Comments Add Comment

आहा ! बदलिएछ त पशुपति

९ फागुन, काठमाडौं । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ उखानमा ‘सिद्रा’ शब्दले केवल गुन्द्रुकजन्य चिजलाई मात्रै नजनाउने हो भने सोही उखानमा भनिएजस्तै सिद्राको व्यापारले घेरिएको छ, पशुपतिको शिवरात्रिको जात्रा । कैलाशको डाँडोमा पुगेर सिंगै पशुपतिको दृश्यहरु हेर्दा हजारौं भक्तजनहरुको पंक्तिवद्धताले साँचै सुन्दर देखिन्छ पशुपति ।

सधैंभरि प्रेमजोडीले भरिने कैलाश डाँडा सेना र प्रहरीका जवानहरुको सुरक्षाका कारण शान्त छ । भाङ र गाँजाको धुवाँसँगै ब्रह्मानन्द सहोदर बन्नेहरुको स्वतन्त्रता खोज्ने स्थल शुक्रबार सुनसानजस्तै थियो । तर, त्यसको प्रभाव देखिन्थ्यो, मृगस्थलीतर्फको बाटोमा ।

सधैंभरि पुराना भवनहरुका कारण झट्ट हेर्दा पनि उराठलाग्दो देखिने पशुपतिको मन्दिर बाहिरको क्षेत्र अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया लगायत विभिन्न जात र रङका फूलहरुले झकिझकाउ देखिन्थे । हरेक द्वारहरु फूलैफूलले ढाकिएका थिए ।

मन्दिरका गजुरमा माला जसरी फूलै फूलले ढाकिएको छ । दक्षिणतर्फ रहेको भद्रगोल अवस्थालाई भुलाउनका लागि ती फूल र भक्तजनको सेवा नै काफी देखिन्थे पशुपतिमा ।

यो पनि पढ्नुहोस फूलैफूलले सजिएको पशुपतिनाथ

घाट पारिको व्यस्त ‘बजार’

आर्यघाटमा महाशिवरात्रिकै दिन पनि घाटहरु खाली छैनन् । घाटमा बलिरहेको शवलाई हेरेर एक हुल मानिसहरु वागमतीमाथिको पुलमा बसेर टोलाउँछन् । अनुहार एकाएक धेरैको मलीन हुन्छ ।

अल्लारे केटाहरु भने ती सबै दृश्यहरुलाई भुलेर अट्टहास हाँसोमा रमाउँछन् । बाबाहरुको धन्दा चलिरहेकै छ । त्यही भीडको बीचमा कोही सेल्फी खिच्ने जमर्काे गर्छन् । फोटो खिच्न खोज्दाखोज्दै भीडले सबैलाई एकाएक पल्लोछेउमा पुर्‍याइदिन्छ । खल्तीमा मोबाइल राखेर फेरि लाग्छन् त्यही अनवरत यात्रातिर ।

मृगस्थलीतर्फ उक्लिने बाटोमा पाइला राखिनसक्नुको भीड छ । त्यसैको बीचमा चल्छ गाँजाको व्यापार ।

धेरैबेर मोलमोलाई गरेर बस्न सक्ने अवस्था छैन । भनेको जति तिरेर बोकेर हिँड्यो, माथि जंगलमा पुगेपछि ‘ब्रह्मानन्द सहोदर’ ।

साधुहरुको ध्यान भागवत् भक्तिभन्दा गाँजाको व्यापारमा धेरै देखिन्छ । उनीहरुलाई नै साथ दिँदैछन् किशोरावस्थाका आगन्तुकहरुले ।

वास्तवमा दर्शनका लागि आउनेहरुका लागि मुख्य गन्तव्य भनेको पशुपतिको घाटभन्दा वारिपट्टि हो । तर, चहल–पहल र भीडभाड भने वागमतीको पारिपट्टि धेरै देखिन्छ । पुलको ठीक पारिपट्टि दुई दर्जनजति प्रहरीहरु उभिएका छन् । त्यहाँ बसेर राम्रोसँग फोटो खिच्नसमेत दिने अवस्था छैन ।

मानिसको भीड बढिरहेको छ । कोही त्यहीँबाट छड्के हानेर पशुपति मन्दिरपट्टी आउने कोसिस गर्छन् । प्रहरीले रोक्छ, प्रवेश पास माग्छ । नहुनेजतिलाई फेरि पुरानै बाटोमा फर्काइदिन्छ । प्रहरीले त्यसको नियन्त्रणका लागि पुलको दुई किनारतिर बाँस तेर्स्याएर भीड नियन्त्रण गर्ने प्रयासमा छ । माथि गाँजा र भाङका लागि पशुपति गएकाहरुको छुट्टै व्यापार छ ।

फूलकै नन्दी, फूलकै शिवलिंग

यो वर्ष अघिल्लो वर्षको भन्दा फरक देखिएका केही मूर्तिहरुसँग फोटो खिचाउनेहरुलाई व्यवस्थापन गर्न भ्याइनभ्याई देखिन्छन् स्काउटका स्वयंसेवकहरु । एकातिर फूलै फूलले बनेको नन्दी त अर्काेतिर फूलै फूलको शिवलिंग नै यो वर्षको मुख्य आकर्षणको केन्द्र देखिन्छ । यसबाहेक विभिन्न ठाउँमा फूलबाटै बनाइएका कलात्मक शैलीहरुले पशुपतिमा जानेहरुलाई लोभ्याउने गरेको पाइन्छ ।

सुरक्षामा मुख्य चासो

पूर्वतयारीका बारेमा जानकारी दिने समयमा पशुपति क्षेत्र विकास कोषले यो वर्ष भक्तजनहरुको सुरक्षालाई आफूहरुले मुख्य प्राथमिकतामा राखेको बताएको थियो । हरेक वर्ष फाल्गुन कृष्ण चर्तुदशीका दिन नेपाल, भारतलगायत विश्वभरका हिन्दूहरुले मनाउने महाशिवरात्रि पर्व पशुपति मन्दिरमा लाग्ने ठूला मेलाहरु मध्येको एक हो ।

चन्द्रमासको चौधौ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रात(कृष्णपक्षको चतुर्दशी) हरेक वर्ष कूल १२ वटा पर्ने गर्छ । ती १४ वटै शिवरात्रि शिवको स्तुतिको हिसाबले महत्वपूर्ण मानिने भएपनि फाल्गुन कृष्णपक्षको यो चतुर्दशी भने अरुको तुलनामा भिन्दै छ ।

करिब २ सय भारतीयहरुको पौरखले बेहुली जस्तै सिंगारिएको पशुपति क्षेत्रमा सुरक्षाको लागि विभिन्न सुरक्षा निकायका झण्डै ६ हजार सुरक्षाकर्मी र ५ हजारजति स्वयंसेवकहरु परिचालन गरिएको छ । यो वर्ष धेरै पैसा तिरेर सिधै दर्शन गर्न सकिने व्यवस्था बन्द भएकोले विशेष पूजाको रसिदलिने कक्ष सुनसान छ ।

पैसा तिर्नेहरुका कारण धेरै लाइनमा बस्नुपर्ने बाध्यता छैन यो वर्ष । भित्र छिर्दा मात्रै होइन बाहिर निस्कँदा पनि उत्तिकै व्यवस्थित रुपमा निस्कन्छन् पंक्तिबद्ध रुपमा पसेका भक्तजनहरु । यस्तै छ महाशिवरात्रिको दिनको पशुपति ।

व्यवस्थापन सुध्रिएपछि बढेको दर्शनार्थीहरुको खुशी

पशुपतिको दर्शनको लागि लाइनमा बसेकी बसुन्धराकी शुभेक्षा खनालले यो वर्ष पशुपतिनाथको व्यवस्थापन र सुन्दरतालाई भिन्दै देखिन् । ‘आहा ! फेरिएछ पशुपति त, यही पशुपतिमा १२ घण्टासम्म पनि भोकै ब्रत बसेकी छु ।’ उनले भनिन् ‘आज चार घण्टामा नै मन्दिर दर्शन गर्न पाउने अवस्था छ । पशुपति मन्दिर क्षेत्र प्रवेश गर्ने पश्चिमीद्वार नजिकै पुगेकी उनले यो वर्ष पशुपति क्षेत्र विकास कोष व्यवस्थापनले गरेको तयारीको प्रशंसा गरिन् ।

बिहान ९ बजे पशुपति क्षेत्रमा प्रवेश गरेकी सीता पन्तले दिउँसो १ बजे पशुपति मन्दिर दर्शन गरिसकेकी थिइन् । ‘यो वर्ष पशुपति दर्शन अघिल्ला वर्षहरुभन्दा धेरै परिवर्तन पाएँ । लाईन पनि व्यवस्थित लाग्यो’ उनले सुनाइन् ‘अझै धेरै सुधार गर्नुपर्ने कुराहरु छन् । तर, समग्रमा यो वर्षको सुन्दरता र व्यवस्थापनले मलाई लोभ्यायो ।’

साँच्चिकै यो वर्ष अघिल्लो वर्षको तुलनामा धेरै बदलिएको छ, पशुपति मन्दिर । पहिले पुरानो वानेश्वर र चावहिलदेखि आउने सवारी रोकेर अस्तव्यस्त पारिने ट्राफिक व्यवस्थापन यो वर्ष सकारात्मक देखिएको छ ।

बाटोमा पसल र माग्नबस्नेहरुको समस्या सुधारिएको छैन । धेरै मानिसको भीड हुनेभन्दा पछाडि विशेषगरी मन्दिरको दक्षिणपट्टी भद्रगोल रुपमा राखिएका सामग्रीहरुले भित्रको सुन्दरतालाई फिक्का गराउने कोसिस गरिरहेको छ ।

अपराह्नतिर सडकपेटीमै व्यापार गर्नेहरुको कारण बाहेक पंक्तिबद्ध भएका भक्तजनहरुका कारण सडकमा कुनैपनि सवारी आवागमनमा झमेला ब्यहोर्नु परेको छैन । नागा बाबाहरु अघिल्लो वर्षकोभन्दा कम देखिन्छन् । उनीहरु मूल मन्दिरको सम्मुखमा बाहेक बाहिर अरुलाई समस्या हुने गरी बसेका छैनन् ।

यी समग्र पक्षलाई केलाउँदा पशुपति क्षेत्र साँच्चिकै बदलिएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment