पनि बढाउने काम गर्छ ।

लुकामारी अर्थात हाइड एण्ड सिक खेल हामीमध्ये धेरैले बाल्यवस्थामा खेलेको हुनु पर्छ । यो खेल खेल्दा रमाइलो लागेको क्षण तपाईंलाई आज पनि सम्झना होला ।

यो खेल संसार भरी किन यति धेरै प्रख्यात छ भने यसले बालबालिकाहरुलाई रमाइलो प्रदान गर्नुको साथसाथै धेरै कुराहरु पनि सिकाउँछ ।

बालबालिकालाई धेरै मन पर्ने यो खेल कहिलेकाहि तपाईं पनि आफ्ना बालबालिकासंग खेल्न सक्नु हुन्छ ।

एउटा अध्ययनका अनुसार यदि कुनै पनि एउटा कुरा यदि बालबालिकाको आँखाबाट गायब भएपछि पुनः भेटियो भने उनीहरु आश्चर्यसंगै खुशी हुन थाल्छन् ।  त्यस्तो कुरामा हामीलाई आश्चर्य अथवा खुशी नभए पनि त्यस्ता कुराहरुले बालबालिकाहरुलाई खुशी र हाँसो लाग्छ, जसले तपाईंको अनुहारमा पनि मुस्कान ल्याउन सक्छ ।

स्विस डेभलपमेन्ट साइकोलोजिस्ट जीन पिआजेले यस प्रकारको उद्देश्यलाई वस्तुहरुको स्थायित्वको नाम दिएका छन र जसलाई बुझ्न बालबालिकाहरु आफ्नो जिन्दगीको दुई वर्ष खर्चिन्छन् । जसै हामी ठुलो हुन्छौं, यदि कुनै आवाज आइरहेको छ भने त्यो कहाँबाट आएको छ भन्ने कुरा हामीलाई थाहा हुन्छ ।

बाल्यावस्थामा हामी यही कुरा यो खेलबाट सिक्छौं । त्यति मात्र नभएर लुकामारी खेलले बालबालिकाको इन्द्रियलाई पनि उत्तेजित गर्छ । उनीहरुको भिजुअल ट्रयाकिङ पनि बलियो हुन्छ । त्यस्तै साथीभाईसंग मिलेर खेल्ने खेल भएकोले सामाजिक विकासमा पनि बढावा प्राप्त हुन्छ । यी कुराहरु बाहेक बालबालिकाहरुको सेन्स अफ ह्यूमर पनि राम्रो हुन्छ ।

यसरी बालबालिकाको चौतर्फी विकास हुने खेलहरुमा अभिभावकहरुले पनि सहभागिता जनाएर उनीहरुलाई बाहिरी खेलप्रति आकषिर्त गर्न सकियो भने उनीहरुको ठुलो समस्या अर्थात ग्याजेटहरुसंग व्यस्त रहने समस्याहरुबाट मुक्ति दिलाउन सकिन्छ ।

त्यसैले तपाईंले आफ्नो जीवनको बहुमूल्य समय आफ्ना बालबालिकाहरुका लागि छुट्याउँदा बालबालिकामा हरेक किसिमको विकास हुन्छ नै, साथै तपाईंमा पनि सकारात्मक सोचको विकास हुन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment