Comments Add Comment
मेरो कथा :

‘म हराएको होइन, मेरालागि समय नै गलत थियो’

तीन वर्षपछिको कमब्याक सार्थक बनाउनेछु

९ फागुन, काठमाडौं । क्रिकेट, क्रिकेट अनि क्रिकेट । अहिलेसम्म मेरो जीवन नै यही हो । आजको दिनमा म जे छु, जहाँ छु, यही क्रिकेटले गर्दा नै छु जस्तो लाग्छ ।

सन् २००७ मा यू–१५ देखि नेपालको लागि खेल्न थालेको मैले विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म खेलेँ । जीवनमा उतारचढाव आए पनि क्रिकेटलाई मैले कहिल्यै छाडिनँ । झण्डै तीन वर्षपछि फेरि राष्ट्रिय टिममा कमब्याक गरेको छु । यो बीचमा कति पीडा भएको थियो, त्यो मलाई मात्र थाहा छ । त्यसैले कसरी राम्रो प्रदर्शन गर्न सकिन्छ भनेर पूर्ण रुपमा तयार भएर आएको छु ।

तीन वर्ष म राष्ट्रिय टिममा पर्न सकिनँ । यसको अर्थ हरायो भन्ने चाहिँ होइन । भुवन कार्कीले क्रिकेट छाड्न सक्दैन । त्यो त जीवनको अन्तिम दिन नै छोडिन्छ किनकी क्रिकेट मेरो रगतमै छ जस्तो लाग्छ । तर समय सधैँ एकनासको नहुँदो रहेछ । राम्रो गर्दागर्दै पनि टिममा शक्ति दाइ, बसन्त दाइहरु भएको र टिमको कम्बिनेसनले गर्दा भित्र–बाहिर भइरहेँ । मेरो पालो आएका बेला चाहिँ पारिवारिक समस्याले खेल्न पाइनँ ।

प्रदीप ऐरी, नरेश बुढाऐर हामी बच्चैदेखि सँगै खेलेका हौं । हाम्रो ब्याचको अहिले म मात्र छु । अन्डर १९ मा हाम्रो कप्तान पृथु बास्कोटा थियो । यो ब्याचको धेरैजसो क्रिकेटमा छैनन् । नेपाली क्रिकेटमा एउटा ब्याच नै गायब भयो ।

पछिल्लोपटक मैले सन् २०१७ मा एसीसी इमर्जिङ टिम्स कप खेलेको थिएँ । त्यसपछि छोरा जन्मियो । चोटले पनि केही समय बाहिर भएँ । एक वर्ष अभ्यास त गरेँ तर खासै क्रिकेट खेलिनँ ।

तर म हार त मान्नेवाला थिइनँ । एक न एक दिन अवसर पक्कै पाउँछु र अनि फाइट गर्छु भन्ने थियो । अहिले अवसर पाएको छु । एसीसी इस्टर्न रिजन टी–२० को लागि टिममा कमब्याक गरेको छु । यो मेरा लागि गोल्डेन चान्स हो । अब यसमा मेलै आफूलाई प्रमाणित गर्नु छ । पाएको अवसर खेर जान दिन्न । यो ३ वर्ष मैले कसरी बिताएको छु भन्ने देखाउनु छ ।

०००

आफ्नो क्रिकेट करिअरलाई फर्केर हेर्दा २०१४ मा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ को फाइनल कहिल्यै भुल्न सक्दिन । मेरो लागि त्यो सरप्राइज्ड फाइनल थियो । हामीले युगाण्डालाई हराएर प्रतियोगिताको उपाधि जित्यौं ।

मलेसियामा भएको त्यो प्रतियोगिताको फाइनल खेल्दिन होला जस्तो लागेको थियो । त्यही सोचेर ग्राउण्ड गएको थिएँ । तर फाइनल खेल्ने टिममा मेरो नाम आउँदा छक्क परेँ । खासमा सुवास (खकुरेल) दाइ घाइते हुनुहुन्थ्यो । उहाँको रिकभर भएन र मैले मौका पाएँ । पुवुदु सरले पनि कन्फिडेन्स दिनुभयो ।

रिजल्ट राम्रो आयो । हामीले युगाण्डालाई ३ विकेटले हरायौं । मैले ४ विकेट लिएँ, एउटा रनआउट पनि गरेँ । प्रतियोगिताको पहिलो खेलमै हामी युगान्डासँग पराजित भएका थियौं । फाइनलमा युगान्डालाई नै हराएर उपाधि जित्यौं । हामी सबै एकदमै खुशी भएको थियौं । हाम्रा लागि त्यो किन पनि महत्वपूर्ण थियो भने त्यसैबाट नेपाल डिभिजन २ का लागि छनोट भएको थियो ।

०००

म जन्मेको ठाउँ धनगढीमा भारतको बोर्डर नजिकै पर्छ । हाम्रो परिवार मध्यमवर्गीय हो । बुबाहरु कृषक हुनुहुन्थ्यो । म घरको जेठो छोरा भएकाले सबै कुरा हेर्नुपर्थ्यो । म खेत जोत्ने, आली खन्ने सबै काम गर्थेँ । त्यसपछि खेल्न पाउँथे ।

 

ड्युज बल ल्यायो, काठको फल्याक काटेर ब्याट बनायो अनि साथीभाइ जम्मा पारेर क्रिकेट खेल्ने रहर पूरा गर्‍यो । क्रिकेट खेल्ने अनौठो भोक थियो म मा । रोडको ढुंगा फाल्दै लठ्ठीले हान्ने पनि गर्थेँ । त्यसैले कतिपयले पागल भन्थे ।

स्कुल पढ्दा पनि म ४ वटा मात्र क्लास लिन्थे । १० कक्षासम्म अरु क्लास कहिल्यै पढिनँ । किनकी हाफ टाइम भएपछि प्राक्टिसमा जान्थेँ । सरहरुले पनि सहयोग गर्नुहुन्थ्यो । तिमीसँग क्रिकेट खेल्ने क्षमता छ, खेल्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो ।

कान्छो अंकल नेपाल आर्मीमा हुनुहुन्थ्यो । अहिले त अवकाश पाइसक्नु भयो । उहाँले पनि मलाई निकै सहयोग गर्नुभयो । खेती–किसानी गरेर पनि खेलाडी बन्न सकेँ, त्यसमा खुशी लाग्छ । म कहाँ थिएँ र अहिले कहाँ पुगे भन्ने लाग्छ ।

प्रदीप ऐरी, नरेश बुढाऐरलगायत हामी बच्चैदेखि सँगै खेलेका हौं । हाम्रो ब्याचको अहिले म मात्र छु । अन्डर १९ मा हाम्रो कप्तान पृथु बास्कोटा थियो । यो ब्याचको धेरैजसो क्रिकेटमा छैनन् । नेपाली क्रिकेटमा एउटा ब्याच नै गायब भयो । तर नयाँ–नयाँ खेलाडीहरु आएका छन्, प्रतिस्पर्धा कडा हुन थालेको छ ।

०००

मेरो क्रिकेट करियर भने २००७ बाट शुरु भएको हो । जिल्ला, क्षेत्र हुँदै म यू–१५ राष्ट्रिय टिमको लागि छनोट भएँ । कप्तान पृथु थिए । क्षेत्रीय टिमबाट काठमाडौंविरुद्ध अर्धशतक प्रहार गरेपछि म यू–१५ टिममा परेको थिएँ ।

त्यसबेला म अलराउण्डर नै थिएँ । २००७ मा नेपालमै भएको एसीसी यू–१५ मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । ओमानविरुद्ध खेलेको त्यो खेल अझै यादगार छ । ओमानविरुद्ध मैले अन्तिम ओभर मेडन राखेर नेपाललाई जिताएको थिएँ ।

८२ रन बनाएको ब्याट्सम्यान क्रिजमा थिए र र जितका लागि जम्मा २ रन चाहिएको थियो । त्यो बेला मैले मेडन फालेर नेपाललाई १ रनले जिताएको थिएँ । त्यहीँ खेलबाट मेरो क्रिकेट करियरले गति लियो । सबैले चिन्न थाले । साँच्चै भन्नुपर्दा ‘टर्निङ प्वाइन्ट’ नै बन्यो त्यो खेल ।

त्यसपछि यू–१७ खेलेँ, यू–१९ खेलेँ । २०११ मा यु–१९ इलिट कप खेलेँ । त्यही वर्ष यू–१९ विश्वकप क्वालिफायर खेले । २०१२ मा अष्ट्रेलियामा भएको यू–१९ विश्वकप पनि खेलेँ । त्यसको प्लेट च्याम्पियनसिपमा मैले नामिबियाविरुद्ध ५ विकेट लिएको थिएँ । म्यान अफ दि म्याच भएँ । विश्वकप र त्यहाँको प्रदर्शन मेरो लागि राष्ट्रिय टिमको ढोका खोल्ने माध्यम बन्यो ।

टिममा पनि प्रतिस्पर्धा बढेको छ । टिममा रहिरहन सहज छैन । एकदुई म्याच नराम्रो हुनेबित्तिकै चुनौती हुन्छ । जुनसुकै हालतमा राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । कुन खेलाडीले टिमलाई जिताउन कति सहयोग गर्छ भन्ने पनि हेरिन्छ ।

म राष्ट्रिय टिममा पनि परेँ र, २०१२ मा सिनियर टिममा डेब्यु गरेँ । तर मेरो डेब्यु सम्झनलायक भएन । मैले विकेट लिन सकिनँ । एसीसी ट्रफीमा मैले कुवेतविरुद्ध डेब्यु गरेको हो । उक्त खेलमा पारस दाइले शतक हान्दा पनि हामी हारेका थियौं । म चाहिँ आफ्नो डेब्युभन्दा पनि पारस दाइको शतकमा रमाइरहेको थिएँ । नेपाली ब्याट्सम्यानले शतक हान्ने भनेको धेरै ठूलो कुरा थियो ।

त्यसपछि पनि २०१३ र २०१४ मा यू–१९ टिमको कप्तानी गरेँ । आफ्नो कप्तानीमा यू–१९ विश्वकप खेल्न नपाए पनि एसिया कप र एलिट कपमा टिमको नेतृत्व गरे । २०१४ मा पुनः सिनियर टिममा परेँ र डिभिजन ३ खेलेँ । त्यसमा पनि राम्रो प्रदर्शन भयो । फाइनलको चर्चा त माथि नै गरिहालेँ ।

२०१५ मा नामिबियामै भएको डिभिजन २ का लागि टिममा परेँ । तर धेरै खेलमा बेञ्चमा रहे । तेस्रो स्थानको प्लेअफमा केन्याविरुद्ध एक खेल मात्र खेल्न पाएँ । लिस्ट एमा मेरो डेब्यु खेल थियो त्यो । राष्ट्रिय टिममा २०१७ सम्म खेले ।

त्यसपछि लामै ग्याप भएको हो ।

०००

२०१४ मा नेपाल प्रिमियर लिगबाट मैले घरेलु प्रतियोगिता खेल्दे आएको छु, उपाधि पनि जितेको छु । घरेलु प्रतियोगितामा अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय स्तरमा खेल्दा सदुपयोग गर्ने हो । त्यसैले घरेलु प्रतियोगिता खेल्दा पनि मिहेनत गर्छु ।

धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग सबै फ्रेन्चाइज लिग खेलेको छ । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफमा जागिर खाएरै खेलेँ ।

अब क्षेत्रीय टिमबाट नै खेल्छु । गत वर्ष अत्तरियाबाट डीपीएल खेलेँ, हाम्रो टिमले नै उपाधि पनि जित्यो । यो प्रतियोगिता मेरा लागि क्रिकेटमा फर्कने सही अवसर बन्यो । आफ्नै होम ग्राउण्ड, बच्चैदेखि खेलिरहेको ठाउँमा भएको खेल गुमाउनु हुन्न भनेर म एक महिना अगाडिदेखि नै त्यहाँ गएर अभ्यास गरिरहेको थिएँ । मानसिक रुपमा पनि म तयार भएर खेल्छु र प्रदर्शन गर्छु भन्ने थियो ।

अक्सनमा अत्तिरियाले मलाई २ लाख बढीमा लियो । कतिपयले भुवनलाई अत्तरियाले बढी हाल्यो पनि भनेछन् । त्यो कुरा मेरो कान पनि पर्‍यो । मैले इख लिएँ, आफ्नो मूल्य प्रमाणित गर्छु भन्ने सोचेँ । र, त्यसमा सफल पनि भएँ, हामीले उपाधि जित्यौं ।

यसै वर्ष पोखरामा पीपीएल खेलेँ । पारस (खड्का) दाइले मुख्य बलरकै रुपमा अवसर दिनुभयो । तैँले गर्न सक्छस् भन्नुहुन्थ्यो । धनगढीमा टर्निङ विकेट थियो, तर पोखराको विकेट स्पीनरका लागि थिएन । तैपनि मैले राम्रो गरेँ । पारस दाइ, सन्नी पटेलहरुले कुन अवस्थामा कसरी बल फाल्ने भनेर कन्डिसनलाई रिड गर्न सिकाउनुभयो । त्यसले ममा कन्फिडेन्स आयो र राम्रो गर्न सकेँ ।

०००

दशकभन्दा बढी भएको छ देशको लागि खेल्न थालेको । मैदानमा राष्ट्रिय झण्डा देख्दा मात्र पनि शरीरमा काँडा उम्रन्छ । देशको लागि खेल्न पाउनु शौभाग्य लाग्छ । धेरै कमै मान्छेले मात्र यो अवसर पाउँछन् । त्यसमध्ये म पनि एक हुँ ।

मैले डेब्यु गर्दा क्रिकेट खेलेर बाँच्न सकिन्छ भन्ने थिएन । अहिले खेलेरै पनि जीवन चलाउन सकिन्छ भन्ने भएको छ । २०१२ देखि विस्तारै खुड्किलो चढिरहेका छौं ।

टिममा पनि प्रतिस्पर्धा बढेको छ । टिममा रहिरहन सहज छैन । एकदुई म्याच नराम्रो हुनेबित्तिकै चुनौती हुन्छ । जुनसुकै हालतमा राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । कुन खेलाडीले टिमलाई जिताउन कति सहयोग गर्छ भन्ने पनि हेरिन्छ ।

जे होस्, अहिले मैले अवसर पाएको छु । फेब्रुअरी २९ देखि थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिता हुँदैछ । र, म यो टुरका लागि मानसिक र शारीरिक दुवै हिसाबमा तयार छु । अब प्रदर्शन कस्तो हुन्छ हेर्न बाँकी छ ।

नेपालको अबको लक्ष्य भनेको टेष्ट खेल्ने हो । र, मेरो पनि बालापनकै सपना हो टेष्ट । हेर्दैजाऊँ, नेपालको टेष्ट सपना पुरा गर्न म कति योगदान गर्न सक्छु ….।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ७२ औं अंकमा यो हप्ता क्रिकेट खेलाडी  भुवन कार्कीको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment