+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ : सामाजिक यथार्थको चित्रण

यो तत्कालीन समाजमा छोरीलाई प्रेम र स्नेहबाट समेत वञ्चित गरिएको कठोर यथार्थ हो ।

नवराज भुसाल नवराज भुसाल
२०८२ भदौ ७ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विष्णु माझीको 'म त नराउरी' गीतले नारीका वेदना, संघर्ष र समाजका यथार्थहरू सशक्त रूपमा प्रस्तुत गरेको छ।
  • गीतले तत्कालीन समाजमा छोरीलाई बोझ र छोरालाई कुलको दीप मानिने पितृसत्तात्मक संरचना चित्रण गरेको छ।
  • यो गीतले नारी चेतना जगाउने र लैंगिक समानताको बाटोमा समाजलाई प्रेरित गर्ने महत्त्वपूर्ण काम गरेको छ।

विष्णु माझी, नेपाली लोकगीत क्षेत्रको एउटा यस्तो नाम हो, जसको गीत सुन्न हरेक नेपालीले तीजमा व्यग्रतापूर्वक प्रतीक्षा गर्छन्। तीजमा उनको गीत नआए, पर्व नै खल्लो लाग्छ भन्ने धेरै छन्।

उनका गीतहरूमा नारीका वेदना, संघर्ष र समाजका यथार्थहरू सशक्त रूपमा प्रस्तुत गरिन्छन् । यस वर्ष पनि उनको गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ, जसले छोटो समयमै लाखौँ भ्युज पाएर चर्चामा छ ।

यो गीतले नारीका भोगाइहरूलाई गहिराइबाट स्पर्श गरेको छ र यसले प्रस्तुत गर्ने सामाजिक चित्र निकै मार्मिक छ।

तत्कालीन समाज र सामाजिक मूल्य-मान्यताको चित्रण:

‘म त नारी’ गीतले एउटा यस्तो समयको प्रतिनिधित्व गर्छ, जब समाजमा छोरीलाई बोझ र छोरालाई कुलको दीप मानिन्थ्यो । गीतको सुरुवाती हरफ नारी आमै, नारी ले नै छोरीको अस्तित्वलाई दोस्रो दर्जाको रूपमा चित्रण गर्छ । तत्कालीन समयमा परिवारका निर्णयहरूमा छोराछोरीको इच्छाको कुनै महत्त्व हुँदैनथ्यो ।

मेरी आमै लाउदिनँ कि पार,

तिम्रो भारा क्यारी तिरम्ला ?

यस अंशले तत्कालीन समयमा छोरीलाई अर्काको घर जानुपर्ने र आफूलाई भारको रूपमा महसुस गर्ने सामाजिक मानसिकतालाई व्यंग्य गरेको छ ।  छोरीले आफूलाई अभिभावकको ‘भारा’ (बोझ) मानेर जीवनभर त्यसको ऋण तिर्ने दायित्वबोध गर्छिन्, जुन समाजले उनीमाथि थोपर्दिएको थियो।

तिम्रा छोरा राम्रा आमै, नाराउरी आमै नराउरी

 यो हरफले छोराप्रतिको मोह र छोरीप्रतिको उपेक्षालाई प्रस्ट पार्छ । समाजमा छोरालाई घरको जिम्मेवारी लिने र कुललाई अगाडि बढाउने रूपमा हेरिन्थ्यो। छोरीलाई भने पराइ घर जाने वस्तु मानिन्थ्यो । यसरी गीतले तत्कालीन समाजको पितृसत्तात्मक संरचना र लैंगिक असमानता लाई सशक्त रूपमा चित्रण गरेको छ।

नारीमाथि हुने दमन विभेदका घटनाहरू:

​गीतमा विभिन्न घटनाक्रमहरू उल्लेख गरिएका छन्, जसले नारीले बाल्यकालदेखि नै भोग्नुपर्ने विभेद र दमनलाई उदाङ्गो पार्छ।

‘दाइ भाइले पिपलगेडी खाको,

मैले छाम्दा गोजी रित्तै भाको’

यो हरफले बाल्यकालमै हुने लैंगिक विभेदलाई स्पष्टसँग देखाउँछ । दाइ र भाइले पिपलगेडी खाँदा छोरीले भने त्यति सामान्य कुरा पनि पाइनन् । यसले छोराहरूलाई सबै कुरामा प्राथमिकता दिने र छोरीहरूलाई उपेक्षा गर्ने तत्कालीन संस्कारलाई उजागर गर्छ। यसले बच्चाको मस्तिष्कमा पर्ने नकारात्मक प्रभाव र ‘म त नारी, त्यसैले म कम छु’ भन्ने हीनताबोध को बीजारोपण कसरी हुन्छ भन्ने कुरालाई देखाउँछ ।

‘ठामै छैन तिम्रो काख आउन

पाइनँ मैले कोठे फरक लाउन’

यस अंशले छोरीले आमाको काखसम्म पनि राम्रोसँग पाउन नसकेको गुनासो बोकेको छ । छोरालाई राम्रो स्कुलमा पढाएको र छोरीलाई  सामान्य स्कुलमा पढ्न पठाएर विभेद गरेको कुरालाई देखाउन खोजिएको छ ।

यो तत्कालीन समाजमा छोरीलाई प्रेम र स्नेहबाट समेत वञ्चित गरिएको कठोर यथार्थ हो । यसले पारिवारिक स्नेहमा पनि असमानता रहेको कुरालाई प्रस्ट पार्छ ।

​’अशुभ हुन्छ जुठा भाँडा राख्न,

हुन्न भन्थेउ तैंले तिउन चाख्न’

यो हरफले नारीलाई घरभित्रै सीमित राख्ने र घरेलु कामदारको रूपमा हेर्ने मानसिकतालाई प्रस्तुत गर्छ । छोरीको शारीरिक वा मानसिक अवस्था जस्तोसुकै भए पनि उसले जुठा भाँडा माझ्नैपर्ने, अन्यथा अशुभ हुने भन्नेजस्ता अन्धविश्वासले उनलाई थप बोझिलो बनाउँथ्यो । अर्कोतर्फ, आफैंले पकाएको तरकारी समेत चाख्न नपाउने कुराले नारीलाई अधिकार र सम्मानबाट वञ्चित गरिएको सामाजिक अवस्थालाई देखाउँछ ।

‘आर्काको घर धान्नै पर्छ तैंले,

चुलो पोत्न जान्नै पर्छ तैंले’

यो अंशले छोरीलाई विवाहपश्चात्कोजीवन का लागि मात्र तयार गरिने कुप्रथालाई व्यंग्य गर्छ ।  छोरीलाई घरगृहस्थी सम्हाल्न, चुलो पोत्न र परिवार धान्नका लागि मात्रै योग्य बनाइन्थ्यो, जसले उनीहरूको व्यक्तिगत विकास र स्वतन्त्रतामाथि रोक लगाउँथ्यो। छोरीको पहिचान ‘अर्काको घर धान्ने’ मा मात्र सीमित थियो ।

नारीको वेदना अस्तित्वको संघर्ष:

​गीतको मुख्य सार नै नारीको वेदना र समाजमा आफ्नो अस्तित्व स्थापित गर्नका लागि गर्नुपरेको संघर्ष हो।

​’लच्छीन हुन्छ भन्छन् छोरी हातमा,

कुचो नलाऊ सह जान्छ रातमा’

 यो हरफले छोरीलाई एकातर्फ ‘लक्ष्मी’ को रूप मान्ने तर अर्कोतर्फ रातिमा  कुचो लगाउदा सह जान्छ भनेर गाली गर्ने जस्ता दोहोरो मापदण्ड लाई प्रस्ट पार्छ। समाजले छोरीलाई पवित्र मान्ने र शुभकार्यका लागि प्रयोग गर्ने तर व्यवहारमा भने विभेद र उपेक्षा गर्ने विरोधाभासपूर्ण चरित्रलाई यसले उजागर गरेको छ।

‘भन्थेउ आमै अहिले कहाँ पाउलिस्’

पोइका घर गएपछि लाउलिस्’

यो अंशले छोरीको बाल्यकाल देखिका इच्छा र सपनाहरूलाई पछिको लागि टार्ने र उनको जीवनलाई पूर्ण रूपमा पतिको घरमा निर्भर गराउने तत्कालीन सामाजिक संरचनालाई देखाउँछ। छोरीको कुनै पनि इच्छा पूर्ति गर्ने दायित्व माइतीले नलिने र सबै कुरा पतिको घरमा निर्भर गराउने सोचले नारीको स्वतन्त्रतामाथि ठूलो प्रहार गर्थ्यो ।

वर्तमान सन्दर्भमा गीतको महत्त्व

​विष्णु माझीको नराउरी‘ गीतले तत्कालीन समाजको चित्रण गरे पनि यसले वर्तमान समयमा पनि धेरै हदसम्म सान्दर्भिकता राख्छ। अहिले समाजमा धेरै परिवर्तन आएको छ, तर कतिपय ग्रामीण र पिछडिएका क्षेत्रमा अझै पनि नारीले यस्ता विभेदको सामना गरिरहेका छन्।

​यो गीतले तीजलाई केवल नाचगान र मनोरञ्जनको पर्व मात्र नभई नारीले आफ्ना पीडा र भोगाइहरूलाई सार्वजनिक गर्ने माध्यमका रूपमा पनि स्थापित गरेको छ ।

विष्णु माझीको यो गीतले नारी चेतनालाई जगाउने र समाजलाई लैंगिक समानताको बाटोमा हिँड्नका लागि प्रेरित गर्ने महत्त्वपूर्ण काम गरेको छ। यसले नेपाली समाजको एउटा महत्वपूर्ण पक्षलाई उजागर गर्दै नारीको आवाजलाई सशक्त रूपमा बुलन्द गरेको छ।

यो गीतले हरेक छोरी, दिदीबहिनी र आमाको आवाजलाई प्रतिनिधित्व गरेको छ। यो केवल एउटा तीज गीत मात्र नभएर, वर्षौंदेखि दमित नारी पीडाको एक सशक्त दस्तावेज हो। समाजमा समानता र न्यायका लागि यो गीत एउटा सन्देश र प्रेरणा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?