+
+
Shares

पशुपतिमा तीजका व्रतालु : बाहिर ४ र भित्र ८ लाइन, डेढ घण्टाभित्र दर्शन

पहिलोपटक व्रतालुमाथि पानीका मसिना फोहोरा बर्सिने व्यवस्था

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते ७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहान ३ बजेदेखि चार ढोका खुला गरी पूजा गर्ने व्यवस्था मिलाइएको छ ।
  • पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई एकदेखि डेढ घण्टाभित्र दर्शन गराउन बाहिर चार वटा र भित्र आठ वटा लाइनको व्यवस्था मिलाएको छ।
  • सशस्त्र प्रहरी बलले सुरक्षाका लागि ७ सय जनशक्ति परिचालन गरेको छ ।

१० भदौ, काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।

दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् ।

व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था समेत मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको  र आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइन र भित्र छिरिसकेपछि आठवटा लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तेस्रो लाम पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गराइएको छ भने दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

सुरक्षालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथ दर्शनमा नआउन पशुपति क्षेत्र विकास कोषले भक्तजनमा अनुरोध गरेको छ ।

चौथो लाम तिलगंगा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था गरिएको छ । आर्यघाट नजिकको पुलसँगैको अस्थायी कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दर्शन गरी फर्कंदा मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीबाट चन्दन वितरणको व्यवस्था मिलाइएको छ ।

पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्रांगणबाहेक) अवलोकन भ्रमण गर्न दिइएको छ ।

पशुपतिमा सशस्त्र प्रहरीका ७०० जनशक्ति परिचालन

सुरक्षालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथ दर्शनमा नआउन पशुपति क्षेत्र विकास कोषले भक्तजनमा अनुरोध गरेको छ ।

यसैबीच दर्शनार्थीको सुरक्षाका लागि सशस्त्र प्रहरीका ७ सय जनशक्ति परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको हो । जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटाइएको छ ।

दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा टोली खटिएको छ ।

पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालित छन् ।

स्वयंसेवकहरुलाई पशुपतिको बाहिरी भागमा मात्र खटाइएको छ ।

तीजको पहिलो दिन सोमबार दर खाएकाहरुले आज मंगलबार निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि तीज पर्व समापन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?