
News Summary
Generated by OK AI. Editorially reviewed.- गाजाको अस्पतालमा सोमबार इजरायली सेनाको आक्रमणमा परी पाँच पत्रकारसहित २० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा र अन्य तीन पत्रकार आक्रमणमा मारिएका छन् भने रोयटर्सका हातेम खालिद घाइते भएर उपचाररत छन्।
- गाजामा २३ महिनामा कम्तीमा २७८ पत्रकार मारिएका छन् र एमनेस्टी इन्टरनेसनलले इजरायलको नरसंहारको निन्दा गरेको छ।
९ भदौ, काठमाडौं । दक्षिणी गाजाको एक अस्पतालमा इजरायली सेनाले गरेको आक्रमणमा परी मृत्यु हुने पत्रकारको संख्या ५ पुगेको छ ।
घटनामा उद्धारकर्मीसहित १५ जना सर्वसाधारण समेत मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार भएको आक्रमणमा अस्पतालको चौथो तलामा रहेकाहरू मारिएका हुन् ।
सुरुमा पहिलो मिसाइल (क्षेप्यास्त्र) बर्सियो । लगत्तै इजरायली सेनाले दोस्रो पटक मिसाइल प्रहार गर्यो ।
पहिलो मिसाइल विस्फोटमा मारिएकाको शव लिन र घाइते भएकाहरूलाई उद्धार गर्न गएकाहरू दोस्रो विस्फोटमा पर्दा मृतकको संख्या २० पुगेको हो ।
सोमबारको विस्फोटमा मृत्यु हुनेमा अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, रोयटर्सका फोटो पत्रकार हुसेम अल–मस्री, द इन्डिपेन्डेन्ट अरबी र एपीमा काम गर्दै आएकी पत्रकार मरियम अबु दग्गा, तथा पत्रकार मोज अबु ताहा रहेका अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
कुद्स फिड नेटवर्कलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा गर्दै आएका पत्रकार अहमद अबु अजीजको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ ।
घटनामा रोयटर्सका अर्का फोटो पत्रकार हातेम खालिद घाइते भएर उपचाररत छन् । खालिदले लामो समयदेखि गाजा युद्धको फोटो संकलन गर्दै आइरहेका छन् ।
‘पत्रकार सहकर्मीहरू नासेर अस्पतालमा समाचार संकलनका लागि गएका बेला इजरायली फौजले बम प्रहार गर्दा सहिद भएका हुन् । यो एक ठूलो अपराध हो,’ गाजाको सरकारी सञ्चारमाध्यमले भनेको छ ।
‘यस अपराधका लागि इजरायली फौज, अमेरिकी प्रशासन र बेलायत, जर्मनी तथा फ्रान्सजस्ता नरसंहारमा सहभागी मुलुकहरू पूर्ण रूपमा जिम्मेवार छन्,’ विज्ञप्तिमा छ ।
रोयटर्सका अनुसार पत्रकार हुसेम अल–मस्रीले अस्पतालबाट गरिएको प्रत्यक्ष प्रसारण एक्कासी रोकिएको थियो ।
पहिलो मिसाइल प्रहार हुनुअघिसम्म मस्री रोयटर्समा प्रत्यक्ष प्रसारण गराइरहेका थिए । तर, उनी सोमबार रिपोर्टिङकै क्रममा इजरायली फौजको निसानामा परेर सधैंका अस्ताएका छन् ।
घटनापछि कतारबाट सञ्चालित अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाजामा हाम्रा सहिद पत्रकारहरूको रगत सुक्न नपाउँदै फेरि इजरायली सेनाले मोहम्मद सलामा र तीन अन्य फोटो पत्रकारलाई निसाना बनाएको छ ।’
आफ्ना पत्रकारमाथि निरन्तर आक्रमण भइरहँदा पनि पछिल्लो २३ महिनादेखि गाजामा इजरायली नरसंहारको प्रत्यक्ष प्रसारणलाई निरन्तरता दिइराखको अल जजिराले भनेको छ ।
अल जजिराले इजरायली सेनाको आक्रमणलाई ‘सत्य दबाउन गरिएको प्रयास’ भन्दै कडा निन्दा गरेको छ ।
अल जजिराकी पत्रकार हिन्द खोदारीले ‘हामीले कति पटक सहकर्मी पत्रकार हत्याको समाचार सम्प्रेषण गर्नुपर्ने हो ?’ भन्दै प्रश्न गरेकी छन् ।
युद्धविराम भएपछि बिहे गर्ने सपना
अल जजिरामा कार्यरत फोटो पत्रकार मोहम्मद सलामा युद्धविरामपछि सहकर्मी पत्रकार हाला अस्फोरसँग बिहे गर्ने योजनामा थिए ।
सोमबार मारिएकी एपीमा कार्यरत पत्रकार अबू दग्गाको १२ वर्षीय छोरा छन् । गाजामा युद्ध चर्किएपछि दग्गाले त्यहाँबाट छोरालाई अन्यत्रै पठाएकी थिइन् । एपीका सम्पादक एबी सुवेलले मृतक दग्गालाई ‘वीर पत्रकार’ भन्दै श्रद्धाञ्जली दिएका छन् ।
२ हप्ताअघि मात्रै पनि अल जजिराका चर्चित पत्रकार अनस अल–शरीफ र उनका चार सहकर्मीहरू गाजाकै अल–शिफा अस्पताल अगाडि इजरायली सेनाको आक्रमणमा मारिएका थिए ।
पत्रकारहरू हकहितमा लड्दै अएको अन्तर्राष्ट्रिय पत्रकार संस्था सीपीजेको एक रिपोर्टअनुसार सन् २०२३ को अक्टोबर ७ यता हालसम्म गाजामा कम्तीमा २७३ प्यालेस्टाइनी मूलका पत्रकारको मृत्यु भएको छ । समग्रमा गाजामा मारिने पत्रकारको संख्या २७८ जना भन्दा धेरै छ ।

इजरायली सेनाले संक्षिप्त विज्ञप्ति जारी गर्दै ‘नासेर अस्पताल क्षेत्रमै प्रहार भएको’ बताउँदै यकिन स्थान खुलाउन अनकनाएको देखिन्छ । साथै उसले पत्रकारलाई लक्षित नगरिएको/नगर्ने दाबी गरेको छ ।
गाजामा पत्रकारमाथि लगातार निसाना
सोमबारको आक्रमणमा ५ जना पत्रकार समेत पर्नुमा गाजामा विद्युत र इन्टरनेटको सहज उपलब्धता नभएर अस्पतालमा गएको देखिन्छ । पत्रकारहरू अस्पतालबाटै रिपोर्टिङ गरिरहेका बेला इजरायलले बम बर्साएको हो ।
दोहा इन्स्टिच्युटका सञ्चार अध्ययनका प्राध्यापक मोहम्मद एलमस्रीले पछिल्लो २३ महिनामा गाजामा इजरायलले मनलाग्दी गरेको तर, बदलामा केही भोग्नु नपरेको टिप्पणी गरेका छन् ।
एमनेस्टी इन्टरनेसनलले गाजामा जस्तो कुनै पनि युद्धमा यति ठूलो संख्यामा पत्रकारको मृत्यु नभएको भन्दै घटनाको निन्दा गरेको छ । इजरायलले प्यालेस्टाइनीविरुद्ध नरसंहार मच्याएको एमनेस्टी इन्टरनेसनलको ठहर छ ।
युद्ध सुरु भएदेखि गाजाभरका अस्पतालहरूमा इजरायली सेनाले पटक–पटक आक्रमण र छापा मार्दै आएको छ ।
अस्पतालभित्र हमासका लडाकुहरू कार्यरत भएको दाबी गर्दै बम बर्साइरहेको छ ।
गाजामा २३ महिनाको अवधिमा इजरायली आक्रमणमा परेर झन्डै ६२ हजार प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।
जसमा आधाभन्दा धेरै महिला र बालबालिका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र पूर्वरक्षा मन्त्री योआभ गालान्टविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरिसकेको छ ।
तर, पश्चिमा र अमेरिकी समर्थनका कारण नेतन्याहूविरुद्ध कुनै कदम चालिएको देखिँदैन । गाजामा सक्रिय हमास समूहले युद्धविराम प्रस्ताव स्वीकार गर्दा समेत इजरायलले आक्रमण नरोकेको भन्दै आलोचना भइरहेको छ ।
इजिप्ट र कतारको मध्यस्ततामा हमासले ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको थियो । तर, इजरायलले भने गाजामा पूर्ण नियन्त्रण कायम गर्ने भन्दै पछिल्ला दिनमा आक्रमण तीव्र पारेको छ । गाजामा युद्धका कारण मानिस चरम भोकमरीको सिकार भइरहेका छन् ।
प्रतिक्रिया 4